Logo

टिप्पणी

पार्टीको वैचारिक बहसभन्दा पदको लालचमा अभिप्रेरित महाधिवेशन



यतिबेला सत्तारुढ नेपाली काँग्रेसको १४ औं महाधिवेशन चलिरहेको छ । जारी महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदैछ । सोमबार बिहान ८ बजेपछि मतदान सुरु भएको कांग्रेसको निर्वाचनले पूर्णता पाउन सकेको भए यतिबेला १३ पदाधिकारीसहित १३४ नयाँ कार्यसमिति सदस्य चुन्नेथियो । तर, मंगलबार बिहान सभापतिको मतगणना सकिए पनि कुनै प्रतिस्पर्धी विजयी हुन सकेनन् ।

नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि भएको सभापतिको निर्वाचनको मतगणनामा प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवा अगाडि देखिएका थिए पनि अन्तिममा जितका लागि उनको ८२ मत पुगेन । तर, अबको दोस्रो निर्वाचनमा भने देउवाले जित्ने सम्भावना भए पनि धेरैको मनमा ढुकढुकी बढेको छ ।

विभिन्न सञ्चार माध्यमहरूले १०-१० मिनेटमै मतगणनाको अपडेट दिइरहेका थिए । भृकुटीमण्डपमा आफ्नो पक्षका उम्मेद्वारलाई भोट हाल्न रातिदेखि नै लाइनमा रहेका कांग्रेस प्रतिनिधिहरू रातभरि अनिँदो नै भए पनि उत्साहित र खुसी देखिन्थे ।

देउवा प्यानलले पहिलो चरणमा नै देउवाको जित हुने आसामा धेरै जना थिए । तर त्यो आशा जितमा परिणत हुन सकेन । शेखर पक्षको पहिलो चरणमा भन्दा दोस्रो चरणमा मत परिणाम उल्टाउने नीति रहेको छ । तर, स्थिति भने दोस्रो चरणमा निर्वाचन भए देउवाले नै जित्ने सम्भावना अत्यन्तै बढि देखिएको छ । किनभने, एक त शेरबहादुर देउवाको पहिलो चरणमा निकै मतको अन्तरले अग्रता लिएका छन् ।

अर्को कुरा ७५ जनाको भोट बदर पनि भएको छ । त्यो भोटलाई सही रूपमा सदुपयोग गर्न सके आगामी सभापतिको पद देउवाले नै सम्हाल्नेछन् । अझ अहिले देशमा देउवाकै सरकार पनि छ । पद, पैसा र पावरको बलमा कुनै पदको लोभ देखाएर अरुको भोट आफूतिर तान्न पनि सक्छन् ।

हुन त यो निर्वाचनमा शेखर पनि कम छैनन् । सभापति देउवाको विरुद्धमा धेरै कांग्रेसीहरूले आवाज उठाएका छन् । अहिले देउवाको विरुद्धमा रहेर भनौं या सभापति पदको लोभ लागेर हो, नेतृत्व परिवर्तन गर्न भन्दै पाँच जना उम्मेदवारले एउटै पदका लागि उम्मेदवारी दिएका छन् ।

शेरबहादुर देउवा धेरै समय सभापति पदमा रहेर काम गरिसकेका छन् । तर, उनले पदमा रहेर पनि आफ्नो पार्टी र जनताको हितभन्दा पनि व्यक्तिगत स्वार्थमा लागेर पार्टीलाई धेरैपटक अप्ठेरो स्थितिमा लगेका छन् । यस्तै, आफ्ना मान्छेलाई मात्रै पदमा राखिराख्ने आफू पद नछोड्ने प्रवृत्ति देउवामा छ । त्यसैको फलस्वरूप वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेस पार्टीबाट संन्यास लिने बताएका छन् ।

कांग्रेसले आगामी निर्वाचनमा गाउँदेखि केन्द्रसम्म बहुमत ल्याएर एकल सरकार बनाउने सम्भावना देखिएकोले पनि मुख्य नेतृत्व अथवा सभापतिमा कस्ले जित्छ भनेर विश्वको ध्यान केन्द्रत भएको छ ।

पछिल्लो मत परिणाम अनुसार देउवाले सबैभन्दा बढी २२५८ मत ल्याउँदा दोस्रो स्थानमा रहेका कोइरालाले १७२९ मत ल्याए । ३७१ मत ल्याउँदै प्रकाशमान सिंह तेस्रो स्थानमा रहे भने विमलेन्द्र निधिले २४९ मत ल्याए । पाँचौ स्थानमा रहेका कल्याण गुरुङले २० मत पाएका छन् । ७५ मत भने खेर गएको छ ।

भृकुटीमण्डप ५१४ र राष्ट्रियसभा गृह र पुलिस क्लबमा ३०० बुथ निर्माण भएको थियो । ८१४ बुथबाट ४७ सयभन्दा बढी प्रतिनिधिले कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति सदस्य चयनका लागि मतदान गरको छन् । सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्री र सदस्यसहित एक सय ३४ पदका लागि भइरहेको निर्वाचनमा चार सय ८६ प्रतिस्पर्धामा छन् । दुई उपसभापतिका लागि सात जना, दुई महामन्त्रीका लागि ६ र आठ सहमहामन्त्रीका लागि १९ नेताले उम्मेदवारी दिएका छन् भने एक सय २१ सदस्यका लागि चार सय ४९ जना चुनावी मैदानमा उत्रिएका छन् ।

विगत चार दिनदेखि राजधानीको भृकुटीमण्डपमा जारी महाधिवेशनमा सोमबार पदाधिकारी तथा केन्द्रीय सदस्यसहित पहिलो चरणको निर्वाचन सकिएको छ । कांग्रेस नेतृत्वले महाधिवेशन शुरु हुनु्अघि नै अहिलेको महाधिवेशनमा विचारधारा, नीति र कार्यक्रमका विषयमा कुनै छलफल नहुने कुरा ल्याएको थियो । सोहीअनुरुप देश र जनताका कयौं सवालहरुलाई थाती राखेर पार्टीको महाधिवेशन विशुद्ध रूपले पदाधिकारीको निर्वाचनमा सीमित र केन्द्रित रह्यो । यसलाई मुलुकका लागि ज्यादै विडम्बनापूर्ण पक्ष मान्नुपर्छ ।

देशकै पुरानो र लोकतन्त्रको लागि संघर्ष गरेको पार्टीको महाधिवेशन देशका र जनताका कयौं गम्भीर सवाललाई थाँती राखी केवल प्राविधिक विषयमा सीमित रहनु दुखद् छ । कुनै पनि वर्तमान राजनीतिक मुद्दाहरूमा नबोल्ने राजनीतिक सम्मेलनको के अर्थ हुन्छ ? अहिले बुद्धिजीवी, चिन्तनशील वर्गसँगै सर्वसाधारण जनतामाझ यही प्रश्न उठेको छ ।

नेतृत्व चयन, कार्यकर्ता व्यवस्थापन एवं परिचालन र जनतामा प्रभाव पार्न अधिवेशनमा दलहरू केन्द्रित हुनु स्वाभाविक विषय हो । राजनीतिक सत्ताप्राप्ति दलहरूको प्रमुख लक्ष्य हो, यसमा विवाद गरिरहनु पर्दैन । तर, सत्ता केका लागि भन्ने प्रश्न सबैभन्दा महत्वपूर्ण हुन्छ । सत्ता चलाउन दलहरूले प्रस्तुत गर्ने विचार, नेतृत्व, नीति र कार्यक्रमलाई हेरेर जनताले पनि उनीहरूप्रति धारणा बनाउँछन् । तर, यसपटक कांग्रेसले आफ्नो अधिवेशनमा नीति र विचारमाथि कुनै छलफल हुँदैन भन्न रतिभर संकोच नमान्नुलाई दुर्भाग्यपूर्ण मान्नुपर्दछ । किनभने, राजनीतिक पार्टी विचारधाराको मञ्च हुनुपर्छ ।

पार्टीले अँगालेको विचारधाराको निरन्तर व्याख्या र विमर्शकै क्रममा महाधिवेशनमा आइपुग्दा त्यसले नीतिगत अभिव्यक्ति पाउँछ । अर्को अधिवेशन नहुँदासम्म नेतृत्वले सोहीअनुसार पार्टीलाई अघि बढाउँछ । विचारधारा र नीतिको यो सामान्य प्रक्रिया हो । अन्यथा सत्ताका लागि मात्र केन्द्रित हुने हो भने पार्टी नै किन चाहियो ? यस किसिमले राजनीतिक दल नितान्त निजी स्वार्थमा केन्द्रित र पार्टी लेनदेनको अखडा बनेको प्रमाणित हुन्छ । भर्खरै सम्पन्न नेकपा एमालेको अधिवेशन पनि आधा दर्जन पदाधिकारीसहित करिब तीन सय केन्द्रीय सदस्यको चुनावभन्दा बढी केही भएन । यद्यपि, उसले दुई महिनाअघि सम्पन्न विधान अधिवेशनलाई देखाएर आफ्नो बचाउ गर्नसक्छ । तर, नेपाली कांग्रेसको त त्यो अवस्था पनि छैन ।

नेकाले संघीयता कार्यान्वयनमा देखिएका समस्या र चुनौतीलाई कसरी चिर्छ भन्ने वैचारिक स्पष्टता अभिव्यक्त हुन पाएन । संवैधानिक प्रणालीको अभ्यासका क्रममा कैयौं गम्भीर प्रश्न र सैद्धान्तिक विषय उठेका छन् । संसद् कमजोर भएको छ, संसद्ले निर्णय गर्नुपर्ने विषय न्यायपालिका पुग्नुपर्ने स्थिति छ । प्रधानन्यायाधीश वा अर्को कुनै न्यायाधीशको आचरणको कुरा मात्र होइन, न्यायाधीश नियुक्तिका बारेमा पुनर्विचार गर्नुपर्ने भएको छ । तर, कांग्रेस मुकदर्शक भएर बसेको छ ।

राजनीतिक दलहरूको अभावमा लोकतान्त्रिक शासन चल्न सक्दैन । तर, यस्तै विचार शून्यताले दलका नेता भनिएकाहरू जनताका नजरमा असान्दर्भिक हुँदै गएका छन् । दलहरूको सान्दर्भिकता र उपयोगिता पुनःस्थापित गर्न नसक्ने हो भने यस्ता अधिवेशन र नेतृत्वबाट मुलुकले अपेक्षा गरेको राजनीतिक गति दिन नसकिने कुरा प्रष्टै छ । पार्टी सञ्चालनको आन्तरिक पद्धतिमै सबैभन्दा पहिले बहस केन्द्रित गर्नु जरुरी देखिन्छ ।

प्रकाशित मिति : २८ मंसिर २०७८, मंगलबार  ४ : ५८ बजे