Logo

टिप्पणी

आखिर विदेशमा दास बन्नैपर्ने भए, कुन शिक्षाका लागि स्कुल जाने ?



विश्व अहिले कोरोना भाइरसको संक्रमणमा रुमलिरहेका छन् । विश्व मानव जाति कोरोना भाइरससँगको लडाइँ र अस्तित्व रक्षाका निम्ति लडिरहेको छ । तर, हाम्रो देश कोरोनासँगसँगै वर्तमान अवस्थामा बेरोवगार र यही जटिल परिस्थितिसँग जुधिरहेको छ । कोरोना भाइरससँग मात्रै होइन केही वर्ष यता गणतन्त्र प्राप्तिपछि नेपाली राजनीतिको नेतृत्व गरिरहेका खतरनाक भाइरसहरूले मुलुकको शिक्षा, स्वास्थ, रोजगार र विकासलाई ध्वस्त बनाउँदै आएका थिए । जुन अझै पनि चरम उत्कर्षको बीचबाट जनताको मतमाथि नै चरणबद्ध प्रहार भइरहेको छं ।

अहिलेको राजनीतिक खिचातानीका कारण जनतामा वैकल्पिक राजनीति र नेतृत्वको महसुस भइरहेको छ । उनीहरू नयाँ युवा पुस्ताबाट नेतृत्व भएको हेर्न चाहन्छन् । तर, त्यसका लागि चाहेको जस्तो विकल्प तयार भइसकेको छैन । राजनीतिक भ्रष्टाचार, लुटपाट, घुस, कमिसन, परिवार, नातागोता, लेनदेन कारोबार, किनबेच र दाउपेचमै अल्झिरहेको छ ।

हामी भत्किरहेको बाटोबाट नयाँ बिहानीको पर्खाइमा घरि बालुवाटार, घरि सिंहदरबार चिहाइरहेका छौं । तर, बिडम्बना, सिँहदरबारभित्र आफ्नै आमालाई लुछिरहेका गिद्धहरूले चिहाउनेहरूलाई नै निमोठ्न बेर छैन ।

कक्षा १२ को परीक्षाको नतिजा प्रकाशन हुनेबित्तिकै धेरै विद्यार्थीहरू विदेशिने तरखरमा हुन्छन्, चहे त्यो पढ्न होस् वा काम गर्न । प्रत्येक वर्ष, मुलुकबाट लाखौँ दक्ष जनशक्ति विदेसिन बाध्य छन् । शैक्षिक बेरोजगारहरू दिनानुदिन उत्पादन भइरहेका छन् । समाज र राज्य विचारविहीन बन्दै गइरहेको छ । शिक्षित भनाउँदा हामी सामाजिक सञ्जालमा अपराध अराजकता मौलाएको हेरेर नेतालाई गाली गरेर आत्मरत्तिमा रमाइरहेका छौं । हामी चाहान्छौं, आज सुतिरहेका हामी भोलि उठ्दा विकसित मुलुकहरूको जस्तो नागरिक जीवनशैली बनोस् । तर, त्यसको बाटो र मोडल बारे कत्ति पनि बहस गर्न हामी चाहँदैनौँ, यही हाम्रो बिडम्बना हो ।

आज पनि यो स्थितिको सिर्जना हुनु नेपालको शिक्षामा भएको परम्परावादी बाटो र उत्पादन भइरहेका हामी शैक्षिक बेरोजगारहरू हौं । एक समय विश्वविद्यालयहरू आन्दोलनका भट्टीहरू थिए जनताको न्याय, स्वतन्त्रता र गणतन्त्र प्राप्ति नै मुलुकको आवश्यकता थियो तर आजको विश्वविद्यालय र शिक्षालयहरू शिक्षाको स्पष्ट खाका हिन विचारबाट मुलुकका प्रत्येक क्षेत्रमा चाहिने शिक्षित जनशक्ति उत्पादन होइन राजनैतिक भर्तिकेन्द्र र दासहरूको रुपमा उत्पादनका कारखाना भइरहेका छन् ।

हामीमा विदेशी मोह पारिवारिक सेटलमेन्ट, डाक्टर, पाइलट, इन्जिनियर र सरकारी जागिरबाहेक कुनै अभिभावकले अर्काे बाटो ठाउँ विकल्पलाई आफ्ना सन्तानका लागि स्वीकार गर्न सक्दैनन । जबर्जस्ती जीवनको उर्जाशील समय झोला बोकाएर बुढो हुन्जेलसम्म विश्वविद्यालयमा धकेलिन्छन् । भारवहन थेग्न नसक्नेहरूका लागि ज्यानको बाजी लगाएर सस्तोमूल्यमा श्रमका लागि धकेलिन्छ ।

जबर्जस्ती लादिएको बिना रुचिको क्षमताको बलबाट उत्पादित जनशक्ति १०५ पनि आफ्नो कार्यक्षेत्रमा जान पाउँदैन । यही विकराल जगबाट उत्पादित बहुल मध्यम वर्गीय परिवारबाट उत्पादित युवा विद्यार्र्थीहरूको जीवनकाल ऋणभार तिर्नकै लागि दासी जीवन गुजार्नु परेको छ । हामी कृषि ,विज्ञान, प्राविधिक, कला, साहित्य ,उधोग, व्यापार, संगित, पत्रकारितासहित थुप्रै बहुआयामिक पाटाका बारेमा गफ चुट्ने तर कसरी व्यवस्थित तरिकाले जनशक्ति उत्पादन र परिचालन गर्ने देशभित्रै राख्ने भन्नेबारे रत्ति पनि सोच्दैनौँ ।

एक दुई पात्रहरूका अपवादका कथाले मुलुकको कायापलट हुने सपना देख्छौँ । बिना रोलमोडलको आत्मरत्तिको दिवासपनाले न हामी बन्नेछौँ न हाम्रो भावी पुस्ता बन्नेछ ।

अबको हाम्रो बाटो आत्मनिर्भरताको बाटो हो । देशबाहिरको जनशक्तिलाई कसरी देशमै राख्ने भन्नेबारे स्थानीय सरकारहरूले योजना बनाउनुपर्दछ । कृषि उत्पादनका क्षेत्रलाई प्राविधिमैत्री बनाउँदै आफ्नो स्थानीय तह अनुसारको बजारीकरण संँगै मझौला उद्योगको खाका बनाउनु पर्दछ । यसका लागि राष्ट्रिय राजनीतिलाई गाली गरेर बसिरहनु पर्दैन । अर्काे विद्यालय शिक्षामा सुनाइ, बोलाइ, लेखाइ र पढाइका चार तह पछि बल्ल विद्यार्थीको रुचिअनुसारको बाटो तय गरिनुपर्छ ।

हाम्रा अभिभावकहरू आफ्ना छोराछोरीको रुचि के छ, उनीहरू केका अलि बढी निपूर्ण छन् त्यो हेर्दैनन्, छिमेकीका छोराछोरीले के गरे, कसरी प्रगति गरे, फलानाले सरकारी जागिर खाए, फलानाको छोरो विदेश गएर यति कमाउँदै छ, फलानो डाक्टर बन्यो भन्दै अरुको नक्कल गरी उनीहरूलाई पछ्याउन बाध्य पार्छन् । यसरी चाहेर वा नचाहेर अनावश्यक सपनाहरूको भारी बोकाएर जबर्जस्ती छिमेकी जस्तै, अर्काे जस्तै, फलानो जस्तै बन्न बाध्य पार्ने संर्कीर्ण मानसिकता परिवार र बिधालयबाट खारेज गरिनुपर्छ। प्रत्येक विद्यार्थीलाई उ जे चाहन्छ, उसको मनोविज्ञान अभिरुचि जुन क्षेत्रमा छ त्यही विधाको बाटो निधकर््कसँग रोज्न दिनुपर्छ । सबैमा सबै विषय र क्षेत्रको ज्ञान हुँदैन । र जसले रुचिअनुसारको विषय छान्छ, यसले आफ्नो विषयमा सफलता प्राप्त गर्न सक्छ ।

अर्थ, उद्योग, व्यापार, कला, साहित्यलाई क्षेत्र र भूगोल अनुसारको कृषि प्रणाली, पत्रकारिता, पर्यटन, राजनीति, विज्ञान प्रविधि, चिकित्सा र अन्य थुप्रै विधा रोज्ने अधिकार हाम्रो तहबाट शुरु गरिनुपर्छ । १० बजेदेखि ५ बजेसम्म लगाम लगाएर जेल हाल्ने होइन निश्चित समयको सैद्धान्तिक शिक्षा पछि व्यावहारिक रूपमा बाँकी समय विद्यार्र्थीले आफ्नो कार्य क्षेत्रमा बिताउन पाउनुपर्दछ ।

तब मात्र ३०औं वर्ष पारिवारिक झमेला र विश्वविद्यालय पछिको जीवन कि त विदेशी भूमिमा कि त दलीय दासताबाट गुजार्ने परिपाटीको अन्त्य हुनेछ । सम्भावनाका ढोकाहरू खुल्ने छन् आत्मनिर्भरताको बाटो सोझिँदै जानेछ । आर्थिक रूपान्तरण हुँदै जानेछ । व्यावहारिकता र विचारहरू बन्दै जानेछन् ।

कर्णाली र काठमाडौंलाई एउटै तुलोमा राखेर समग्र नेपालको सामाजिक संरचनाको अध्ययन बिना विदेशीले बोकाइदिएका ज्यानभन्दा भारी पोकाहरू भिराएर मुलुकको विकास समृद्धि, उत्पादन, आत्मनिर्भरताका दिवा सपनाले केही सत्ता निहित र केही लागानी गर्नसक्ने वर्गको हित हुनेछ तर समग्र मुलुकको अवस्था यसरी नै गुज्रिएर जानेछ ।

त्यसैले, सामाजिक सञ्जालमा कुण्ठा र निरासाका पिडाहरू पोखेर आत्मरतिमा रमाउनु भन्दा जरैदेखि, घरैदेखी र स्थानीय तहदेखि र केन्द्रसम्म सहि नीति र मोडलका खाकाहरूको पक्षमा बोल्दै जाऔँ यहि नै हाम्रो पुस्ताको खास र सहि जिम्मेवारी हुनेछ। बिचार बाट व्यवहार, अनुभव र जिम्मेवारीबाट परिपक्व नेतृत्व हामीलाई शिक्षा, स्वास्थ, रोजगार, विज्ञान, प्रविधि, उद्योग र ब्यापार लगाएतका सबै क्षेत्रमा नयाँ नेतृत्व उत्पादन हुँदै जानेछ र भ्रष्ट नेतृत्व र राजनीतिको अवशान हुनेछ ।

वर्तमान परिस्थिति, नीति र नेतृत्वबाट आशा अपेक्षा राख्ने दाँत देखाउन गालीका वर्षा गर्ने र अमेरिका अस्ट्रेलियाका लागि ¥याल चुहाउन नछाड्ने संगै नियुक्ति र क्षणिक लाभका लागि पर्दापछाडि हजुरी गर्ने ढोगी चिन्तनले सधैं यही अवस्था नरहला भन्न सकिन्न ।

‘शिक्षित भनाउँदा हामी सामाजिक सञ्जालमा अपराध अराजकता मौलाएको हेरेर नेतालाई गाली गरेर आत्मरत्तिमा रमाइरहेका छौं । हामी चाहान्छौं, आज सुतिरहेका हामी भोलि उठ्दा विकसित मुलुकहरूको जस्तो नागरिक जीवनशैली बनोस् । तर, त्यसको बाटो र मोडल बारे कत्ति पनि बहस गर्न हामी चाहँदैनौँ, यही हाम्रो बिडम्बना हो ।’

प्रकाशित मिति : मंसिर १७, २०७८ शुक्रबार  १ : ०६ बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।