राजनीतिक अधिकारलाई नेताहरुले ‘बाँदरको हातमा नरिवल’ सिद्ध गर्दा २०१७ सालमा देशमा पञ्चायती व्यवस्थाको पदार्पण भएको थियो । आफ्नो हातमा शक्ति केन्द्रीत गरेर राजा महेन्द्रले देशमा जुनखालको कायापलट गरे, त्यो सायदै कसैले अनुमान गरेका थिए । अहिले पनि देश विकासपे्रमी व्यक्तिको प्रसंग आउँदा राजा महेन्द्रको उदाहरण लिइन्छ । राजा महेन्द्र देश विकासमा समर्पित भई रहेका बेला राजनीतिक दलहरुले च्याँखे थापिरहे । अन्ततः २०४६ सालको जनआन्दोलनले राजा वीरेन्द्रलाई बहुदलीय व्यवस्थाको स्थापना गर्न बाध्य बनायो । अनि २०४७ सालमा बनेको संविधानले राजनीतिक दललाई शक्तिमा ल्यायो ।
राजनीतिक दलहरुले जनता सामू प्रतिवद्धता गरेझैं सुशासनको प्रत्याभूति दिन सकेनन् । उनीहरुकै आपसी खिचातानीको जगमा २०५२ सालमा जनयुद्धका नाममा देशमा रक्तपात शुरु भयो । त्यो हिंसात्मक गतिविधि राजा र राजसंस्थालाई प्रमुख निशानामा राखेर गरियो । जसले गर्दा नेपालमा विदेशी स्वार्थको खेल तीब्र रुपमा चल्न थाल्यो ।
नेपालको इतिहासमै लोकप्रिय मानिएका राजा वीरेन्द्रको यही चलखेलबीच २०५८ जेठमा वंशनास भयो । हालसम्म पनि रहस्यमय रहेको त्यो हत्याकाण्ड कसले र किन ग¥यो कसैलाई थाहा छैन । तर त्यतिबेला भारतीय सेनाध्यक्ष रहेका जनरल बक्सीले दिएका केही प्रतिक्रियाहरुलाई आधार मान्ने हो भने हिंसात्मक सशस्त्र युद्ध र विदेशी स्वार्थको सम्बन्ध दरबार हत्याकाण्डसंग जोडिएको छ ।
२०५८ सालमा राजा वीरेन्द्रको बंशनास भएपछि उनका भाइ ज्ञानेन्द्र शाह राजगद्दीको उत्तराधिकारी चुनिए । हिंसात्मक युद्धले मुलुक आक्रान्त भएका बेला राजा बनेका ज्ञानेन्द्रमाथि केही पक्षले आफ्नै दाइको वंशनास गरेको जस्ता मिथ्या आरोप समेत लगाए । व्यक्तिगत स्वार्थमा केन्द्रीत रहेको तात्कालीन सत्तासिन नेपाली काँग्रेसको आपसी विवादका कारण सरकार चलाउन असक्षम भएपछि शेरबहादुर देउवाले संसद भंग गरे ।
राजा ज्ञानेन्द्रलाई एकातिर देशमा शान्ति र अमनचयन कायम गर्ने चुनौती थियो भने ‘दाइको वंशनास’ गरेको भनेर लागेको आरोप प्रमाणित नहुने वातावरणको खोजी गर्नुपर्ने बाध्यता थियो । शेरबहादुर देउवा नेतृत्वको सरकारले देशमा निर्वाचन गराउन नसकेपछि २०५९ असोजमा उनलाई प्रधानमन्त्रीबाट बर्खास्त गरेर राजा ज्ञानेन्द्रले आफूलाई महेन्द्रपथमा उभ्याउन खोजे ।
सिनो खान नपाएको गिद्धझैं छटपटाएका राजनीतिक दलका असक्षम नेताहरुले राजा ज्ञानेन्द्रमाथि निरंकुश शासकको आरोप लगाउँदै सडकमा बितण्डा मच्चाउन थाले । राजा ज्ञानेन्द्रले फेरि पनि सरकार सञ्चालनका लागि सक्षमपात्रहरुको खोजी गरे । कसैले विकल्प दिन नसकेपछि तिनै शेरबहादुर फेरि प्रधानमनत्री बनाइए । आफ्नो आचरण सुधार गर्न नसकेपछि २०६१ माघमा फेरि बर्खास्तीमा परे ।
राजा ज्ञानेन्द्र आफैंले देशको नेतृत्व लिनुपर्ने बाध्यता आइलाग्यो । उनले मन्त्रिपरिषद्को अध्यक्षता आफैंले गर्ने गरी सरकार गठन गरे । राजा महेन्द्रले झैं आफूले पनि शक्ति हातमा लिएपछि देशमा कायापलट गर्न सकिन्छ भन्ने मनोकांक्षा बोकेका राजा ज्ञानेन्द्रको मन्त्रिपरिषदमा रहेका तुलसी गिरी प्रवृत्तिका सदस्य र सल्लाहकारहरुका कारण उनले आफूलाई विवादरहित बनाउन सकेनन् ।
देशमा सशस्त्र युद्धको आगो बलिरहेका बेला राजसंस्थालाई बदनाम गर्न राजनीतिक दलहरु एउटा कित्तामा उभिए । अन्तत ः भारत गएर १२ बँुदे दिल्ली सम्झौता गरे । आफैं प्रतिबन्ध लगाएर टाउकाको मोल समेत तोकेको हिंसात्मक शक्तिसँग गरेको त्यो सम्झौता आफैंमा नैतिकताहीन लाग्थ्यो । उक्त सम्झौतापश्चात दोश्रो जनआन्दोलनका नाममा देशका सडकमा पुनः रक्तपात मच्चाउन थाले । उनीहरुको त्यो प्रदर्शन प्रतिनिधिसभा पुनःस्थापनाका लागि थियो । ‘जनताको नासो’ भन्दै राजा ज्ञानेन्द्रले प्रतिनिधिसभा पुनःस्थापना गरिदिए । तर राजनीतिक दलहरुले राजालाई मात्र होइन, देश र जनतालाई नै धोका दिए ।
राजाले नै पुनःस्थापना गरिदिएको प्रतिनिधिसभा शक्तिको दुरुपयोग गरेर उनीहरुले राजालाई मात्र फालेनन्, धर्मनिरपेक्षताको नाममा देशको संस्कार, संस्कृति र परम्पराकै बलात्कार गरे । त्यही अराजकतालाई उनीहरुले गणतन्त्रको नाम दिए । संसदलाई ‘खसीको टाउको देखाएर कुकुरको मासु बेच्ने’ ठाउँको संज्ञा दिने एमाले, देशलाई स्वीजरल्याण्ड र सिंगापुर बनाउँछौं भन्ने कांग्रेस र १७ हजारको हत्या हुने गरी युद्ध गर्ने माओवादी संसदीय खेलमा असफल दरिए । जनजीविकासँग उनीहरुलाई कुनै सरोकार भएन ।
आफ्नो स्वार्थका लागि जुट्न र फुट्न नेपालका कम्युनिष्ट भनिनेहरुले जे पनि गर्ने संस्कारको विकास गरे । विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरसको कारण लकडाउन हुँदा जनताको पीरमर्कामा कसैको चासो रहेन तर सत्तामा भाग नमिल्दा अहिले यिनीहरुको आवाज ठूलो भएको छ । यिनीहरुले देखाएको ललिपपमा लोभिएर युद्ध र आन्दोलनमा होमिएर परिवार र शरीरका अंगहरु गुमाएकाहरुको बिचल्ली भयावह बन्दै गएको छ । सुखी जीवनको आशा देखाएर स्कुले जीवनमा झोला बोकेर जंगल छिराइएकाहरु यतिबेला खाडी मुलुकको तातो घाममा सेकिइरहेका छन् । सुशासनका कुरा गरेर नथाक्ने यिनीहरुका गोरु बेचेको साईनो सम्मका नातेदारहरु लाभको पदमा छन् । देशमा मौलाएको नीतिगत भ्रष्टाचारको सीमाना दिनानुदिन बढिरहेको छ ।
आफूलाई सामान्य झाडापखाला लाग्दा विदेशी अस्पतालमा धाउनेहरु यिनीहरुले देशमा एउटा गतिलो अस्पताल बनाउन सकेनन् । विदेशी महँगा विद्यालयहरुमा आफ्ना सन्तान पढाउन सक्नेहरुले देशमा विद्यालय बनाउने आशा राख्नु त बेकार हुने नै भयो । हिजो भारतलाई ‘विस्तारवाद’ भन्दै जनता उफार्नेहरु आज त्यही भारतको सामान्य राजदूतको तलुवा चाटेर शक्तिमा टिक्न सक्रिय छन् । यिनीहरुको लम्पसारवादी चरित्रका कारण देशको राष्ट्रियता, स्वतन्त्रता, सार्वभौमिकता र स्वाभिमान संकटमा परेको छ ।
राष्ट्र र जनताको हितभन्दा पनि आफ्नो व्यक्तिगत स्वार्थलाई केन्द्रमा राखेर राजनीतिको दुरुपयोग गरिरहेकाहरुले आफैंले ल्यायौं भनेको गणतन्त्र यिनीहरुलाई नै घाँडो भएको छ । गणतन्त्र भनेको राजा मिल्काएर आफू राजा बन्नु हो भन्ने अनैतिक शब्दकोष घोकेका यिनीहरुका लागि आफैंले ल्याएको व्यवस्था भारी भएको छ । न अड्न सक्ने, न छोड्न सक्ने भाउँतोले नेताहरुलाई चिडचिटाहट बनाएको छ ।
प्रतिक्रिया