सरकारले एसिड आक्रमण गर्नेहरुलाई कडा कानूनी कार्बाही गर्न अध्यादेश ल्याउने भएको छ । विहिबार बसेको मन्त्रीपरिषद्को बैठकले एसिड छ्याप्ने विरुद्ध कडा कानूनी कार्बाही गर्न अध्यादेश ल्याउने निर्णय गरेको हो ।
कानूनमन्त्री शिवमाया तुम्बाहाङ्फेले मन्त्रिपरिषद्मा पेस गरेको अध्यादेश स्वीकृत गरी छिट्टै राष्ट्रपति कार्यालय पठाइने बताइएको छ । नयाँ कानुनअनुसार एसिडसम्बन्धी कसुरमा २० वर्षसम्मको सजाय र १० लाखसम्म जरिवाना तोकिएको छ ।
आक्रमणकारीको सम्पत्ति रोक्का गरेर पीडितलाई तुरुन्तै क्षतिपूर्ति भराइने पनि नयाँ कानुनमा व्यवस्था गरिएको छ । एसिड छ्यापेर पीडितको अनुहार, आँखा, नाक, कान, घाँटी तथा संवेदनशील अङ्गमा क्षति पुर्याइएमा २० वर्षसम्म कैद सजाय निर्धारण गरिएको हो । शरीरका अन्य अङ्गमा तेजाब मात्रै परे १० वर्ष सजाय भुक्तान गर्नुपर्ने छ ।
एसिड बिक्रीमा पनि सरकारले कडाइ गर्ने भएको छ । जिल्ला प्रशासन कार्यालयबाट लाइसेन्स लिएर मात्र बिक्री वितरण गर्न पाइने र वर्षैपिच्छे लाइसेन्स, बिक्री इजाजत अद्यावधिक, नवीकरण गर्नुपर्ने नयाँ कानुनमा व्यवस्था छ । यस अघि प्रधानमन्त्री केपी शर्मा ओलीले एसिड आक्रमणबाट पीडित भएकाहरुसँग सम्वाद गरि अध्यादेश ल्याउने प्रतिवद्धता जनाएका थिए ।
्
प्रतिक्रिया