Logo

अनलाइनपाना खोज

सहचालकसँग कोटेश्वरबाट कोटेश्वरसम्म



यो चिसोमा आफैँलाई छलेर म कोटेश्वर पुगेँ । सह चालकलाई भनेँ “यात्राभर म तपाईँसँग गफ गर्छु भाडा दोब्बर दिन्छु” अँहँ ! कसैले मानेन चार जनाले इग्नोर गरे । आज काम हुँदैन कि जस्तो लाग्यो । ‘हार नमान केटा ! कोही त होला नि आफ्ना कुरा सुन्ने मान्छे खोजिरहेकाे’ मलाई मनले यसै भन्यो । महानगर यातायात कुनै दुलही लिन जाने समयको बेहुला झैँ चिटिक्क परेर आयो ।

सहचालकले मेरो प्रस्ताव सहजै स्वीकार गरेको देख्दा लाग्यो, उसलाई मैले सोध्ने कुरा भन्न मन होला । किनकि मैले उसलाई म गाडी चड्नुको रहस्य प्रस्तावमै मिसाएर भनेको थिएँ । जसरी कुनै होटलमा बासी खानालाई साझीमा मिसाइन्छ । चुपचाप त्यसरी नै । ढोकामा म ऊसँगै उभिएँ । ऊसँग उभिँदा मलाई कुरा गर्न सजिलो हुन्थ्यो । बसले यात्रा सुरु गरेपछि मैले आफ्नो यात्रा प्रश्न सुरु गरेँ ।

‘चिसो छ है ?’
–धेरै नै
‘कहाँ बस्नुहुन्छ ?’
–बालकुमारी

‘गाडीमा काम कहिलेबाट गर्न सुरु भयो ?’
–आठ वर्ष भयो

चालकको पछाडि रहेको स्पीकरबाट आवाज आयो – अहिले हामी तिनकुने आयपुग्यौँ । कृपया बस पूर्णरूपमा नरोकिएसम्म झर्ने तथा चड्ने काम नगर्दिनुहोला । धन्यवाद । नयाँ आगन्तुकलाई यो सेवाले धेरै नै सहयोग गरेको उनी बताउँछन् ।

कति पढ्नुभएको छ भन्ने प्रश्नमा उनी जवाफलाई सातमा रोक्छन् । ‘एयरपोर्ट कोही छ ? गौशाला चावेल चावेल , स्वयम्भु कलकीं ।’ उनको यो आवाज जागिर खाउञ्जेलको लागि दिनचर्या नै हो । उनले महानगर यातायातमा सहचालकको जिम्मवारी त्यागेको दिन, यो रटानलाई फुक्नु पर्दैन । उनी र म एकै ढोकामा छौँ । म उनीसँग कुरा गर्न सजिलो होस् भनेर ढोकामा थिएँ । चालक मलाई घरी घरी पछाडि जाने आदेश दिन्थे । विद्यालयमा गृहकार्य गरेर ल्याउनु भन्ने शिक्षकको आदेश हुँदा बहानाको खात लगाउन सक्ने म, घरमा आमाले पानी जोड्न जा भनेर पठाउँदा फुटवल ग्राउण्डमा भेटिने म । चालकको आदेशलाई चिसो हावासँगै मुस्कानमा उडाइदिन्थेँ ।

मैले मुस्कानमा आफूलाई बेच्न सिकेको छु । चालकले गाडी कुदाउनु उसको जागिर हो, सह–चालकले मान्छे गाडीमा बोलाउनु उसको जागिर हो । र त्यस समय मैले सह चालकसँग कुरा गर्नु मेरो जागिर हो । म ढोकामा उभिएको देख्दा चालकलाई लागेको थियो मैले अफ्ठ्यारो बनाइरहेको छु । उसलाई पनि मान्छे धेर हालेर कमाउनु थियो र मलाई पनि कमाउनु थियो । सह चालकले कमाइसकेको थियो मेरो गोजीको केही हिस्सा त्यसैले ऊ मेरो पक्षमा थियो । मलाई डर थिएन ।

‘पढाइ किन छाड्नुभयो ?’

– सकिएन भनौँ कि मन लागेन भनौँ । गाउँकै निमाविसम्म पढेँ । मावि जान मन लागेन र सहर छिरेँ ।

‘काठमाडौँ आएर सुरुमा के गर्नुभयो ?’

–सुरुमा आएर त एम.सी गरेँ ।

मैले उसको कोड भाषा बुझेको थिएँ । तापनि सोधेँ एम.सी भनेको ?

ऊ जर्दाले रङ्गाएको दाँतलाई दुई ओठले छोप्न खोज्दै भन्यो‘ मस्काउने चम्काउने’

‘गौशाला झर्ने कोही छ ?’

‘छ छ’ पछाडिबाट दुई युवती आए । यो बेला चाहिँ अघि चालकले ठीकै भन्या थियो कि क्या हो जस्तो नलागेको पनि होइन । महानगर प्रहरीले सिटी फुक्यो । चालकले एक अपशब्द सहित महानगर प्रहरीको आज्ञा शिरोपर गरेर बसको गति ह्वात्तै बढायो । म झस्किएँ ।

त्यो समय म र सह–चालक साथी थियौँ । स्वार्थ अनेक थिए हाम्रा तर देखिनको लागि हामी साथी झैँ थियौँ । पछि हेर्ला नि भन्दै बा आमा आज पनि छिमेकीसँग कुरा गर्नुहुन्छ । सायद सबैभन्दा मीठो स्वार्थ बा आमाको त यही छ ।
‘रिसाउनुहन्न भने एउटा कुरा सोध्छु ।’
‘हेहे के रिसाउनु र भन्नुस् न’

‘तपाईँहरू छाडा धेरै किन बोल्नुहुन्छ ?’

–तपाईँ कोटेश्वरबाट मसँगै हुनुुहन्छ । मैले कतै छाडा बोले र ?

‘छैन ’

अनि ?

होइन मेरो मतलव यातायातमा छाडा शब्द धेरै प्रयोग हुन्छ । त्यसैले । सबैले बोल्छन् भन्ने छैन ।
मलाई सह चालकको कुरा ठीक लाग्यो । मान्छे आफ्नो रीस कसरी घटाउने भन्नेमा नै जान्छ । कसैले यस्ता शब्द प्रयोग गरेर आफ्नो रीसलाई आफ्नो काबुमा राखेका हुन्छन् ।

“हामी अहिले धुम्बाराही आइपुग्यौँ । कृपया ढोकामा नउभिदिनुहोला । धन्यवाद ।”

‘बिहान कतिबजे उठ्नुहुन्छ ?’

–चारबजे

‘त्यसपछि के गर्नुहुन्छ ?’

–साइकल किनेको छु । त्यसमा बस भएसम्म आउँछु । साइकल ग्यारेजमै राख्छु र बस धुन्छु । दाइ (चालक) र म चिया र अण्डा खान्छौँ अनि त काममा ।

‘दिनमा कति पटक घुम्नुहुन्छ रिङरोड ?’

–जाम हेरेर भर पर्छ त्यही चार पाँच नभए तीन ठीक्क हुन्छ ।

‘तलब कति लिनुहुन्छ ?’

ऊ मुस्कुराउँछ मात्र । मलाई लाग्यो भन्न खोजेन । म यसैमा अल्झिनु पनि त थिएन । सोधेँ ‘यो भन्दा पहिलो पनि गाडीमा नै काम गर्नु भयो ?’
–रामेछापको माइक्रोमा थिएँ ।

‘किन छाड्नुभयो ?’

–मलाई गाडी सिक्न मन थियो । डाइभरले माइक्रो छुनै नदिने । रीसले छाडेँ ।

‘अहिले दिनुहुन्छ ?’

–ब्याक गर्न आउँदैन, अरु सिकिसकेँ ।

‘भनेपछि तपाईँ पनि चालक नै बन्ने ?’

–ठूलो हुने रहर जसलाई लाग्छ नि ।

‘रक्सी पिउनुहुन्छ ?’

–बेलुका मात्र, थाकिन्छ सारै क्या ।

‘गाडीमा काम गर्नेले दिनहुँ मासु भात खान पाउँछन् रे हो ?’

‘हाहाहाहा हो, म चाहिँ खान्छु अरु सबैले त्यसो नगर्लान् ।’

उनीहरूले सह–चालकलाई दुई पद बनाएका छन् । स्टप र नन स्टप । स्टप भनेको लोकल बसमा काम गर्नेहरू हुन र नन स्टप भनेको लामो दूरीमा काम गर्ने सह–चालकहरू हुन् ।

स्टप सह–चालक तल्लो दर्जाका सह–चालक हुन भने नन स्टप सह चालक माथ्लो स्तरका हुन् । नन स्टप सह–चालकको भत्ता र तलब आफ्नै हुन्छ । मिले चौका मार्न मिल्छ । तर यता स्टप सह चालकलाई भने कि त तलब मात्रै दिएको हुन्छ कि त दिनको भत्ता । स्टप सह–चालकले चौका मार्न अलि अफ्ठ्यारो हुन्छ । त्यसै त खुजुराको कारोकार हुन्छ ठूला नोट हत्तपत्त हुन्न भए एक दुइ हजार हो त्यसमा सजिलो छैन त्यही ग्ट्खा खाने चाहिँ निकालिन्छ । मुस्कुराउँदै उनी सुनाउँछन् ।

‘ट्राफिकले कत्तिको दुःख दिन्छ ?’

–कोही इमान्दार छन् , कोही के छन् । नियममा नै हुँदा पनि कहिलेकाहीँ दुःख दिन्छन् । त्यो समयमा चाहिँ धेरै नै दुःख लाग्छ ।

‘अब चालक कहिले बन्नुहुन्छ ?’

–अर्को वर्ष लाइसेन्स निकाल्छु ।

‘बिहे गर्नुभयो ?’

मुस्कुराउँदै, छैन नि ।

बसले कलकींलाई छोयो कतै घुम्न हिँडेकाहरू हुँदा हुन सायद खचाखच भए । उसको मुहार उज्यालो भयो । म ढोकामै बसेँ । सबैलाई पछाडि पछाडि भन्दै गर्दा एकछिनमा उसले सोध्यो ‘तपाईँ त पत्रकार हो नि तपाइँलाई थाहा होला साँच्चै त्यो सुन अहिले कहाँ छ ?’
म हाँसेँ मात्र मलाई झन् के थाहा ।

उसलाई सोधेँ

‘राजनीति कत्तिको थाहा छ ?’

–अलिअलि

‘भोट हाल्नु भाछ ?’

–छैन

‘अहिले खाना कहाँ खाने ?’

–अब बसपार्कमा ।

‘प्यासेन्जरले पर्खन्छन् त ?’

–होइन नि बसर्पाक सम्मको मात्र हाल्ने प्यासेन्जर ।

‘कमाएको पैसा घर पठाउनुहुन्छ ?’

–घरकै लागि त गरेको पठाउनै पर्यो ।

म झर्ने ठाउँ नजिक आउँदैछ । ऊ मेरो कति चाँडै हितैसी बन्यो म सोचिरहेको छु । हामीले देख्ने वा भेट्ने सहचालक सबै मिजासिला हुन्नन थाहा छ तर यी भेटिएका भाइ जत्तिकै मिजासिला बनिदिए यात्रा रमाइलो नै हुन्छ । कोटेश्वरबाट कोटेश्वरसम्म मैले यात्रा गर्दा उनी मसँग नझर्केका पनि होइनन् । उत्तरको खोजीमा म थिएँ ।

बालकुमारी आएपछि सोधेँ ‘तपाइँको नाम चाहिँ ?’

उसले कसरी लियो थाहा छैन तर मजाले नै हाँस्यो र भन्यो दिनेश तामाङ

‘अनि घर ?’

–काभ्रे

म काटेश्वर झरेँ ,ऊ पुन एयरपोर्ट गौशाला भन्न थाल्यो ।

प्रकाशित मिति : ३ माघ २०७८, सोमबार १७:३१   :  बजे

342
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।