Logo

कर्णाली प्रदेश

कर्णालीले नहरको बाँध फुटाएपछि बस्तीमा पानी जान रोक्नै धौधौ



धनगढी । कर्णाली नदीमा निर्माण गरिएको रानीजमरा कुलरिया सिँचाइ आयोजनाको बाँध फुटेपछि कैलालीका टीकापुर नगरपालिका र जानकी गाउँपालिकामा त्रास बढेको छ ।

इलाका प्रहरी कार्यालय टीकापुरका अनुसार सिँचाइ आयोजनाको मुख्य बाँध भने अहिलेसम्म सुरक्षित भए पनि साइड बाँध भत्किएर नहरमा अनियनित्रत तरिकाले पानी बगेको छ । नहरका ठाउँठाउँमा गेट बन्द गर्दासमेत पानी नरोकिएपछि जानकी गाउँपालिका – ९ का ५० घर परिवार र सोही वडास्थित खैरीफाँटाका ३० परिवारलाई सुरक्षित स्थानमा सारिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले बताए ।

‘महाकालीमा पानीको बहाव झनै बढिरहेको छ’, प्रहरी प्रवक्ता विष्टले भने, ‘रातको समयमा ठूलो घटना नहोस् भन्न मानिस सारिएका छन् । नहरको पानी नियन्त्रणभन्दा बाहिर गएको छ ।’

उनका अनुसार टीकापुर नगरपालिका–५ शाहीपुरमा तटबन्ध भत्किएर सो स्थानका पनि बस्ती डुबानमा परेका छन् । गाउँमा पानी पसेपछि सो क्षेत्रका नागरिकलाई वडा नम्बर–५ स्थित वसन्तामा रहेको त्रिभुवन मावि र आफन्तको घरमा सारिएको छ ।

‘रातिको समयमा पानी बढ्न सक्ने देखिएका कारण जोखिममा रहेका नागरिकलाई माइकिङ गरेर सुरक्षित स्थानमा जान आग्रह गरिएको छ’, प्रवक्ता विष्टले भने, ‘धेरै नागरिक सुरक्षित स्थानमा गइसकेका छन्, केही परिवार भने अटेरी गरेर जोखिम मोलेरै घरमा बसेका छन् ।’

रातीको समयमा समस्या भएका तत्काल उद्धार गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाका गरी २०० भन्दा बढी सुरक्षाकर्मी टीकापुर क्षेत्रमा तैनाथ गरिएको उनले बताए ।

प्रकाशित मिति : २ कार्तिक २०७८, मंगलवार १९:०५   :  बजे

177
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।