Logo

कोशी प्रदेश

ठेकेदारको लापरवाहीले पाँच स्वास्थ्यचौकी भवन अधुरै



खोटाङ । ठेकेदारको लापरवाहीका कारण खोटाङमा निर्माणाधीन पाँच स्वास्थ्यचौकी भवन अलपत्र अवस्थामा रहेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरीडाँडा, हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडा, सोही नगरपालिका ६ मङ्गलटार, दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासे र ऐसेलुखर्क गाउँपालिका–१ राखाबाङ्देलमा स्वास्थ्यचौकी भवन निर्माण पूरा हुन नसकेका कारण निर्माण अलपत्र परेका हुन् ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन एकाइ बबरमहल, काठमाडौँबाट बोलपत्र आह्वान भएर जिल्ला आयोजना कार्यान्वयन एकाइ (भवन) ओखलढुंगा मार्फत निर्माणको काम सुरु गरिएका स्वास्थ्यचौकी भवन निर्माण गत साउनदेखि ठप्प रहेका छन् । हालसम्म स्वास्थ्यचौकी दोर्पाचिउरीडाँडा, मङ्गलटार, बतासे र राखाबाङ्देल स्वास्थ्यचौकी भवनको केही काम सकिए पनि बाहुनीडाँडा स्वास्थ्यचौकीको काम अझै सुरु नभएको सघन सहरी विकास तथा भवन निर्माण आयोजना ओखलढुंगाका इञ्जीनियर विनोदकुमार मण्डलले बताए ।

निर्माणाधीन चार स्वास्थ्यचौकी भवनमा गत असार मसान्तसम्म निरन्तर काम भएको इञ्जीनियर मण्डलले जानकारी दिए । ठेकेदारले केही भवनको प्लाष्टर गरिसकेकाले सोहीअनुसार भुक्तानी पनि दिइएको उनले बताए । त्यसयता भवन निर्माणको काम बन्द भएकोले तत्काल काम सुरु गर्न पत्रारचार पनि गरीएको भए पनि अहिलेसम्म कुनै सुनुवाइ नभएको उनले बताए ।

मुख्य ठेकेदारले दोस्रो ठेकेदार र दोस्रोले तेस्रो ठेकेदारलाई भवनको काम छाडेकाले भवनको काम अधुरै रहेको जिल्ला आयोजना कार्यान्वयन एकाइ कार्यालयले जनाएको छ । पाँचवटै स्वास्थ्यचौकी भवन पेटी ठेकेदारले जिम्मा लिएर निर्माणको काम गरेकाले तोकिएको समयमा सम्पन्न हुने सम्भावना छैन । दोर्पाचिउरीडाँडाका होटल व्यवसायी तथा कामदारले भवन निर्माणको काम गर्दैआए पनि ठेकेदारबाट पाउनुपर्ने भुक्तानी हालसम्म पाएका छैनन् । निर्माण कम्पनीका प्रतिनिधिले होटलमा खाना खाएको पैसा हालसम्म नतिरेको र भवन निर्माणमा श्रम गरेका कामदारले पारिश्रमिक नपाएको जानकारी आएको इञ्जीनियर मण्डलले बताउनुभयो ।

पाँचवटै स्वास्थ्यचौकीको डेढतले भवनका लागि भ्याटसहित रु सात करोड ४० लाख ८४ हजारमा पूरा गर्ने गरी गौरी पार्वती–न्यू टेक्निकल जेभी ललितपुरले निर्माणको जिम्मा लिएको थियो । आगामी चैत ८ गतेसम्ममा भवनको काम सम्पन्न गर्ने गरी निर्माण कम्पनीले गत २०७७ मङ्सिर १० गते ठेक्का सम्झौता गरेको हो ।

राष्ट्रिय पुनः निर्माण प्राधिकरण केन्द्रीय आयोजनाअन्तर्गत राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ (भवन) ओखलढुंगा मार्फत अघि बढेको स्वास्थ्यचौकीको भवन निर्माणको जिम्मेवारी हाल सघन शहरी विकास तथा भवन निर्माण आयोजना ओखलढुंगामा सरेको छ । गत असोज १ गतेदेखि पुनःनिर्माण प्राधिकरणअन्तर्गतको भवनको जिम्मेवारी सघन सहरी विकास तथा भवन निर्माण आयोजनामा सरेपछि निर्माणाधीन स्वास्थ्यचौकी भवनबारे अन्योल छ ।

प्रकाशित मिति : १२ माघ २०७८, बुधबार १०:३९   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।