Logo

टिप्पणी

गणतन्त्रमा राजतन्त्रको खेती



कमल थापा टेनिस र फूटबलका कुशल राष्ट्रिय खेलाडी हुन् । अरुबेला मात्र होइन, मन्त्री भएकै बखत भारतमा भएको अन्तर्राष्ट्रिय टेनिस खेलमा उत्कृष्ट भएर उनले खेल क्षेत्रमा आफ्नो थप परिचय दिएका थिए । एउटा सफल खेलाडी जीवनमा अनुशासित हुन्छ । उचित समयमा उचित निर्णय लिन्छ । आहारविहारमा उत्तिक्कै सचेत हुन्छ । नेपाली सेनाका कर्नेल छत्रबहादुर थापाका पुत्र, सेनाकै जर्नेल नेत्रबहादुर थापाका भाइ र राष्ट्रिय फूटबल खेलाडी गणेश थापाका सहोदर दाजुका नाताले पनि उनी खाँटी परिवारका अब्बल सदस्य हुन भन्नेमा दुईमत रहेन । के खाउँ, के लाउँको अवस्था यिनको जीवनले देख्नु परेन । यो अर्थमा पनि उनी भाग्यमानी राजनीतिज्ञ हुन् ।
 
खेलको नियममा कमल थापा जति अब्बल छन, राजनीति खेलको नियममा यिनी जतिको झेली र काइते शायदै अरु छन् । नाभीदेखि नै राजावादी भएर जन्मिएका यिनका भाग्यमा नाफाको राजनीति मात्र लेखियो । गाई, हिन्दु र राजाको त्रिकोणीय नारालाई राजनीतिको जमिन बनाए पनि जता काफल पाक्यो, काजी उतै नाच्यो नै उनको पहिलो र अन्तिम परिचय बन्यो । पञ्चायत रहुन्जेल राजा, राजसंस्थाको ठेक्का लिएको प्रभाव देखाए । राजा खुशी पार्न बहुदलबादी नेताहरुसंग चरम दुश्मनी मोले । उताउला क्रियाकलाप देखाए । जब बहुदल नासियो, विस्तारै रंग बद्ले । हुँदाहुँदा गणतन्त्रात्मक शासनप्रणालीको डुंगाको नाविक भएर यी पात्र देखिए ।  
 
नेपाली उखानले खोलो फर्किन १२ वर्ष लाग्छ भने पनि प्रतिकूल राजनीतिक परिस्थितिमै पनि कमल थापा फुलेर देखिए । उनलाई फुल्न आधा दशक पनि लागेन । पहिलो र दोस्रो जनआन्दोलनपछि विरोध गरिएका तात्कालीन राजा ज्ञानेन्द्रको मन्त्रिपरिषद्का गृहमन्त्री थापा र उनको पार्टी बहुदल र गणतन्त्र दुवै कालमा सुपरग्लु भएर प्रकट भए । कांग्रेस मात्र होइन, धुरन्धर कम्युनिष्ट पार्टीका नेताहरुको नेतृत्वमा महत्वपूर्ण मन्त्रालयमा आसन जमाए । गणतन्त्रमा राजतन्त्र बिर्सने, राजतन्त्रमा बहुदल नसम्झने यिनको आफ्नै शैली छ । राम्रो राजनीतिक संस्कार बोकेका पञ्च समेत यिनलाई रुचाउँदैनन । चित पोट जता परेपनि दावी पेश गर्ने अवसरवादी चरित्र उनका लागि बेहद फापेपनि राप्रपाको लागि सगुन बन्न सकेको छैन । यी पात्र कहिले गणतन्त्रमा राजतन्त्र रोप्छन त कहिले गाईको पुच्छरलाई चुनावमा वैतरणी तर्ने माध्यम बनाउँछन् । कहिले हिन्दु धर्म उचाल्छन् त कहिले आफ्नै सिद्धान्तलाई गणतन्त्रसंग साट्छन । त्यसो त उनी वर्तमान प्रधानमन्त्री केपी ओलीका विश्वासपात्र हुन् । 

अघिल्लोपल्ट प्रधानमन्त्री हुँदा थापा ओलीले सर्वाधिक रुचाइएका मन्त्री हुन । अहिले पनि राजनीतिक परामर्शमा लागि ओलीको अब्बल रोजाइमा उनी पर्छन् । कमल थापाभित्र अवगुणभित्र केही गुण छन, जो अरु राजनीतिकर्मीसंग छ । उनी अध्ययनशील छन् । बजारमा आएका कुनै पनि पुस्तक रातारात पढेर भ्याउँछन् । राजनीति, कुटनीति, इतिहासका बारेमा अपडेट हुन्छन् । अन्तर्राष्ट्रिय मञ्चहरुमा उनले दिने प्रस्तुति अन्य नेताहरुमा कमै पाइने अनुभवीहरु बताउँछन् । बहुदल र गणतन्त्रमा उनी हावी हुनुको अर्को कारण यो पनि हो ।

पञ्चहरु राजनीतिको धार छिटै परिवर्तन गर्ने सफलता पाएकैले हुनसक्छ, दक्षिणपन्थी धारका सारथी कमल थापाको राजनीतिक उत्साह चुलीमा चढेको देखिन्छ । घर खरानी भएपछि पनि उनी त्यही खरानीको व्यापार गर्न खप्पीस मानिन्छन । बहुदलका नेता विफल हुनुको जगमा कमल थापाको सफलता उभिएको छ । जनआन्दोलनको सफलतापछि आशा गरे अनुरुप शान्ति, लोकतन्त्र र जीवनयापनमा सहजता नपाउँदा जनमत निराश र आक्रोशित बन्नु अस्वाभाविक पनि होइन । अनि, त्यो असन्तुष्ट र आक्रोशित जनमतको केही अंश राजतन्त्रविहीन वर्तमान व्यवस्थाका एक मात्र प्रतिपक्ष कमल र उनको पार्टीतर्फ नजिकिनु त्यतिकै स्वाभाविक हो ।

नेपालमा मूलधारका राजनीतिक दलहरू प्रति असन्तुष्टि बढ्दा पुरानो व्यवस्थाका राजनीतिकर्मीहरूको उदय भएको यो पहिलो पटक होइन । २०४६ सालको परिवर्तनको नेतृत्वकर्ता दलहरूले जनआकांक्षा पूरा गर्न नसक्दा यिनै कमल थापा र उनका अग्रज पञ्चहरूले विस्तारै शक्ति बढाउँदै राजनीतिको केन्द्रमै पुग्ने सफलता पाएका थिए । प्रमुख दलहरू नेपाली कांग्रेस र नेकपा एमालेबीचको द्वन्द्व र २०५१ को मध्यावधि निर्वाचनबाट बनेको त्रिशंकु संसद्को फाइदा उठाउँदै तात्कालीन राप्रपाका लोकेन्द्रबहादुर चन्द र सूर्यबहादुर थापा पालैपालो प्रधानमन्त्री बने । र, त्यो बेला कमल थापाले पनि दुवैको प्रधानमन्त्रीत्वमा मन्त्री बन्ने सौभाग्य जुराए ।

छिमेकी भारतमा सन् ८० को दशकदेखि हिन्दू धर्ममा आधारित राजनीतिक नाराबाट भारतीय जनता पार्टीले सफलता पाउँदै गर्दा दिल्लीको राजनीतिबाट प्रभावित हुने भनिने गरेको नेपालमा भने राजनीतिलाई धर्ममा मिसाउने काम कसैले गरेनन तर, मुलुक धर्मनिरपेक्ष गणतन्त्र बनेपछि अहिले कमल थापा र उनको दल तीन दशकदेखि भारतमा समस्या बनिरहेको धर्मसँग राजनीतिलाई जोड्ने प्रवृत्तिलाई उनीहरुले प्रमुखमार्ग बनाएका छन् । हिन्दुत्व र राजतन्त्र पुनस्र्थापनाका लागि राप्रपा नेपालले यस्ता प्रदर्शन बढाउँदै लगेको छ ।

८१ प्रतिशत हिन्दू जनसंख्या भएको मुलुकमा हिन्दुत्वको नारा सबैखाले परिवर्तनकारीलाई ध्वस्त पार्ने अस्त्र हुने र त्यसैले आफ्नो राजनीतिक डुंगा पार लगाउने विश्वासमा थापाको यात्रा गतिशील देखिन्छ । मुलुक धर्मनिरपेक्ष बनेपछि अनपेक्षित रूपमा बढेको इसाई प्रभावबाट झ्स्किएको हिन्दू धर्मावलम्बीको समर्थन पाइने विश्वास थापाका लागि बल भएको देखिन्छ । थापाहरूले आफ्नो राजनीति सपार्न राप्रपा नेपालको व्यानरमा गरिरहेको यो प्रयासले नेपालमा धार्मिक दंगाको संस्कृति भित्रिने खतरातर्फ भने कसैको ध्यान गएको छैन ।

भारतमै पनि कट्टर हिन्दूवादी नारा बिक्न छाडेको छ । धार्मिक आवरणका धेरै अतिवादी नेताहरू साम्प्रदायिक हिंसाजन्य र अन्य अपराधहरूका कारण जेल परेका छन् । भारतको केन्द्रीय राजनीतिमा वर्चस्व जमाइरहेको भारतीय जनता पार्टीले नै पनि शिवसेना र राष्ट्रिय स्वयंसेवक संघ जस्ता हिन्दूवादी संगठनहरूसँग दूरी देखाउनु परिरहेको छ । 

१९ जेठ २०५८ को दरबार हत्याकाण्ड र १९ माघ २०६१ को तात्कालीन राजा ज्ञानेन्द्रको शाही कू जस्ता घटनाले राजसंस्था पहिलेभन्दा अलोकप्रिय बने पनि कुनै न कुनै रूपमा राजसंस्था रहनुपर्छ भन्ने स–सानो जनमत नेपालमा छँदैछ । त्यो जनमतले गोर्खा राज्यको नेतृत्वमा भएको एकीकरण अभियानले नेपाल निर्माण गरेको र राष्ट्रिय एकताका लागि अहिले पनि त्यो संस्था अनिवार्य रहेको विश्वास राख्छ । मूलधारका राजनीतिक दलहरू सत्ता र स्वार्थका लागि बाझबाझ् गरिरहँदा मुलुकमा राष्ट्रिय एकताका लागि सोच्ने र काम गर्ने संस्थाको अभाव भएको महसूस गर्नेहरू थपिएका छन । 

गणतन्त्रलाई स्वीकारे पनि नेपाल एकीकरणमा राजतन्त्रले पुर्याएको योगदान स्वीकार्ने जनमत पनि ठूलो छ । यो समूहले अहिलेको लोकतन्त्रले नै मुलुकको गरिमा र अस्तित्व बचाउन सक्छ भन्ने विश्वास राख्छ । लोकतान्त्रिक दलहरूले कार्यकुशलता देखाउने हो भने यस्तो जनमतको दायरा फैलनेमा शंका छैन । त्यो अवस्थामा हिन्दू राजतन्त्र पुनस्र्थापनाको सपना सपनामै सीमित हुनेछ ।

प्रकाशित मिति : २८ फाल्गुन २०७७, शुक्रबार १९:५१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।