Logo

कोशी प्रदेश

प्रदेशको नामाकरण बहुपहिचानका आधारमा : मुख्यमन्त्री राई



धनकुटा । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले प्रदेशको नामाकरण बहुपहिचानका आधारमा गरिने बताएका छन् । गृहजिल्ला भोजपुर पुगेर विराटनगर फर्किने क्रममा मंगलबार दिउँसो धनकुटामा रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को सम्पर्क कार्यालयमा पत्रकारसँग उनले आगामी हिउँदे अधिवेशन वा बर्खे अधिवेशनसम्ममा प्रदेशको नाम राख्ने बताएका हुन् ।

उनले यसभन्दा अघिका सरकारले प्रदेशको नाम राख्ने विषयमा छलफल नै नचलाएको बताउँदै प्रदेश १ ले नाम नपाएको बताए । आफ्नो पार्टी नेकपा (एकीकृत समाजवादी) र नेकपा (माओवादी केन्द्र) बहुपहिचानको पक्षमा रहेका तर एमाले बहुपहिचानको एजेन्डा चुनावमा बोकेर अहिले विरोधी भएको आरोप लगाएका छन् ।

मुख्यमन्त्री राईले धनकुटामा पहिलेको सरकारले शिक्षण अस्पताल बनाउँछु भनेर झारा टार्ने काम गरेको तर आफूहरूले अध्ययन गरेर काम गर्ने बताए । उनले आगामी ३० कात्तिकमा प्रदेश सरकारले विश्वासको मत लिने बताए ।

अहिलेको सरकार परिस्थिति र मुद्दाले बनेको बताउँदै मुख्यमन्त्री राईले लोकतन्त्र मास्ने तानाशाह जन्माउने कोसिस भएकाले लोकतन्त्र पक्षधर एक ठाउँमा आएको दाबी गरे । उनले प्रदेश सरकार जनता बलियो बनाउन र प्रतिगामी परास्त गर्न बनेको सुनाए ।

धनकुटा आएका मुख्यमन्त्री राईलाई गठबन्धनको तर्फबाट ध्यानाकर्षणपत्र बुझाइएको छ । मुख्यमन्त्री राईले धनकुटा अस्पतालको निरीक्षण पनि गरेका छन् ।

प्रकाशित मिति : २३ कार्तिक २०७८, मंगलवार १८:५७   :  बजे

69
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।