Logo

प्रमुख समाचार

लुम्बिनीमा मन्त्रीहरुको नाम टुंगियो, आजै सपथको तयारी



लुम्बिनी प्रदेशमा नेपाली कांग्रेसले आफ्नो पार्टीबाट मन्त्री बन्नेहरुको नाम टुंग्याएको छ । कांग्रेसभित्रको आन्तरिक कुरा मिलेसँगैै आइतबार दिउँसो मन्त्रिपरिषद विस्तार हुन लागेको हो । दिउँसो ३ बजे सपथ ग्रहण कार्यकम राखिएको बुझिएको छ ।

नेपाली काँग्रेसले मन्त्रीको नाम टुंग्याउन नसक्दा मन्त्रिमण्डल विस्तारमा ढिलाई भएको थियो । नेपाली काँग्रेसले वन, वातावरण तथा भूसंरक्षणमा सुरेन्द्र हमाल, शिक्षा विज्ञान युवा तथा खेलकुदमा वसिउद्दिन खाँ र ऊर्जा, जलस्रोत तथा सिँचाइमा वीरबहादुर रानालाई मन्त्री बनाउने निर्णय गरेको छ ।

राज्यमन्त्रीमा कपिलवस्तुकी रिना नेपाल विक र अर्जुनकुमार श्रेष्ठलाई पठाउने निर्णय भएको छ । यसअघि साउन २८ गते काँग्रेसबाट दाङका डिल्लीबहादुर चौधरी पर्यटन, ग्रामीण तथा शहरी विकास मन्त्री भइसकेका छन् ।

माओवादी केन्द्रबाट दाङका इन्द्रजित थारु र बर्दियाका तिलकराम शर्मा मन्त्री बन्ने भएका छन् भने सोही पार्टीबाट दाङकी विमला खत्री वली राज्यमन्त्री बन्ने भएकी छन् । यसअघि माओवादीबाट प्युठानका कृष्णध्वज खड्का आर्थिक मामिला तथा सहकारी मन्त्री बनिसकेका छन् । माओवादीले योपटक आन्तरिक मामिला तथा सञ्चार, कानुन, महिला बालबालिका तथा जेष्ठ नागरिक र स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्रालय पाएको छ ।

प्रकाशित : २४ आश्विन २०७८, आइतबार