Logo

प्रदेश न. १

अल्पमतमा रहेका बागमती र प्रदेश नं. १ का सरकारको आयु यसै साताभरी मात्र



मुख्यमन्त्री नियुक्तिको सुरुवाती चरणदेखि नै अल्पमतमा रहेका वागमती प्रदेश र प्रदेश नं. १ का दुइ प्रदेश सरकारको आयु यसैसाताबाट सकिने भएको छ । वागमती प्रदेशको प्रदेशसभा बैठक यही कर्तिक ४ गते र प्रदेश नं. १ को प्रदेशसभा बैठक कार्तिक पाँच गतेका लागि बोलाइएसँगै दुवै प्रदेशका सरकार फेरिन लागेका हुन् ।

वागमती प्रदेशमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आफूलाई विश्वासको मत दिन आव्हान सम्बन्धी प्रस्ताव पेश गरिसकेकाले ४ गतेको बैठकमा सो प्रस्तावमाथि छलफल हुनेछ । मुख्यमन्त्री शाक्यले आफूलाई विश्वासको मत दिन आव्हान गरेको भएता पनि उनको पक्षमा बहुमत पुग्दैन ।

जम्मा १ सय ९ जना प्रदेशसभा सदस्य रहेको वागमतीमा सरकार टिकाउन ५५ सदस्यको समर्थन चाहिन्छ । पाटी विभाजन हुनु भन्दा अगाडि नेकपा (एमाले) एक्लैको ५६ सांसद संख्या रहेको वागमती प्रदेशका १३ जना सांसदले पार्टी छोडेपछि हाल उससँग ४३ जना मात्र सांसद रहेका छन् ।

हाल प्रदेशसभामा विपक्षी गठबन्धनमा रहेका पाँच दल बाहेकका विवेकशील साझा, नेपाल मजदुर किसान पार्टी र राप्रपाले नै पनि शाक्यको पक्षमा मत दिए पनि बहुमत पुग्दैन । उनीहरुसँग क्रमश ३ र २–२ जना गरी ७ जना सांसद छन् । यति थपिदा शाक्यको पक्षमा जम्मा ५० मत हुन्छ ।

यता विपक्षी गठबन्धनमा भने नेकपा (माओवादी केन्द्र)का २३, नेपाली कांग्रसका २२, नेकपा (एकिकृत समाजवादी)का १३ र जनता समाजवादीको १ जना सांसद रहेका छन् । यसो गर्दा गठबन्धनसँग ५९ जना सांसद पुग्छन् । उनीहरुले सजिलै सरकार बनाउन सक्छन् । वागमती प्रदेशमा नेपाली कांग्रेसले पनि सरकारको नेतृत्वमा दावी गरेको भएता पनि एकिकृत समाजवादीका राजेन्द्र पाण्डे मुख्यमन्त्री बन्ने संभावना बलियो छ ।

यता प्रदेश नं. १ मा पनि नियुक्तिकै समयमा अल्पमतमा रहेका एमाले सचिव भीम आचार्यको पक्षमा विश्वासको मत जुट्न सक्ने अवस्था छैन । ९२ सदस्यीय प्रदेशसभामा यसअघि एमाले एक्लेसँग ५१ जना सांसदहरु रहेका थिए । बुहमत सावित गर्न ४७ सांसद भए पुग्नेमा एमालेसँग ४ जना अरु बढी सांसद थिए । तर, १० जना सांसद एकिकृत समाजवादीमा गएपछि एमाले ४१ सांसदमा खुम्चिएको छ ।

प्रदेश नं. १ मा गठबन्धनमा रहेका नेपाली कांग्रेसका २१, माओवादीका १५, समाजवादीका १० र जसपाका ३ जना सांसद छन् । यसरी हेर्दा गठबन्धनमा ४९ जना सांसदहरु रहेका छन् । गठबन्धनमा नरहेका र हालसम्म कसलाई मत दिने भन्ने पनि नखुलेका राप्रपाका १ र संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चका १ जना सांसद पनि प्रदेश नं. १ मा छन् ।
गठबन्धनको तर्फबाट राजेन्द्र राई प्रदेश नं. १ को सरकारको मुख्यमन्त्रीका पहिलो दाबेदार हुन् ।

प्रकाशित मिति : १ कार्तिक २०७८, सोमबार  ६ : ४८ बजे