विराटनगर । प्रदेश नं. १ मा मन्त्रिपरिषद विस्तारको कार्य अन्तिम चरणमा पुगेको छ । मन्त्रिपरिषद कार्यविभाजन नियमावली संशोधन सहित पारित गर्दै मन्त्रालयको संख्या थपेको प्रदेश १ सरकारले यही साता मन्त्रिमण्डल विस्तार गर्ने भएको हो ।
सरकारको टाउकोमा अतिरिक्त आर्थिक व्ययभार थपिने गरि मन्त्रिपरिषद विस्तार गर्ने तयारी सुरु भएको प्रदेश सरकारको यतिबेला चौतर्फी आलोचना हुन लागेको छ ।
थपिएका मन्त्रालय रहने स्थान समेत पहिचान भईसकेको हुनाले सम्भवतः शुक्रबारसम्म मन्त्रिपरिषद विस्तारको कार्यले पुर्णता पाउने प्रदेश सरकारका एक मन्त्रीले बताए । उनले विस्तारित मन्त्रालय सरकारी भवनमै राख्ने तयारी रहेको जानकारी दिए । सरकारको टाउको आर्थिक बोझ नथपिने माइन्डसेटका साथ मन्त्रालय विभाजन गरीएको र मन्त्रीपरिषद पनि त्यही अनुसार नै विस्तार गरिने उनको भनाइ छ ।
गएको कात्तिक १६ गते नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्रकुमार राई प्रदेश सरकारको मुख्यमन्त्री नियुक्त भएपछि कात्तिक १७ गते उनले सानो आकारको मन्त्रीमण्डल गठन गरेका थिए ।
जसअनुसार आर्थिक मामिला तथा योजना मन्त्री नेकपा माओवादी केन्द्रका इन्द्रबहादुर आङ्बो, भौतिक पूर्वाधार विकास मन्त्री नेपाली कांग्रेसका हिमाल कार्की, आन्तरिक मामिला तथा कानुन मन्त्री कांग्रेसका केदार कार्की, सामाजिक विकास मन्त्री जनता समाजवादी पार्टीका जयराम यादव र सोही मन्त्रालयको राज्यमन्त्रीको जिम्मेवारी संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी विष्णु तुम्बाहाम्फेलाई प्रदान गरिएको थियो ।
तत्काल कायम रहेका बाँकी २ मन्त्रालयमा कसैलाई नियुक्ति गरिएको थिएन । गठबन्धन भित्रको खटपटले घोषित मन्त्रिमण्डलले पुर्णता पाउन नसकेको भएपनि सरकारले अब दलीय भागबण्डाको आधारमा मन्त्रिपरिषद विस्तारको गृहकार्य अन्तिम चरणमा पुर्याएको छ ।
मन्त्रालय विभाजन भएसँगै प्रदेश १ मा काँग्रेसले ४, माओवादी केन्द्रले ३, मुख्यमन्त्री सहित नेकपा (एकीकृत समाजवादी) ले ३ र जनता समाजवादी पार्टीले १ मन्त्रालय लिनेबारे दलहरुबिच आन्तरिक सहमति भएको स्रोतले जनाएको छ । बाँकी रहेको १ मन्त्रालयमा काँग्रेस र एकीकृत समाजवादी दुवैको दाबी रहेको बताइएको छ । मन्त्रीमण्डलमा केही राज्यमन्त्रीहरु पनि थप गर्ने बिषयमा छलफल भईरहेको राज्यमन्त्री सहित १५ सदस्यीय मन्त्रीमण्डल गठन गर्ने तयारी रहेको श्रोतको जानकारी छ ।




















प्रतिक्रिया