Logo

कोशी प्रदेश

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा डाक्टरको मनपरी

अनुदानको निशुल्क समाग्री प्रयोग गर्दै बिरामी संग पैसा असुल्दै



सुनसरी । विदेशी दातृसंस्थाले निःशुल्क दिएको सामग्री ‘प्रयोग गर्ने–नगर्ने’ विषयमा चिकित्सकहरूबीच मतभेद हुँदा त्यसको मारमा बिरामी पर्ने गरेका छन् । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको हाडजोर्नी विभागमा उपचारका लागि आउने बिरामी डाक्ठरको मतभेदका कारण मारमा परेका हुन् ।

सन् २००५ देखि अमेरिकास्थित साइन नामक संस्थाले विपन्न देशका बिरामीलाई खुट्टाको लामो हड्डी जोड्ने रड (नेल) निःशुल्क रूपमा उपलब्ध गराउँदै आएको छ । सोही रड प्रयोग गर्ने–नगर्ने भन्ने विषयमा चिकित्सकबीच मतभेद हुँदा एक बिरामी ८ घण्टा शल्यक्रिया कक्ष’ मा थुनिनु परेको छ । सामान्यतः शल्यक्रिया ३ घण्टामा सकिने भए पनि उनलाई ८ घण्टा सम्म शल्यकृया कक्षमा बस्नु परेको हो ।

तर, पुस १७ गते सिरहा कल्याणपुर नगरपालिका–११ का ललितकुमार साह मोटरसाइकल दुर्घटनामा परी खुट्टा भाँच्चिएपछि रड लगाउनुपर्ने अवस्था आएको थियो । उनलाई प्रतिष्ठानका कन्सल्टेन्ट अर्थोपेडिक सर्जन तथा एसोसिएट प्रोफेसर डा.रोशन कलवारको टिमले सोमबार शल्यक्रिया गर्ने मिति तय गरेको थियो ।

खुट्टामा कुन रड लगाउने भन्ने मतभेदले ३ दिनपछि बिहीबार मात्रै उनको शल्यक्रिया भयो । डा. रोशनसँग असिस्टेन्ट प्रोफेसर डा. अमितविक्रम साह र डा. अमित लिम्बूबीच विवाद हुँदा एउटै बिरामीलाई २ पटक शल्यक्रिया गरिदिएको बिरामी ललितकुमार साहले बताए । सुरुमा डा. रोशनले निःशुल्क रड लगाइदिएका थिए भने अन्य चिकित्सकले उक्त रड लगाउन बीपीमा अनुमति नभएको भन्दै पुनः शल्यक्रिया गरेको उनले बताए ।

‘चिकित्सकको विवादका कारणले आफूले धेरै दुःख पाएकोउनले बताए । एकपटक गर्दा हुने ठाउँमा डाक्टरहरुको विवादका कारण २ पटक शल्यक्रिया गर्दा घाउ ठूलो भई अत्यधिक मात्रामा रगत बगेको उनले बताए ।

शल्यक्रियाको समयमा नै चिकित्सकहबीच मतभेद भइरहेको थाहा पाएपछि आफूले ‘विवाद नगर्नू’ भन्दा लट्याउने सुई लगाइदिए पश्चात् आफूले थाहा नपाएको उनको भनाइ छ । बिरामीका बुबा रामकृष्ण साहले चिकित्सकको विवादले २ पटक शल्यक्रिया गर्नुपर्दा बिरामी थप समस्यामा परेको बताए । २ पटक शल्यक्रिया गर्दा लागेको खर्च पनि सम्बन्धित चिकित्सकले बेहोर्नु पर्ने उनको भनाइ छ ।

डा. रोशनविक्रम साह र डा. रोशन लिम्बूले हाडजोर्नी विभागले उक्त रड प्रयोग गर्न बन्देज गरेकाले ‘नहालौं’ भन्दा विवाद उत्पन्न भएको स्वीकारे । डा. कलवारले उक्त रड प्रयोग गरेबापत बिरामीसँग पैसा असुलेको पुष्टि भएपछि विभागले उक्त रड प्रयोग गर्न रोकेको डा. रोसनविक्रमले बताए । रड लगाउनका लागि १ घण्टादेखि अप्रेसनमा लाग्ने सामान (इन्स्टुमेन्ट) को निर्मलीकरण गर्नुपर्छ ।

सोहीअनुसार ग्रिन्ज कम्पनीको रड प्रयोग गर्न निर्मलीकरण गरिएको थियो । त्यो कम्पनी छाडेर साइन कम्पनीको रड लगाएपछि आफूहरुले गर्न नमानेको उनले स्वीकार गरे । डा. रोशनले शल्यक्रिया गरिसकेपछि हेर्दा रड हड्डीबाहिर गएकाले उक्त रड निकाल्नु परेको बताए ।

यता डा. रोशन पनि हड्डीबाहिर रड गएको स्वीकार गर्दै भन्छन्, ‘९० प्रतिशत अप्रेसन सकिएको थियो । अन्त्यमा हेर्न बाँकी थियो । तर, विवाद झिकेपछि आफूले छोडेको हो ।’ यता रोशनकै समूहका अन्यले चाहिँ डा. रोशनले गल्ती गरेपश्चात् छाडेको दाबी गरेका छन् ।

विवादको मुख्य जड अमेरिकी सहयोगको रड भए पनि जुनियरहरूले आफूलाई नपत्याएकाले विवाद सिर्जना भएको दाबी गर्छन् । उनले भने, ‘जुनियरहरूले मेरो कुरा मान्दैनन् । दादागिरी देखाउँछन् ।’ विभागले प्रयोग गर्न बन्देज गरेको रड नै किन प्रयोग गर्नुपर्ने भन्ने जिज्ञासामा डा. रोशन आफूले बिरामीको हितमा प्रयोग गरेको दाबी गरे ।

सिरहा कल्याणपुर नगरपालिका–११ का ललितकुमार साह

रडको गुणस्तरप्रति शङ्का नगर्न चिकित्सकहरूले सुझाव दिएका छन् । डा. कलवारले प्रयोग गर्दै आएको रड पनि गुणस्तरहीन नभएको हाडजोर्नी विभागका अन्य चिकित्सक बताउँछन् । कलवार भन्छन्, ‘विभागले प्रयोग नगर भन्ने अधिकार छैन । यदि प्रक्रियागत रूपमा प्रयोग नगर्न आदेश आए गर्दिनँ । यो गुण्डागर्दी शैलीमा निषेध गरेको मान्दिनँ ।’

यता हाडजोर्नी विभागमा कार्यरत नर्स सरिना गुरुङले बिहीबार ललितकुमार साहको अप्रेसनमा स्ट्याण्डर कम्पनीको रड अप्रेसन लिस्टमा रहेको तर, डा। कलवारले अन्त्यमा साइनको रड लगाएपछि विवाद उत्पन्न भएको बताइन् । उनले भनिन्, ‘अप्रेसनका लागि अघिल्लै दिन कुन साधन लाग्ने हो । हामीलाई लिस्ट आउँछ । हामीले त्यहीअनुसार तयारी गर्छौं । बिहीबार पनि स्ट्याण्डर कम्पनीको तयारी गरिएको थियो । तर, डा। कलवारले स्ट्याण्डरको सामग्रीमा साइन कम्पनीको रड लगाउनुभयो ।’

हाडजोर्नी विभागका प्रमुख डा। विक्रम श्रेष्ठ भने विवादको विषयमा प्रहरी प्रशासनमा उजुरी परेकाले बोल्न चाहेनन् । प्रतिष्ठानका अस्पताल निर्देशक गौरीशङ्कर साहले विभागका सबै चिकित्सकका विषयमा छानबिन हुने बताए । उनले भने, ‘डा। रोशन कलवार र विक्रम श्रेष्ठबीच के छ, मलाई थाहा छैन रु’ उनले विवादका विषयमा १० दिनभित्र निष्कर्ष निकाल्ने बताए ।

उनले अमेरिकाबाट आएको रड डा। कलवारले विभागलाई जिम्मा लगाउने र प्रयोग गर्ने निर्णय भएको बताए । उनले हाडजोर्नी विभागका चिकित्सकले मेडिकल आचार–संहिताभन्दा बाहिर गएर काम गरेको बताए । उनले भने, ‘उच्चस्तरीय छानबिन समिति बन्छ । भित्रको मान्छे हुँदैन । छानबिनले दोषी देखिए कारबाही हुन्छ ।’

प्रकाशित मिति : माघ ४, २०७८ मंगलबार  २ : ११ बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।