विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले विश्वासको मतका लागि आइतबार प्रस्ताव दर्ता गरेका छन् । प्रदेशसभामा विश्वासको मत लिनको लागि दुई दिनअघि सो सम्बन्धी प्रस्ताव संसद सचिवालयमा दर्ता गर्नुपर्ने वैधानिक नियमानुसार राईले आज प्रदेशसभा सचिवालयमा प्रस्ताव दर्ता गराएका हुन् ।
प्रदेशसभाको बैठक मंगलबारका लागि तय भएकोले उक्त बैठकमार्फत मुख्यमन्त्री राईले विश्वासको मत माग्नेछन् । गत कात्तिक १६ गते पाँचदलीय गठबन्धनका तर्फबाट नेकपा (एकीकृत समाजवादी)का प्रदेश संसदीय दलका नेता राई मुख्यमन्त्री नियुक्त भएका थिए । उनी नेतृत्वको मन्त्रिपरिषद् हाल पाँच सदस्यीय मात्र रहेको छ ।
प्रदेशसभामा कस्तो छ अंकगणित ?
प्रदेस नं. १ मा कुल ९२ जना सांसदहरु रहेका छन् । मुख्यमन्त्री राईलाई विश्वासको मत लिन ४७ जना सांसदको समर्थन आवश्यक पर्छ । प्रदेशसभामा हाल विपक्षी एमालेसँग ४० जना सांसदहरु रहेका छन् भने सत्ता गठबन्धनको विपक्षमै रहेको राप्रपासँग १ जना सांसद रहेका छन् ।
सत्ता गठबन्धनमा रहेका दलहरुसँग ५१ जना सांसद रहेकोले उनीहरुको स्पष्ट बहुमत पुग्छ । जसले गर्दा मंगलबार मुख्यमन्त्री राईले सजिलै विश्वासको मत पाउने देखिन्छ । राईले विश्वासको मत प्राप्त गरेपछि मात्र मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेको बुझिएको छ ।




















प्रतिक्रिया