Logo

प्रमुख समाचार

प्रदेशलाई कांग्रेसमय बनाउँछु भन्दै बानियाँले दिए सभापतिमा उम्मेदवारी



काठमाडौं । नेपाली कांग्रेसको बागमती प्रदेशको सभापतिमा इन्द्रबहादुर बानियाँले उम्मेदवारी दिएका छन् । प्रदेश अधिवेशन आजबाट सुरु हुँदैछ । बानियाँले बुधबार रिपोर्टस क्लवमा पत्रकार सम्मेलन गरी उम्मेदवारी घोषणा गरेका हुन् ।

उनी बागमती प्रदेशको संसदीय दलका नेता पनि हुन् । कम्युनिष्टको गढमा पनि अत्याधिक मत ल्याएर मकवानपुर २ बाट प्रदेशसभाको निर्वाचन जितेका उनले प्रदेशलाई कांग्रेसमय बनाउन आफ्नो उम्मेदवारी रहेको बताएका छन् । ‘यो प्रदेशमा ३३ वटा प्रतिनिधिसभा र ६६ वटा प्रदेशसभा छन्, १३ जिल्ला न्, यसलाई कसरी कांग्रेसको किल्ला बनाउनुपर्छ भन्ने मलाई थाहा छ’ उनले भने ‘यो पार्टीको आन्तरिक प्रतिष्पर्धा भएकाले धेरै चिन्ता लिइरहनुपर्ने आवश्यकता छैन, मैले नेतृत्व गर्न सक्छु भनेर अघि बढेको हुँ ।’

उनले कांग्रेसले जनताको जनजीविकाको पक्षमा पनि बोल्नुपर्ने बताए । उनको उम्मेदवारी घोषणालाई केही केन्द्रीय सदस्य र प्रदेशका विभिन्न जिल्लाका सभापतिले समर्थन जनाएका थिए । बानियाँले यो प्रदेशमा झण्डै ५५ लाख मानिसहरुको बसोबास भएकाले पनि कांग्रेसलाई बलियो बनाउन सके पार्टीलाई जुनसुकै निर्वाचनमा पनि फाइदा हुने बताए । ‘केही चुनौती छन् त्यो मलाई थाहा छ तर चुनौतीलाई अवसरका रुपमा बदल्न सक्छु’ उनले भने ‘सबै मानिसलाई साक्षर, रोजगारमूलक बनाउनुका साथै सवल र समृद्ध प्रदेश बनाउने मेरो योजनामा सहयोग गरिदिनुहोला ।’

उनी पूर्व गृह राज्यमन्त्रीसमेत भइसकेका छन् । २०७० सालको संविधानसभाको निर्वाचनमा मकवानपुर १ बाट निर्वाचन जितेर उनले कम्युनिष्टको किल्ला भत्काइदिएका थिए । उनी पार्टीको जिल्ला सभापति पनि हुन् । उनी पार्टी र नेतामा मात्र होइन जनतामाझ पनि उत्ति नै लोकप्रिय छन् । उनको विकासको सोच र जनतालाई परेको बेला सहयोग गर्ने भावनाको अरु पार्टीकाले पनि उच्च प्रशंसा गर्ने गरेका छन् ।

प्रकाशित मिति : मंसिर १६, २०७८ बिहीबार  १० : ०० बजे

48
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।