Logo

गण्डकी प्रदेश

पोखरा महानगर सभापतिमा पौडेल पक्षका विजुक्छे विजयी



पोखरा । पोखरा महानगरपालिकामा नेपाली कांग्रेसको सभापतिमा सुरेन्द्र बिजुक्छे निर्वाचित भएका छन् । शनिबार सम्पन्न अधिवेशनको नतिजा आईतबार सार्वजनिक भएको हो । कुल १३ सय ७० मतदाता भएको महागरको निर्वाचनमा १३४४ मत खसेको थियो ।

बिजुक्छेले निकटतम् प्रतिष्पर्धी १२ औं महाधिवेशनमा कास्की कांग्रेस सचिवमा पराजित गंगाधर पराजुली भन्दा ६८ मत बढी ल्याए । बिजुक्छेले ४१४ र पराजुलीले ३४६ मत पाए । सभापतिका लागि ६ जनाबीच प्रतिस्पर्धा भएको थियो । बिजुक्छे यसअघिकै कार्यसमितिमा उपसभापति थिए ।

सभापति निर्वाचित बिजुक्छेलाई कांग्रेसमा रामचन्द्र पौडेल पक्षधर नेताको समर्थन थियो । पहिला देउवानिकट भनेर चिनिएका पराजुली यसपालि कुनै पनि समूहको आधाकारिक उम्मेदवार होइनन् ।

५६९ मत ल्याएर प्रयागराज भण्डारी र ४६४ मतसहित भवसागर उपसभापति निर्वाचित भए । टुवराज बास्तोला र गणेशबहादुर थापा सचिव चुनिएका छन् । बास्तोलाले ८४९ र थापाले ८०३ मत ल्याएका थिए ।

प्रकाशित : १० आश्विन २०७८, आइतबार