Logo

गण्डकी प्रदेश

गण्डकीमा नयाँ मन्त्री थपिए, डोबाटेलाई विनाविभागीय



पोखरा । गण्डकी प्रदेशमा मन्त्रिपरिषद् १२ सदस्यीय भएको छ । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मन्त्रिपरिषद् थप विस्तार गर्दै सांसद डोबाटे विश्वकर्मालाई मन्त्री नियुक्त गरेपछि मन्त्रिपरिषद् १२ सदस्यीय भएको हो ।

विश्वकर्मालाई सोमबार विना विभागीयमन्त्री नियुक्त गरिएको पत्र प्रदेश प्रमुख पृथ्वीमान गुरुङको कार्यालयमा पुगेको छ भने डोबाटेको सपथ साँझ ५ बजे गराउने तयारी प्रदेश प्रमुखको कार्यालयले गरेको छ।

यसअघि मन्त्रिपरिषद् विस्तारका क्रममा मन्त्री नियुक्तिको ग्यारेन्टी भइसक्दा पनि अन्तिम समयमा उनको नाम काटिएको थियो । दलित र पुरानो नेतालाई मन्त्री नबनाएको मुख्यमन्त्री पोखरेलको तीव्र आलोचना भएको थियो ।

मुख्यमन्त्री पोखरेलले डोबाटेलाई मन्त्री बनाउनका लागि एक साताअघि काठमाडौं गएर प्रधानमन्त्री तथा कांग्रेस पार्टी सभापति शेरबहादुर देउवा तथा सत्ता गठबन्धनको मुख्य साझेदार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग परामर्शसहित सहमति लिएका थिए ।

प्रकाशित : २५ आश्विन २०७८, सोमबार