Logo

राजनीति

बलात्कारीलाई फाँसीको सजाय दिन सांसद् विश्वकर्माको माग



प्रतिनिधिसभाकी नेकपा सांसद आशाकुमारी विश्वकर्माले बलात्कारीलाई फासीको सजाय दिनुपर्ने माग गरेकी छिन् ।गृहमन्त्री रामबहादुर थापासँग आज सिंहदरवारमा भएको भेटमा सांसद् विश्वकर्माले गृहमन्त्रीसँग यस्तो माग राखेको बताइन् ।

उनले पछिल्लो समयमा बलात्कारपछि हत्या गर्ने क्रम बढेकाले कडा कानुनको खाँचो रहेकोमा जोड दिएकी थिइन् । ‘सामान्य सजायले पुग्दैन, अब बलात्कारीलाई फासीको सजाय दिनुपर्छ अनिमात्र यस्ता घटनामा रोकथाम हुन सक्छ’ उनले भनिन् ‘ एकपछि अर्को घटना बढ्दै गएका छन्, पीडकहरु विभिन्न कारणले उम्किँदैछन् त्यसैले पनि कडा कानुनी व्यवस्था हुनैपर्छ ।’ बझाङका सांसद् र पूर्व सांसदको टोलीसँग गृहमन्त्री थापाले यस विषयमा महान्यायाधिवक्तासँग छलफल गर्ने जानकारी दिएको उनले बताइन् ।

‘फासीको नै सजाय दिन मिल्छ कि मिल्दैन अहिले नै भन्न नसकिने तर छलफल चलाउने र दोषीलाई कडा कारवाही गर्ने आश्वासन गृहमन्त्रीले दिनुभयो ’ उनले भनिन् ‘ विशेष गरी बालबालिका वलात्कारपछि हत्या हुने क्रम बढेको छ, यो चानचुने विषय नभएकाले सरकारलाई पटकपटक घच्घच्याउनुपरेको छ ।’ केही दिनअघि बझाङको मष्टा गाउँपालिका २ मा १२ वर्षिया सम्झना कामीको वलात्कारपछि हत्या भएको घटनाबारे जानकारी गराउन र सरकारलाई जिम्मेवार बन्न आग्रह गर्दैै एक टोली आज गृहमन्त्रीकामा पुगेको थियो । सम्झनाको वलात्कारपछि हत्या भएको थियो । उनको शरीरमा नीलडाम देखिएको भन्दै सांसद् विश्वकर्माले घटनाबारे गम्भीर छानविन गर्न र दोषीलाई कारवाही गर्न समेत माग गरेकी छिन् । सांसद् विश्वकर्माले प्रधानमन्त्रीलाई पनि भेट्ने तयारी भइरहेको जनाएकी छिन् ।

बझाङबाट नै प्रतिनिधित्व गरेकी उनले एक विज्ञप्ती प्रकाशित गरी तीन तहका सरकारले बालिकाको रक्षा गर्न पहल गर्नुपर्नेमा जोड दिएकी छिन् । वलात्कारपछि हत्या गर्नेको प्रहरीले पहिचान गरिसकेको छ । घरदेखि केही माथि सीम मन्दिरमा उनको शव फेला परेको थियो । हत्याराले यसअघि पनि अर्की बालिकालाई वलात्कार गरेको उजुरी प्रहरीकहाँ दर्ता भएको छ । हत्यारा १४ देखि १६ वर्षसम्मका रहेको प्रहरीले जनाएको छ । पछिल्ले समयमा यस प्रकारका घटना बढ्दै गएपछि सडक प्रदर्शन समेत हुन थालेको छ । सरकारलाई गम्भीर बन्न र पीडकलाई कारवाही गर्न भन्दै चर्को दबाब परेपनि सरकार भने जिम्मेवार बन्न सकिरहेको छैन ।

प्रकाशित मिति : आश्विन १२, २०७७ सोमबार  ३ : ५० बजे