Logo

अन्तर्वार्ता

सिरानचोकलाई ऐतिहासीक क्षेत्रको रुपमा चिनाउन सफल भयौं : राजु गुरुङ [अन्तर्वार्ता]



सिरानचोक गाँउपालिका नेपालको प्रशासनिक विभाजन अनुसार गोरखा जिल्ला र गण्डकी प्रदेशमा पर्दछ । ऐतिहासीक जिल्ला गोरखाको सिरानचोक गाँउपालिकाका अध्यक्ष हुन् राजु गुरुङ । उहाँसँग गाउँपालिकामा विकास निर्माणका कामहरु, करोना नियन्त्रणमा गरिएको पहल, जनतासंगको सम्बन्ध, जनतासंग गरेका प्रतिबद्धता लगायत गाउँपालिकाको समग्र समसामयीक विषयमा अनलाइनपानाकर्मी रामनाथ कुँवरले गरेको कुराकानीको संम्पादित अंश :

कार्यकालको उत्तरार्धमा हुनुहुन्छ कार्यकाल कती उपलब्धीमुलक रहयो ?

हामीले यो कार्यकाललाई उपब्धिमूलक नै ठानेका छौं । जनप्रतिनिधमिा जितेर सफत लिदै गर्दा गरेको अठोटहरु पूरा गरेका छौं । गाउँपालिकाको ८ वटै वडामा सडक सञ्जाल पुर्‍याएका छौं । गाउँपालिकालाई काठे पुल मुक्त बनाएर फलामे पुलहरुको निर्माण भएको छ । गाउँपालिकालाई ऐतिहासीक स्थान भनेर चिनाउन सफल भएका छौं । यसरी हाम्रो यो पहिलो अनुभव र कार्यकाल सफल भएको ठानेको छु ।

जनताले देखेको समृद्धीको सपना कति पूरा गर्नुभयो ?

स्थानिय सरकारले जनतालाई समृद्धीमा जोडेको छ । होम स्टे निर्माण लगायता कामहरु गरेर पर्यटनको क्षेत्रमा पनि बिकास गरेका छौं । गाउँपालिकाको वडा नम्बर ४, ५ र ६ मा माछापालन गर्न सुरु भएको छ । त्यहाँ ८० वटा पोखरीमा माछापालन भैरहेको छ । तरकारी खेती र भैसी पालन पनि व्यवसायिक रुपमा गर्न सुरु भएको छ ।

शिक्षाको क्षेत्रमा के–के काम गर्नुभयो ?

शिक्षाको क्षेत्रमा हामीले मुख्य काम दरबन्दी मिलान गरियो । ऋणमा भएका विद्यालयहरुलाई ऋणमुक्त बनायौं । विद्यालयहरुमा ईसिडि कक्षाको शिक्षक गाउँपालिकाले राखेको छ । विभिन्न संघ संस्थासंग साझेदारी गरेर विद्यालयहरुका भौतिक संरचनाहरु निर्माण सम्पन्न भएको छ । विद्यालय टाढा भएर बालबालीकालाई विद्यालय जान गारो भएकोले गाउँपालिकाको ३ स्थानका बाल सिकाई केन्द्रको स्थापना गरेका छौं ।

कोरोना महामारी नियत्रण गर्न कस्ता कार्यहरु गर्दै हुनुहुन्छ ?

कोरोना प्रवेश गर्न नदिन जनचेतना फैलाउने कार्य गरियो । गाउँपालिकाका ९० जना शिक्षकलाई परिचालन गरेर कोरोना सम्बन्धी सूचनाहरु संगलन गरेर गाउँपालिकालाई दिने त्यसलाई स्वयंमसेवीकाले बुझेर स्वास्थ्य कर्मीलाई भन्ने र स्वास्थ्य कर्मीले उपचार गर्ने या अन्त उपचारका लागि लैजाने कार्य गरियो । क्वारेन्टाइन र आइसुलेशनको व्यवस्था गर्नुको साथै औषधी र पोषण युक्त खाध्यन्न सहितको सामग्रीहरु वितरण गरियो ।

कोरोना नियन्त्रणको बाहानामा भ्रष्टचार र अनियमितता भएको भन्ने सुनिएको छ, यसमा के भन्नुहुन्छ ?

यो गलत कुरा हो । तपाईले हेर्न र बुझ्न सक्नुहुन्छ । गोरखा जिल्ला भरिमा कोरोना महामारी नियन्त्रण गर्दा सबै भन्दा कम खर्च गर्ने पालिका हामी हो । हामीलाई महामारी नियन्त्रण गर्न विभिन्न संघसंस्थाहरुले साथ र सहयोग दिनुभएको छ । स्वयंम वडाका वडावासीहरुलेनै दाता बनेर राहात प्रदान गर्नुभयो । स्वास्थ्य सामग्रीमा पनि हामीलाई संघसंस्थाको सहयोग छ ।

जनप्रतिनिधि भएर काम गर्दा कस्ता समस्याहरु सामाना गर्नुभयो ?

समस्या आउने भन्दा पनि समस्याको समाधान कसरी गर्ने भन्ने कुरा महत्वपूर्ण हुन्छ । त्यसैले जनप्रतिनिधिले जनता, अन्य सरकार संघसंस्थाहरुसंग राम्रो समन्वय गर्न सकेमा समस्या आउँदैन् । सानातिना समस्याहरु त आउने नै भयो तर पनि काम गर्न नै गारो हुने कार्यलयमै ताला लाग्ने जस्ता समस्याहरु भने देखा परेनन् ।

सिरानचोक गाउँपालिकाको नागरिकसंगको सम्बन्ध कस्तो छ ?

हाम्रो यो संघीयताको पहिलो अभ्यास हो । हामीले जुन सुकै कामहरु जनतासंगको समोन्वयमै गरिरहेका छौं । जनप्रतिनिधि र जनता मिलेर नै पालिकाको विकासमा लागि परेका छौं । यस अर्थमा गाउँवासीसंग हाम्रो प्रगाड सम्बन्ध छ ।

संघीय सरकार र गण्डकी प्रदेश सरकारसंग कस्तो सम्बन्ध छ ?

संघ र प्रदेश सरकारले संविधानको मर्म र भावना अनुसार कानुनहरु बनाउन सकेको छैन् । त्यसैले पालिकासंग अधिकार र स्रोत साधनको विषयमा मतभेद हुने गरेको छ । विकासको कुरामा त जुन सरकारले गरे पनि एउटै भूगोलमा गर्ने हुनाले कुनै आपत्ती छैन् । त्यसैले संघ र प्रदेश सरकारसंगको सम्बन्ध त्यती सन्तोषजनक भने छैन् ।

कृषिको क्षेत्रमा कस्ता कार्यहरु गर्नुभयो ?

हामी कृषि र पशुपालनको क्षेत्रमा गाउँपालिकाले राम्रो प्रगती गर्न नसकेकै हो । गाउँपालिकामा सुरुको डेढ वर्ष कृषि र पशुपालनमा कर्मचारी विहिन भयो । त्यसपछि आएको कर्मचारीले पनि राम्रो काम गर्न सकेका छैनन् । यसमा जनप्रतिनिधिले मात्रै हचुवाको भरमा काम गरेर हुँदैन् प्राविधिकको आवश्यक्ता पर्छ । त्यसैले हाम्रो गाउँपालिकामा कृषि पछाडि परेको छ ।

सिरानचोकमा सडकको अवस्था कस्तो छ ?

दरौदी करिडोर बारपाक ११ किलोमिटर सडक कोलोपत्रे भएको छ । चेपे करिडोर दुधपोखरी मार्गमा स्तरउन्नतीको काम भैरहेको छ । मध्य पहाडी लोकमार्ग कालोपत्रे हुँदै छ । सबै वडाहरुमा सडकको रामै अवस्था छ ।

अन्त्यमा, यो कार्यकालमा गाउँपालिकामा तपाईहरुले गर्नुभएको मुख्य काम के–के हो ?

हामीले पूर्वधार निर्माणका कार्यहरु धेरै गरेका छौं यसले अब आउने स्थानिय सरकारलाई समृद्धी ल्याउन सजिलो हुन्छ । सडक, विधुत, खानेपानी, शिक्षा, स्वास्थ्य र कृषिमा पनि आमूल परिवर्तन भएको छ । हामीले पालिकाको ७० प्रतिशत घरहरुमा एक घर एक धारा पुर्‍याएका छौं । वडा नम्बर १ मा विधुत स्टेशन बन्दै छ । पालिकामा उद्योग ग्राम पनि निर्माणाधिन छ । अझै मूख्यकाम हामीले पुरातत्व विभागलाई भनेर सिरानचोकलाई पर्यटकीय क्षेत्रको रुपमा घोषणा गरेर विश्वसामू चिनाएका छौं ।

प्रकाशित मिति : ३० कार्तिक २०७८, मंगलवार १३:५९   :  बजे

879
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।