सभामुख अग्नि सापकोटाले सोमवार बोलाएको सर्वदलीय बैठक विनानिष्कर्ष टुङ्गिएको सहभागी नेताहरूले बताएका छन् । बैठकमा विवादित बनेको अमेरिकी मिलेनिअम च्यालेन्ज कर्पोरेशन एमसीसीसम्बन्धी विषयले प्राथमिकता पाएको नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले बताए । “प्रधानमन्त्रीज्यूले एमसीसीलाई अगाडि बढाउनुपर्ने कुरा गर्नुभयो। तर अधिकांश नेताहरूको त्यसमा सहमति देखिएन,” उनले भने ।
“माओवादी अध्यक्ष प्रचण्डले त म एमाले अध्यक्ष हुँदा मेरै अध्यक्षतामा बसेको बैठकले यथास्थितिमा बढाउनु हुँदैन भन्ने निर्णय गरेको हो । त्यसकारण मलाई पनि नैतिक बन्धन छ भन्नुभयो,“ सुवालले भने ।
छलफलमा के भयो ?
सम्झौतामा हस्ताक्षर भएको चार वर्षसम्म पनि कार्यान्वयनमा नआएको एमसीसीलाई अगाडि बढाउने प्रतिबद्धता नेपालले बारम्बार दोहोर्याउँदै आएको छ ।
बैठकपछि सभामुख सापकोटाले एमसीसीबारे सबैले आआफ्नो धारणा राखेको बताए । सञ्चारकर्मीसँग उनले भनेः “मैले सबैका धारणालाई तटस्थ, निष्पक्ष र स्वतन्त्रतापूर्वक सोचेँ। मैले सबैका कुरालाई गम्भीरतापूर्वक सुनेको छु ।” आफूले विशेष रूपमा संसद् बैठक चल्नुपर्नेमा जोड दिएको र त्यसपछि निर्णायक भूमिका दलहरूकै हुनेमा जोड दिएको सभामुख सापकोटाले बताए ।
संसद् अवरोध हटाउन जोड
बैठकमा सहभागी अर्का नेताका अनुसार एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले संसद्मा जारी अवरोध अन्त्य हुनुपर्नेमा जोड दिएका थिए । नेपाली कांग्रेसकी सचेतक पुष्पा भुषालले अवरुद्ध हुँदै आएका संसद्का बैठकलाई निर्बाध रूपमा अगाडि बढाउनका लागि प्रमुख प्रतिपक्षी दलसँग घनीभूत छलफल अगाडि बढाउने विषयमा कुराकानी भएको बताइन् ।
“प्रमुख प्रतिपक्षी दलले सदन खुल्न नदिएमा नागरिकतालगायत विभिन्न महत्त्वपूर्ण विधेयकलाई प्रस्तुत गर्न तयारी गर्ने विषयमा छलफल भयो,” उनले भनिन् । एमसीसीको विषयलाई छिटोभन्दा छिटो सदनमा प्रवेश गराउने कुरा भएको भुषालले उल्लेख गरिन् ।
“राजनीतिक दलका नेतृत्व तथा माननीय सांसदहरूले आफ्ना विचार र दृष्टिकोणलाई सदनभित्रै बहसको विषय बनाउने र त्यसलाई निर्णयार्थ प्रस्तुत गर्ने भन्ने सन्दर्भमा व्यापक छलफल भयो,“ नेत्री भुषालले थपिन् । लोकतान्त्रिक समाजवादी पार्टीका केन्द्रीय कार्यकारिणी सदस्य अकबाल अहमद शाहका अनुसार कैयौँ महत्त्वपूर्ण विधेयक रोकिएको भन्दै संसद्मा जारी अवरोध खुलाउनुपर्ने आवश्यकता नेताहरूले औँल्याएका थिए ।
एमाले सहभागी भएन किन ?
सत्तारूढ गठबन्धनका सांसदहरूले प्रधानन्यायाधीश जबराविरुद्ध पद अनुकूल आचरण नगरेको भन्दै प्रस्ताव दर्ता गराएको भोलिपल्ट सभामुखले सर्वदलीय बैठक डाकेका थिए ।
प्रमुख प्रतिपक्षी नेकपा एमालेले भने बैठक बहिष्कार गर्यो। यसअघि पनि सभामुख सापकोटाले बोलाएको बैठक उसले बहिष्कार गरेको थियो । आफ्नो दल विभाजित हुनुमा सभामुखको पनि भूमिका रहेको एमालेका नेताहरूले आरोप लगाउँदै आएका छन् ।
यसअघि सोमवार दिउँसो बसेको एमाले संसदीय दलको बैठकले प्रधानन्यायाधीशविरुद्ध महाभियोग दर्ता गर्ने सत्ता साझेदार दलहरूको निर्णय गलत स्वार्थले आएको भन्दै आवश्यक परे सडक, संसद् र न्यायालयबाट सङ्घर्ष गर्ने निर्णय गरेको थियो । एमालेका प्रमुख सचेतक विशाल भट्टराईका अनुसार पार्टी अध्यक्ष केपी शर्मा ओलीले गलत नियत राखेर महाभियोग ल्याइएको बताएका थिए ।
“यो जुन अवस्थामा आयो यसको तीन वटा उद्देश्य थियो। एउटा अदालतलाई निरन्तर गिजोलिरहने र अदालतलाई अस्थिर बनाउने, दोस्रो निर्वाचन सार्ने र तेस्रो एमसीसी पास गर्ने। यो गलत उद्देश्यले आएको छ त्यसकारण यसको प्रतिवाद गर्नुपर्छ ।”






















प्रतिक्रिया