Logo

विचार / ब्लग

जीवन खोज्दै जाँदा



बूढो भएपछि आफन्तमात्र होइन आफ्नो सम्पति, आफ्नो शरीर पनि पराइ हुँदोरहेछ । बालापन र यौवन अवस्था सम्झनामा मात्रै सीमित राख्नुपर्ने । के थियो जिन्दगी के भयो !

त्योबेला जीउ त पहाडै उचाल्ने, दाँत फलामै चपाउने जस्तो थियो । शरीरले जाबो जाडो त के हिउँ नै पचाउँथ्यो । पुष माघको जाडोसँग कुस्ती खेलेझैँ नुहाइन्थ्यो । खुट्टा तँ झन भन्नै नपर्ने सात समुन्द्र पार हिँडेरै पार गरौं जस्तो लाग्थ्यो । जवानीमा कुदन पाए खुट्टा दुखेको अनुभव नै हुँदैनथ्यो, त्यो पनि कस्तो समय थियो ।

तर समय र उमेरले किन टेथ्र्याे र ? २ बीस बाट ढल्केको यो उमेर न बोलेको सम्झिन्छ न त राखेकै सामान नै याद आउँछ । आज ४ बीसले पछ्याउँदा आगनै बैरी भयो । उमेरमा मकैका ठेट्ना चपाउने दाँत आज आएर दानाले साथ छोडिदिँदा पिठोलाई घोलेर सुप भन्दै दाँतले पो सुरुप – सुरुप तान्नु पर्ने पो भो । हरे ! के समय आयो ?

कहिल्यै बोलेर नथाकिने यी बोलीहरू अब अबरुद्ध हुन थाले । हिँडेर नगल्ने यी पाउहरूमा अब लगाम लगाइए । यसरी नै त जीवनलाई ढाल्नुपर्ने हुँदोरहेछ ।

काँध र काख कहिल्यै नगल्ने गरी आफ्ना सन्तान बोकी हिँड्ने यी शरीर अब तँ आफ्नै हातले आफ्नो गाला सुम्सुम्याउँदा पनि बैराग लाग्न थाल्यो । अरु तँ के कुरा गरौं उमेरमा आँखाको इसारामा बोलिन्थ्यो भने आज टोलाएर मात्र हेर्न थालियो । चञ्चलता साथ डुलिहिँड्ने यो मन अब सिरक र डस्नासँगै ढाडका हड्डी दुखे पनि आनन्दै मान्नु पर्ने रहेछ ।

अर्थशास्त्रको माग जस्तै यो शरीरको मागलाई पनि त्यसरी नै प्रस्तुत गर्दा आज यो अवस्थालाई निहाल्दै जाँदा आफनै शरीर आफूलाई बोझ हुन थाल्यो । यो शरीरलाई बारम्बार भगवान्ले निमन्त्रणा दिँदा पनि भगवान्को निमन्त्रणालाई बेवास्ता गर्दै डाक्टरमा यो शरीर समर्पित न गराउने सायद कमै होलान् । तर के गर्नु न गरिखानु न मरी जानु भनेर पुर्पुरोमा हात राख्दै धिक्कार्दै यो धरतीको बोझ भन्दै समयलाई कुर्नु पर्ने हुँदोरहेछ ।

अब तँ आफनो शरीरका अंगहरूले पनि एक–एक गर्दै साथ छोड्न थाले । धिक्कार रहेछ जिन्दगी ! मेरो र तेरो भन्नु पनि पसिना बगाएर पेट बाधेर कमाएको सम्पति न अर्को दुनियाँमा लान मिल्ने न लोभले अरूलाइ नै दिन सक्ने ।

सायद समय र पैसाले गर्दा होला अब तँ आफ्ना सन्तानबाटै घृणाको पात्र पो बन्न पुगियो दाजुभाइ र छिमेकिको तँ के कुरा गर्नु जन्मे पछि मृत्यु अवश्य छ यो विधि को विधान नै हो भन्ने कुरा सबैलाई थाहा छ तर पनि बाचुञ्जेल तँ भन्दा म के कम भन्दै रोग र कालले तँ मलाइ कहिले भेटाउदै भन्ने सोच भएका मानिसहरू पनि धेरै भेटिए ।

संसारमा सबै वस्तुलाई रोक्न सकिन्छ तर मृत्युलाई रोक्न सकिँदैन रहेछ तातो पानी र सुप खादै यो सासलाइ अल्झाउनु पर्ने धिक्कार छ यो जिन्दगी, बूढो भएर बाँच्नु नै अभिसाप नै रहेछ ।

प्रकाशित मिति : पुष २६, २०७८ सोमबार  १ : २५ बजे

258
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।