विराटनगर । कोसी अस्पतालको मासिक १० लाख रुपैयाँ बराबर रकम बचत हुन थालेको छ । अक्सिजन प्लान्ट स्थापना भएपछि सो बराबरको रकम बचत हुन थालेको हो ।
कोसी अस्पतालले निजी क्षेत्रसँग दैनिक २ सय सिलिण्डर अक्सिजन खरिद गर्दै आएकोमा पुस महिना यता अक्सिजन ग्यास खरिद गरेको छैन । अस्पताललाई चाहिने अक्सिजन आफ्नै प्लान्टबाट उत्पादन हुन थालेपछि अक्सिजन खरिदमा हुँदै आएको दैनिक ५० हजार रुपैयाँ बराबरको रकम बचत भएको हो ।
कोसी अस्पतालमा विभिन्न दातृ संस्थाहरुले तीन वटा अक्सिजन ग्यास प्लान्ट स्थापना गरिदिएका छन् । तीनवटा प्लान्ट सञ्चालन हुँदा दैनिक ३ सय सिलिण्डरसम्म अक्सिजन उत्पादन गर्न सकिने अस्पतालले जनाएको छ । अहिले दुई वटा प्लान्ट सञ्चालन गर्दा आवश्यक अक्सिजन उत्पादन भइरहेको छ ।
अक्सिजन प्लान्ट राख्नका लागि कोसी अस्पतालले १२ लाख रुपैयाँका लागतमा भवन लगायत आवश्यक पूर्वाधार निर्माण गरेको थियो भने यन्त्र उपकरणहरु दातृ संस्थाले उपलब्ध गराएको अस्पतालले जनाएको छ । युएसआइडी एसयुपी हेटिक नेपाल, अमेरिका नेपाल मेडिकल फाउण्डेसन र सुजी फाउण्डेसन तथा नेपाल मेडिकल एशोसिएसनको सहयोगमा अक्सिजनका तीनवटा प्लान्ट स्थापना गरिएका छन् । तीन वटा प्लान्ट मध्ये दुई वटा प्लान्टले हावाबाट छानेर अक्सिजन उत्पादन गर्छ भने एउटा लिक्वीडबाट अक्सिजन उत्पादन गर्ने प्लान्ट स्थापना गरिएको अक्सिजन प्लान्ट हेर्ने अस्पतालका कर्मचारी बद्री बस्नेतले जानकारी दिए ।
लिक्वीडबाट अक्सिजन उत्पादन गर्ने प्लान्टले एक पटक लिक्वीड भरेपछि ४८ लिटर क्षमताको २२ सय सिलिण्डर अक्सिजन उत्पादन गर्छ । लिक्वीडबाट उत्पादन भएको अक्सिजन पाइपलाइन मार्फत बिरामीको बेडसम्म लगिएको छ । एक पटक लिक्वीड भर्न करिव ४ लाख रुपैयाँ खर्च हुने बताइएको छ ।
कोसी अस्पतालले अक्सिजन खरिदमा मासिक १४ लाख रुपैयाँ बढी रकम खर्च गर्दै आएकोमा पुस महिना यता अक्सिजन खरिद गरेको छैन । लिक्वीडमा मासिक ४ लाख रुपैयाँ खर्च गर्दा प्लान्ट स्थापना भएपछि मासिक १० लाख रुपैयाँ बचत भएको अस्पतालले जनाएको छ।
अक्सिजन प्लान्टका लागि अस्पतालले पुरानै जनशक्ति परिचालन गरेका कारण अतिरिक्त आर्थिक भारसमेत नपरेको र लिक्वीड प्लान्ट सञ्चालन गर्न दातृ संस्थाले नै एकजना कर्मचारी दिएका कारण अस्पताललाई अतिरिक्त आर्थिक दायित्व नभएको बस्नेतले जानकारी दिए ।




















प्रतिक्रिया