उडेर गयो फूलको सुवास बसेन भँवरा
ठाउँका ठावैं सुर्ती झैं सुके सुनौला जमरा
हे दैव ? कस्तो मोहनी लाग्यो लाहुरे नशाले
दशैंलाई पनि टेकायो घुँडा बिग्रेका दशाले ।
पति विदेशिएपछि कति पत्नीहरु यो मनोविज्ञानमा बाँचेका होलान् ? यतिबेला ४० लाख नेपाली विदेशी माटोमा झुत्ती खेलिरहेका छन् । सुखद भविष्यको खोजीमा खाडीको आगोमा लाखौं पिल्सिएर बाँचेका छन् । युरोप अमेरिका हानिनेहरु भविष्यको जोहो गर्न सम्पूर्ण कमाई दस्तुर बुझाएर आफूहरु चिम्टाको जिन्दगी बाँचिरहेका छन् । दोस्रो दर्जाको नागरिक हुने खेतीपातीमा पानी हाल्दाहाल्दै उनीहरुले आफ्नो जीवन मुर्झाएको पत्तै पाउँदैनन् । काठमाडौको दृश्य एकपल्ट चिहाउनुस् त । बडेमाको घर छ तर घरबेटी घरभित्रै शरणार्थी बन्न बाध्य छ ।
छोराबुहारी नातिनातिना युरोप अमेरिकामा छन् । नाति जन्मियो भन्ने सुनिन्छ, उसको अनुहार देख्न पाएको होइन । शरीरमा रोगले राष्ट्रिय सहमति गरेको छ । सुख पाउन बनाएको घर बनिनसकिदै रोगको घर भएको छ । राम्रो भनेर लगाएको राजस्थानी मार्बलको असरले एकाध बर्षभित्रै कुँजो बन्नु परेको छ । छोरो अमेरिकामा डाक्टर त छ तर उसको डाक्टरी आफ्ना परिवारका लागि काम लाग्न सकेको छैन, देशका लागि त परै जाओस् । आखिर पानीभन्दा रगत बाक्लो हुनु त प्रकृतिको नियम हो ।
सबैलाई सन्तानको माया लागि हाल्छ । तर देख्न नपाएको सुनेको नातिनातिनाको न्यास्रो मेट्न थरिथरिका टमी पाल्ने हजुरबाको संख्या काठमाडौमा दिन दुईगुना रात चारगुनाका दरले बढ्दो छ । हुने खानेहरु नै यो अवस्थामा बाँचेपछि हुँदा खानेको अवस्था के होला ? अब भन्नुस् त पात्रोमा आएको नयाँ वर्षले त्यो कोटीका मानिसलाई के प्रभाव पर्ला ? नयाँ वर्ष पात्रोमा हैन, मनमा आउनु पर्छ । आस्थामा आउनु पर्छ । विश्वासमा आउनुपर्छ । वनस्पतिसंगै मन पनि पाउलिनुपर्छ ।
नयाँ वर्षको आमोद प्रमोदमा हुने खर्चलाई अर्थशास्त्रसंग जोड्ने तोरीलाउरेहरुको बयान गरी साध्य छैन् । आखिर प्रकृतिले दिएको त्यही चौबीस घण्टाले बिल गेट्सलाई विश्वको मालिक बनाएको छ भने ‘जब तक समोसामे आलु रहेगा, तब तक विहारे लालु रहेगा’ भनेर आफूलाई लुईस चौधौं भैंm राज्य ठान्ने लालु यादव जोकर बनेका छन् । तात्कालिन अमेरिकी राष्ट्रपति बाराक ओबामाले पत्नीको डरका कारण चुरोट खाने बानी छोडेको बताएका थिए ।
किशोरीवयमा चढ्दै गरेकी आफ्नी छोरी छोटो पाइन्ट लगाएर पवमा गएको दृश्यले बाउ मनमा चस्स पस्थ्यो । अर्का अमेरिकी राष्ट्रपति जर्ज बुश आफू जँड्याहा हुँदै गएकोमा चिन्तित छन । भनिन्छ– संसारको कुनै तागतसंग नडराउने नेपोलियनको बिरालाको छायाँ देख्ने वित्तिक्कै सातो जान्थ्यो । समय परिवर्तनशिल छ । तपाईंले बाँधेको घडीले समय देओस् या नदेओस् तर प्रकृतिको घडी निरन्तर घुमिरहन्छ । पात्रो फेरियोस, पात्र नफेरियोस् ।
पात्रो फेरिएको छ । पोहोरको नयाँ पात्रो योपल्ट पुरानो भएको छ । अहिलेको साललाई अर्को वर्षले विस्थापित गर्नेछ । समय उही हो । प्रकृतिका नियम उही हुन । बस् अंक बदलिएको हो । अघिल्लो साल पुराना बनून भनी कामना गरिएका घाउका खोटहरु यसपल्ट के भए ? बलिया बनून सम्बन्धका बोटहरु भन्ने कामनाले कति आकार पायो ?
शिरमा फुलून सुख शान्ति र सुसम्बन्धका नोटहरु भनी पाएका आशिर्वचन कामयाव भयो, भएन ? नयाँ वर्ष शुभकामना मात्र नभई समीक्षा गर्ने साइत पनि हो । शुभकामना दिनुलाई नै पहिलो र अन्तिम कर्तव्य ठान्ने हो भने त्यो कर्म पानीले पानीमा पानी लेख्नु शिवाय केही हुन्न । पात्रो फेरिए पनि पात्र फेरिनुहुन्न । मानवताको दीयो निभ्नुहुन्न ।
कामयाव मानिसका लागि हरेक समय साइत हो । मेहनती मानिसले तीतेपातीबाट मह निकाल्न सक्छ । घोडाको लिदी पछ्याएर घोडा पत्ता लगाउन सक्छ । समय आफैंमा शुभ, अशुभ हुँदैन । समय सङ्लो पानी हो, यसमा कस्तो रंग भर्ने त्यो मानिसको कर्ममा निर्भर छ । यसैमा परिणाम निर्भर रहन्छ ।
०७७ सालले के दियो ? ०७८ सालसंग हामीले के अपेक्षा गरेका छौं ? हो, अघिल्लो साल तपाईंले के रोप्नुभयो ? नयाँ साल त्यही फल्ने हो । लोटा लिएर समुद्रमा पानी भर्न गयो भने समुद्र हैन, त्यही लोटाभरि पानी आउने हो । निस्क्रिय बस्ने अजिंगरको मुखमा त आहार आउँदैन भने प्रकृतिको नियम मानिसको सन्दर्भमा पनि उही नै हो ।
नयाँ साल मात्र हैन, जुनसुकै समय सत्कर्म गरौं । सकिन्छ मानव कल्याण गरौं, सकिन्न अकल्याण नगरौं । सत्पात्र बाचौं, सत्पात्र बन्न प्रेरित गरौं । देशलाई माया गरौं । माटोभन्दा ठूलो सुगन्ध पृथ्वीमा कुनै छैन । आफूलाई सम्मान अनि प्रेम गरौं । सम्मान र प्रेमको यात्रा परिवारबाट आरम्भ हुनुपर्छ । कुरा कम, कर्म बढी गर्ने प्रेरणा मिलोस् । मान्छेले मान्छेलाई प्रेम खन्याइरहने हो भने त्यो संसारकै अखण्ड यज्ञ हुनेछ । सबैभन्दा ठूलो कुरा देशभित्र परदेश र परदेशभित्र देश खोज्ने नेपाली संस्कृतिले यो सालबाट विश्राम पाओस् ।
समग्रमा भन्दा समयको सदुपयोग नै जीवनको सदुपयोग हो । शायद समयको बर्बादी नै जीवनको बर्बादी हो । हाँस्नु, नाच्नु, गाउनुजस्तै बाँच्नु पनि एउटा कला हो । जीवनमा सार्थक र निरर्थक दुईपाटा छन् । कसैले निरर्थकताभित्रै सार्थकताको अनुभव गरेका छन् त कति सार्थकताभित्र निरर्थकताको स्वाद भेटिरहेका छन् ।
हामी जति व्यापक बन्न सक्छौ, जगत पनि उतिक्कै व्यापक बन्ने हो । एउटा साधारण मानिस आपूm बसेको घरगाउँमै संसार देख्छ । उसको क्षितिज यतिमै सीमित हुन्छ । एउटा असाधारण मानिसका लागि सम्पूर्ण भूमण्डल घर सावित हुनपुग्छ ।
जगत उही हो, उस्तै छ । सूर्य उही हो, चन्द्र उही हो । तारा, आकाश, बादल, पहाड, पानी, बनस्पति, नदीनाला, जीवजन्तु सवै नै उही हो । आगो हिजोकै हो । आज पनि उस्तै छ । उत्तिक्कै पोल्छ । बाघ उस्तै छ । हिजो भैंm आज पनि मृग बाँकी राख्दैन्। आकाश, धती, घाम सवैको स्वधर्म उही छ । यिनीहरुलाई सबैलाई जीवन दिन्छन् तर बद्लामा केही लिँदैनन् । आगोको पोल्ने, पानीको बग्ने, बाघले मृग खाने अनि मृगले घाँस खाने प्रकृतिको नियम फेरिएको छैन् । शायद मानिस मात्र सृष्टिको त्यस्तो स्वभावहीन प्राणी हो, जो भिन्न भिन्न स्वभावमा बाँच्न सक्छ ।
राजादेखि रंक, चोर डाकादेखि सज्जनसम्म उसको नागरिकता बद्लिने गरेको छ । अहिले पनि मानिस जंगली जनावरबाट हैन, मानिसबाट नै त्रस्त छ । मानिसबाट बच्नका लागि उसले घरभन्दा अग्लो पर्खाल बनाउने गरेको छ । एउटा मानवभित्र मानवता र दानवता दुवै संगसंगै हुर्किरहेको छ । अँध्यारो उज्यालो, सफलता असफलता, राम्रो नराम्रो, देवता दानव अनेक किसिमका अवतारमा मानिसको खेलो फड्को हुने गरेको छ । जीवनको अन्तिमतिर हामी हिसाव किताव निकाल्छौं । कति खुसी हुन्छौं, कति पछुताउँछौं । अनि भन्छौ– मेरो नियति नै यस्तो थियो ।
लाखौं मानिस छन् क्रस भिर्ने तर अर्को इशा आउन सकेन । गेरु बस्त्र भिर्नेहरुको संख्या अनगिन्ती छ तर बुद्ध एक छन् । कविता लेख्ने कति कति तर देवकोटा सिर्पm एकजना भए । व्यक्तित्व बन्ने भनेको कुखुराको अण्डा होइन् । अघिल्लो वर्ष बीस सयको आयु होस् भनेर आशिर्वाद थाप्ने कति दैवका प्यारा भए होलान् । पोहोरै माया मारेकाहरु कति घिड्घिडो जीवन बाँचिरहेका छन् ।
शायद नियति भनेकै यही हो । जो सुखी छ, त्यो आनन्दित छैन् । जो आनन्दित छ उ सुखी छैन । सुख जोड्न सकिन्छ तर आनन्द बजारमा किन्न सकिदैन । सुख वाह्य हो भने आनन्द आन्तरिक हो । सुख र दुख अनुभूति हो । तर अहिलेको यक्ष प्रश्न भनेको हाम्रो चिन्ता आफ्ना नातागोता र परिवारबाट कति माथि उठेको छ भन्ने नै हो । एकपल्ट सोचौं त हामी कति मान्छे भएर बाँचेका छौं । जब मान्छे मान्छे भएर बाँच्छ , उसका लागि वर्षैभरि सुसाईत हुने पक्का छ ।















प्रतिक्रिया