Logo

टिप्पणी

बुढो पार्टीमा युवा नेतृत्वको खोजी



अहिले सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसको चौधौँ महाधिवेशन भव्यताका साथ चलिरहेको छ । पार्टीको वडा तहको निर्वाचनमा चुनिएका उदीयमान युवायुवतीको प्रतिनिधित्वले नेपाली कांग्रेसमा नयाँ आशा जगाएको छ । लामो समयदेखि वडादेखि केन्द्रसम्म एउटै बुढो नेतृत्वले पकड जमाएको आरोप खेपिरहेको कांग्रेसमा पार्टीप्रति युवा आकर्षण बढेपछि नयाँ ऊर्जा पनि थपिएको छ । यसले भविष्यमा कांग्रेसको नाममा राजनीति गर्न चाहने पुस्ताका लागि मैदान फराकिलो हुने विश्वास गर्न सकिन्छ । यही गतिमा युवाको प्रतिनिधित्व बढ्यो भने पार्टीको ऐतिहासिक विरासतमा ठूलो टेवा पुग्ने देखिन्छ ।

अहिलेको नेतृत्व पुस्ताले यही गतिमा युवा आकर्षण बढाउँदै अभिभावकीय भूमिका निर्वाह गर्न सके त्यो पार्टीका लागि राम्रो त हुने नै छ, अन्य पार्टीका लागि समेत ठूलो चुनौती खडा हुनेछ । ‘कांग्रेसमा युवा आकर्षण हुन सक्दैन’ भन्ने कम्युनिस्ट तथा अन्य दलको भ्रमलाई चिर्नु पनि नेतृत्वको महत्वपूर्ण जिम्मेवारी हुन जान्छ । तर त्यसो भन्दा चलिरहेको क्षेत्रीय, प्रादेशिक, जिल्ला र केन्द्रीय महाधिवेशनमा पनि त्यो लहरलाई निरन्तरता दिन नेतृत्वको त्याग, तपस्या र भूमिका अझै अपेक्षित छ । आशा गरौँ, नेतृत्व तहमा रहेका व्यक्तिले गुट, उपगुट र सहगुटको भावना त्यागेर नेतृत्वको फैसला गर्ने जिम्मेवारी महाधिवेशन प्रतिनिधिलाई दिनेछन् ।

नेपाली कांग्रेसका संस्थापक बीपी कोइराला कुनै पार्टीको निजी होइनन्, उनी सम्पूर्ण नेपालीको साझा सम्पत्ति हुन् । मुलुकको राष्ट्रियता, सार्वभौमसत्ता र प्रजातन्त्रप्रति कुनै सम्झौता नगर्ने नेता बीपी युगपुरुष हुन् । आफ्ना प्रतिस्पर्धी र विरोधीलाई पनि सम्मान गर्ने नेता भएकाले अन्य राजनीतिक दलका पनि प्रेरणाका स्रोत र आदर्श व्यक्तित्व हुन् बीपी । उनको मेलमिलापको नीतिलाई सबैले आत्मसात् गर्न सके मात्र मुलुकका समस्या समाधान हुन सक्छ ।

अहिलेको अवस्थामा नेपाली कांग्रेसको गौरवमय इतिहासका गाथा गाएर मात्र कांग्रेसको सुनौलो भविष्य र आशालाग्दो वर्तमान हुन सक्दैन । यसका लागि इतिहास जोगाउनतर्फ दृढ भएर अघि बढ्नुपर्छ । मुलुकको पुरानो लोकतान्त्रिक पार्टी भनेर गौरवबोध गर्दै गर्दा लोकतान्त्रिक पार्टीलाई जीवन्त राख्न समय सापेक्ष पार्टीलाई सुदृढीकरण र शुद्धीकरण गर्दै लैजानुपर्छ । समयमा महाधिवेशन सम्पन्न गर्न नसक्दा लोकतान्त्रिक पार्टीको परिचयमै प्रश्न चिह्न लाग्न थालिसकेको थियो । अझ कतिपयले त अझै पनि महाधिवेशन होला र भन्ने प्रश्न पनि गरिरहेका छन् । वर्तमान महाधिवेशनले जनतामा नेपाली कांगे्रसप्रति केही आशा जगाइदिएको छ ।

स्वच्छ प्रतिस्पर्धाका आधारमा इमानदार कांग्रेस छान्नका लागि हुने महाधिवेशनले निर्वाचनलाई कुनै असर पु¥याउँदैन, पुर्‍याउन दिनु पनि हुँदैन । अहिले कांग्रेस परीक्षाको घडीमा छ । पार्टीको लोकतान्त्रिक र ऐतिहासिक छवि बन्धकी राख्ने बाटोमा लाग्ने हो भने यो महाधिवेशनले स्थानीय तह र संघीय तहको निर्वाचनलाई पनि असर पुर्‍याउँछ । तसर्थ, बेलैमा नेतृत्ववर्ग जिम्मेवार बन्नुपर्ने देखिएको छ ।

चलिरहेको महाधिवेशनमा कसैको दबाब र प्रलोभनमा परी पुरानैलाई नेतृत्व सुम्पियौँ भने पार्टी र देशले नयाँ नेतृत्व कहिले पाउने रु पुरानो शैली त्याग्न सके र पार्टीको उत्साह र युवा आकर्षणलाई महाधिवेशनबाट नयाँ नेतृत्व स्थापित नहुँदासम्म कायम राख्न सकियो भने स्थानीय र संघीय संसदको निर्वाचनमा कांग्रेसको सानदार विजय सुनिश्चित गर्न सकिन्छ ।

यसैगरी, आम नागरिकमा सामाजिक न्याय, शान्ति, मानवअधिकार सहितको सराज्य निर्माणका लागि पार्टीको स्थापनाकालदेखि हालसम्म शहीदहरूले जीवन उत्सर्ग मात्र गरेका छैनन् । पूर्वजहरू बीपी, गणेशमान, कृष्णप्रसाद, शैलजा, गिरिजाप्रसादलगायतले कठोर यातना सहितको संघर्षपूर्ण जीवन बिताएका छन् ।

सरकारमा मात्र केन्द्रित हुनुको साटो मुलुकको अर्थतन्त्र बलियो बनाउनेतर्फ सोच्न जरुरी छ । कमिसनको लोभमा विदेशी सामान ल्याउनुभन्दा कच्चापदार्थ आयात गरेर आफ्नै देशमा उत्पादन गरी रोजगार बढाउनुपर्छ । यो काम शिक्षित युवा नेतृत्वले मात्रै गर्न सक्छन् । त्यसैले, महाधिवेशनमा किशोर र युवा पुस्तालाई सहभागी गराई उनीहरूलाई नै नेतृत्व सुम्पिनुपदर्छ । उनीहरूले अहिलेको महाधिवेशनमा बढ्दो जोस जाँगर देखाएका पनि छन् । युवा नेतृत्वको चहलपहल बढ्नु देशकाे लागि शुभसंकेत हो ।

पार्टीका लागि रगत र पसिना बगाएर नेपाली कांग्रेसको विरासतलााई जोगाइराखेका छन् । महान् अग्रजहरूको निष्ठा, त्याग र बलिदान तथा इमानदारीलाई बचाइराख्न पनि पार्टीभित्रका स–साना विवाद, मतभेदभन्दा माथि उठेर सबैलाई लोकतान्त्रिक छाताभित्र समेट््न सक्नुपर्छ । कांग्रेसको आदर्श, निष्ठा, त्याग, तपस्या अन्य पार्टीहरूका लागि उदाहरणीय र प्रेरणाको स्रोत बन्न सक्नुपर्छ । कांग्रेसको उदारवादी र निष्ठापूर्ण चरित्रले आगामी निर्वाचनमा पार्टीलाई ऊर्जावान् बनाउन मार्गनिर्देशन प्रदान गर्दछ ।

कांग्रेस सरकारको नेतृत्वमा मुलुक रहेकाले कुनै अलोकप्रिय निर्णय र राष्ट्र जनताको हितविपरीतका कुनै पनि सन्धि सम्झौता नगरोस्, जसले पार्टीको सुनौलो भविष्य र आशलाग्दो वर्तमानलाई क्षतविक्षत परोस् । कांग्रेसका लाग हरेक कोणबाट यो कठिन परीक्षाको घडी हो । निष्पक्षरूपमा पार्टीको महाधिवेशन सम्पन्न गरेर सिंगो पार्टीको सहयोग लिन सक्यो भने सरकार सञ्चालनमा पनि महत्वपूर्ण उर्जा थपिनेछ ।

अरु पार्टीलाई खुसी पार्ने र चित्त बुझाउने भन्दा पनि कसरी नेपाली कांग्रेसको गरिमामय ऐतिहासिक छवि जोगाउने भन्नेतर्फ नेतृत्ववर्गको ध्यान जान जरुरी छ । सरकारमा कसले मन्त्री खाने वा नखाने ठूलो विषय होइन, बरु पार्टी महाधिवेशन सफलतापूर्वक सम्पन्न गर्न कसरी एकजुट हुने त्यो महत्वपूर्ण विषय हो । कसले हा¥यो, कसले जित्यो भन्ने प्रश्न गौण हो । समग्रमा कांग्रेसले जित्नुपर्छ भन्ने मान्यता स्थापित भयो भने यो पार्टीका लागि हितकर विषय हुन्छ ।

चौधौँ महाधिवेशन कांग्रेसका लागि ठूलो अवसर र चुनौतीका रूपमा खडा छ । महाधिवेशनमा व्यक्तिगत गुट, उपगुटको स्वार्थ छाडेर विचार, पद्धति र नीतिमा बहस नगरी नेतृत्व, सत्तालिप्सा र पार्टी कब्जाको संस्कृति मात्र हाबी भयो भने त्यसले कांग्रेस त आफैं सकिनेछ नै, इतिहासले समेत कदापि माफी दिने छैन ।

अहिले नै विदेशिन लागेका युवालाई स्वदेशमै रोजगारीको अवसर दिएर रोक्ने, विदेशिएका युवालाई स्वदेशमै फर्काउने, युवाले आर्जन गरेको ज्ञान, सीप, श्रम स्वदेशमै उपयोग गर्न कस्तो नीति तथा कार्यक्रम ल्याउने यसमा कांग्रेसको धारणा स्पष्ट हुन जरुरी छ । योजना, साहस र समर्पण भाव भएको ऊर्जावान् कांग्रेस नेतृत्व चौधौँ महाधिवेशनले दिन्छ भन्ने आमकांग्रेसजनको अपेक्षा छ ।

कांग्रेसमा बढ््दो युवा आकर्षणलाई निरन्तरता दिन उसले आफ्नो ऐतिहासिक विरासत र गरिमामय गाँथालाई सुनौलो भविष्य र आशालाग्दो वर्तमानमा बदल्न सक्नुपर्छ । पार्टीलाई व्यक्तिले डो¥याउने भन्दा विचार, सिद्धान्तले लगाम लगाउन सक्नुपर्छ । पार्टीलाई नेतामुखी होइन, नीतिमुखी बनाउन सक्नुपर्छ । पदमा होइन, पद्धतिमा रमाउन सक्नुपर्छ । सत्ता होइन, समाज केन्द्रित हुनुपर्छ ।

नेपाली कांग्रेसको नेतृत्वमा वर्तमान सरकार चलिरहेको छ तर पनि अहिले संसदमा वितण्डा मच्चिरहेको छ । जसमा देखिएका स्वार्थलोलुप झुण्ड नै राजनैतिक अस्थिरताको कारक हो ।

नेपाली कांग्रेसको यस महाधिवेशनबाट पार्टीभन्दा देश र जनतातर्फ ध्यान जानु जरुरी छ, सरकारमा मात्र केन्द्रित हुनुको साटो मुलुकको अर्थतन्त्र बलियो बनाउनेतर्फ सोच्न जरुरी छ । कमिसनको लोभमा विदेशी सामान ल्याउनुभन्दा कच्चापदार्थ आयात गरेर आफ्नै देशमा उत्पादन गरी रोजगार बढाउनुपर्छ । यो काम शिक्षित युवा नेतृत्वले मात्रै गर्न सक्छन् । त्यसैले, महाधिवेशनमा किशोर र युवा पुस्तालाई सहभागी गराई उनीहरूलाई नै नेतृत्व सुम्पिनुपदर्छ ।

उनीहरूले अहिलेको महाधिवेशनमा बढ्दो जोस जाँगर देखाएका पनि छन् । युवा नेतृत्वको चहलपहल बढ्नु शुभसंकेत हो । अबको नयाँ नेतृत्वले आफ्नै पार्टीभित्रका र बाहिरका सिद्धान्तविहीन स्वार्थलोलुप झुण्डहरूलाई चौधौँ महाधिवेशनमा पाखा लगाउन सक्यो भने पार्टी लोकतान्त्रिक गतिमा अघि बढ्न सक्छ ।

पार्टी आधार निर्माणमा महाधिवेशन अपरिहार्य हो । पार्टीको सिद्धान्त मार्गदर्शन विधि विधान निर्माण, परिमार्जन, संशोधन, नीतिनिर्देशन निर्माण, निर्माण संशोधन, नीति निर्देश समीक्षा, योजना निर्माण सफल कार्यान्वयनसँगै पार्टी नेतृत्व निर्माण गर्ने महत्वपूर्ण थलो हो, महाधिवेशन । हरेक पार्टीको अमूल्य सम्पत्ति, अनुशासन, नीति र सिद्धान्त तथा विधि हो । अनुशासन कसैलाई पलामे साङ्लोमा बाँधेर राख्नुभन्दा पनि आफैलाई शशासिन गर्ने हो । यसको सौन्दर्यले पार्टीलाई शुद्धीकरण गरी ऊर्जावान् बनाउन मद्दत गर्छ ।

प्रकाशित मिति : ८ मंसिर २०७८, बुधबार  १ : ५५ बजे