Logo

धर्म / संस्कृति

वालुङ समुदायको फुटुक पर्वको तयारी पूरा



ताप्लेजुङमा सीमान्तकृत वालुङ समुदायले मनाउने साँस्कृतिक पर्व फुटुकको तयारी पूरा भएको छ । फुटुक पर्व वालुङ समुदायले दसैंको कोजाग्रत पूर्णिमाको पञ्चमी तिथिदेखि तिहारको औंसी (लक्ष्मीपूजा) सम्म मानाउँने गर्छ ।

वालुङ (भोटे) समुदाय चीनसँगको सीमावर्ती ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका–७ ओलाङ्चुङगोलामा मात्र बसोबास गर्दै आएका छन् । यो वर्ष कोरोना संक्रमणको जोखिम न्युन भएकाले फुटुक पर्व भव्यसँग मनाउन लागेको फक्ताङ्लुङ गाउँपालिका–७ ओलाङ्चुङगोलाका वडाध्यक्ष छेतेन भोटे (वालुङ) ले जानकारी दिए ।

करिब १० दिनसम्म मनाइने पर्वमा सहभागी हुन पाहुनाहरू आउन थालेको वडाध्यक्ष भोटेले जानकारी दिए । उनका अनुसार फुटुक पर्वलाई विधिगत रुपमा सञ्चालन गर्न भारतको दार्जिलिङदेखि लामाहरू शनिबार ओलाङ्चुङगाला आइपुगिसकेका छन् । स्थानीय याङ्मा नुर्पु शेर्पाका अनुसार पर्वको अवधिभर हरेक दिन मध्यरातीदेखि लामाले पूजा पाठ गर्छन् भने देव नृत्यसमेत हुन्छ । निरन्तर आगोमा घ्यू र तेल जलाउँदै पूजापाठ गर्ने गरिन्छ भने आगोमा बालेको घ्यु र तेलको धुँवा (राप) ले गुम्बाको धुरी नाघेमा शुभ हुने विश्वास छ ।

फुटुक पर्वको पछिल्लो चार दिनलाई विशेष दिनका रुपमा लिइन्छ । अन्तिम रातमा पनि देवनृत्य (देवता नाच) गरी वर्वको समापन गरिने स्थानीयको भनाइ छ ।
पर्वमा सहभागी लामाहरूले देवता र राक्षसको मुखुन्डो लगाएर देवता तथा राक्षसबीचको युद्धको अभिनय गरी नृत्य देखाउँछन् । फुटुक पर्वमा लामाको नृत्य हेर्न र भगवानको आशिर्वाद ग्रहण गर्न स्थानीयका साथै बाहिरबाट समेत गुम्बामा पाहुना आउने गर्छन । ओलाङ्चुङगोलामा साढे चार सय वर्ष पूरानो ऐतिहासिक दिकिछ्योलिङ गुम्बा रहेको छ । गतवर्ष कोरोना महामारीका कारण फुटुक पर्व सामान्य रुपमा मनाइएको थियो । उत्तरी नाका बन्द भएकाले चीनको स्वशासित क्षेत्र तिब्बतबाट समेत पाहुना आउन सकेका थिएनन् । यो वर्ष फुटुकमा भारतको सिक्किम, दार्जिलिङ र नेपालका विभिन्न ठाउँमा बसोबास गर्दै आएका वालुङ र आफ्ना आफन्त, नातेदार पाहुना सहभागी हुने स्थानीय बताउँछन् ।

सीमान्तकृत समुदायको मौलिक पर्व जगेर्नाबाट पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने अपेक्षा राखेर आर्थिक सहयोग गर्दै आएको फक्ताङ्लुङ गाउँपालिकाका अध्यक्ष सरोज एभेङ लिम्बूले बताए । समुद्र सतहदेखि तीन हजार दुई सय मिटर उचाई रहेको हिमाली बस्ती ओलाङ्चुङगोलामा एक मात्र जाति वालुङ समुदायको बसोबास छ । ओलाङ्चुङगोलामा हाल वालुङहरू ५२ घरपरिवार बसोबास गर्दै आएका छन् । ओलाङ्चुङगोलाकै साविक वडा नम्बर ९ जिल्लाकै उच्च बस्ती याङ्मा (४,२०० मिटर) मा ११ परिवार बसोबास गर्दै आएका छन् ।

प्रकाशित मिति : कार्तिक ७, २०७८ आईतबार  २ : ४५ बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।