Logo

कोशी प्रदेश

खोटाङको ऐसेलुखर्कमा वडा कार्यालय र विद्यालयमा तोडफोड



खोटाङ । खोटाङको ऐसेलुखर्क गाउँपालिका–३ ऐसेलुखर्कको वडा कार्यालय र विधालयमा तोडफोड भएको छ। बिहीबार राती ऐसेलुखर्कको वडा कार्यालय र सोही वडाको भष्मे सिरान टोलमा अवस्थित त्रिभुवन उच्च माध्यमिक विद्यालयमा तोडफोड भएको हो।

रडले वडा कार्यालयको गेटको चाबी तोडेर भित्र पसेर वडाध्यक्षको कार्यकक्ष, सचिवको कार्यकक्ष र सभाहलमा तोडफोड भएको वडाध्यक्ष राजेशकुमार राजभण्डारीले जानकारी दिए । वडाध्यक्ष र सचिवको कार्यकक्षमा भएको एक–एकवटा दराज खोली दुबै दराजको घर्रा तानेर पैसा खोजेको जस्तो देखिएको र कागजात असरल्ल बनाईएको उनले बताए । यद्यपी, वडाको ल्यापटप, कम्प्युटर जस्ता भौतिक वस्तुहरु भने सुरक्षित रहेको उनको भनाइ छ ।

यस्तै, त्रिभुवन माविको कार्यालय छिर्ने ढोका तोडेर प्रधानाध्यापकको कार्यकक्षमा छिरेर ल्यापटप राख्ने बाक्सा फुटाएको पाईएको छ। विद्यालयको ल्यापटप नलगेको र फोटोकपी गर्ने ठाउँमा छिरेर दराज फोरेर हेरेको देखिएको वडाध्यक्ष राजभण्डारीले बताए ।

वडा कार्यालय र विद्यालय तोडफोडको प्रकृति हेर्दा पैसा खोजेको जस्तो देखिएको छ । तोडफोडका विषयमा प्रहरीमा उजुरी दिईएको र प्रहरीले सर्जमिन मुचुल्का तयार गरेको छ। अज्ञात समुहले तोडफोेड गरेको हुनसक्ने अनुमान गरिएको छ। तोडफोडमा संलग्नहरुको खोजी कार्य भईरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक सागर साहले बताए ।

प्रकाशित मिति : १४ माघ २०७८, शुक्रबार १७:२२   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।