संघीयताको अभ्यासले अहिले मुलुकमा संघीयताको बारेमा धेरे प्रश्नहरू उठिरहेका छन् । संघीयताको अभ्यास गरिरहँदा विभिन्न समस्या र चुनौतीको सामना गर्नू परिरहेको धेरैले टिप्पणी गरेका छन् । यो बाहेक धेरै काम स्थानीय सरकारले गर्नु पर्ने तर अधिकारहरु कम दिएको गुनासो जनप्रतिनिधिहरुले गर्दै आइरहेका छन् । सरकारले वैशाख ३० गतेलाई स्थानीय तहको निर्वाचन घोषणा गरिसकेको अवस्थामा स्थानीय सरकारले गरेको कामको लेखाजोखा हुन थालेको छ ।
हामीले पालिकाका प्रतिनिधिहरुको कार्यकाल सकिनै लाग्दा उनीहरूले गरेका काम र संघीयताको अभ्यासका बारेमा उनीहरूसँग कुराकानी गरिरहेका छौ । यसै सन्दर्भमा ओखलढुङ्गा जिल्लाको मानेभञ्जयाङ गाउँपालिकाका उपाध्यक्ष सविता राईसँग अनलाइपानाकर्मी सिर्जना स्नेहीले गरेको कुराकानीको संम्पादित अंश :
मानेभञ्जयाङ गाउँपालिकामा आफ्नो कार्यकालमा के कति विकासका योजनाहरु सुरु गरेर सम्पन्न गर्नुभएको छ ?
निर्वाचित भएपछि हामीले धेरै निर्माणका योजनाहरू सुरु गर्यौ । त्यस मध्य धरैजसो हामीले समयमा नै सम्पन्न गरी सकेका छौँ । तर ती मध्य केही ठूला योजनाहरू छन्, जसको टेन्डर ढिलो भएका कारण सम्पन्नमा केही ढिलाइ हुने देखिन्छ । यो वर्षका योजनाहरू पनि सम्झौता गरेर सम्पन्न हुने तैयारीमा रहेको । मलंखोले बालेथाम लिफ्टिङ खानेपानी छ । यसले धेरै वडाहरूलाई समेटेको छ । यो योजना अब वैशाख सम्ममा सम्पन्न गर्ने ठेकदारले जनाएको छ । यद्यपि, हामीले समयमा नै योजना सम्पन्न गर्न दबाब दिरहेका छौँ । यो बाहेकको, प्रशासकीय भवनको काम भर्खर सुरु भएको छ । यो योजना हाम्रो कार्यकालमा सुरु भए पनि अब अर्को कार्यकालमा सम्पन्न हुने अवस्था छ । अन्य विकासका योजनाहरू तीव्र रुपमा सुरु गरेर सम्पन्न गरेको छौ भने केही सम्पन्न हुने क्रममा छ ।
स्थानीय सरकारलाई अधिकार कम दिइएको,संघ र प्रदेशले समन्वय नगरेको भन्ने छ, याहाको अनुभन के रहयो ?
स्थानीय तह भनेको जनतासंगै बस्ने निकाय हो । हामीले जनताको आधारभूत आवश्यकता पुरा गर्र्छौ । हामीले जनताको वस्तीमा नै गएर के आवश्यक छ भनेर छुट्याइ, त्यसै अनुरुप काम गर्ने गरेका र्छौ । स्थानीय संरचना ऐनले दिएको अधिकार क्षेत्र भन्दा फरक काम आवश्यक भएमा त्यसमा चै अलिक बन्देज भएको महसुस भएको छ । तर यदि स्थानीय तहमा दिइएको अधिकारलाई मात्र पनि पूर्ण रूपमा काम गर्न सकेमा पनि धेरै विकास गर्न सकिन्छ । त्यस्तै प्रदेश सरकारको कुनै योजना मानेभञ्जायाङ्ग गाउँपालिकामा आयो भने, हाम्रो अनुगमन विनानै फरफरक गर्ने गरेको छ । त्यसैले समन्वय कम हुने गरेको छ । केही प्रदेशबाट आएको योजनाहरू हामीलाई जानकारी नै नदिएर सम्पन्न भएको पनि भेटेका छौँ ।
नेपालमा संघीयताको पहिलो अभ्यास पुरा हुन केही समय मात्र बाँकी छ, संघीयताको संरचनाहरूमा कस्तो सुधार गर्न पर्छ जस्तो लाग्छ ?
अबको चोटी स्थानीय तहलाई अली स्वतन्त्रता दिनुपर्ने महसुस गरेकी छु । स्थानीय तहलाई स्वस्फूर्त काम गर्ने वातावरण मिलाउन आवश्यक छ ।
पालिकाहरूले सिंहदरवार मात्रै ठड्याउने काम गर्यो भनेर आलोचना भइरहको छ, मानेभञ्जयाङमा नै यस्तै हो ?
मेरो बुझाइमा जनताले स्थानीय सरकार आएपछि धेरै राहत पाएका छन् । पालिकाले सिंहदरवार मात्रै ठड्यायो भन्नु अलि गलत हुन्छ कि जस्तो लाग्छ । किनकि भौतिक संरचना विना कुनैपनि काममा सहजता हुन सक्थेन । हो कुनै कुनै पालिकाहरुले यसको दुरुप्रयोग गरेको हुन सक्छ ।
मानेभञ्जयाङ गाउपालिकाको बजेट भौतिक संरचना निमार्णमा मात्रै केन्द्रित भयो अन्य कुरा ओझेलमा पर्याे भन्ने छ नि ?
स्थानीय तहको यो पहिलो अभ्यास थियो । त्यसैले केही अन्योलताका विच यो कार्यकाल सबैका लागि सिकाइको पाटो रह्यो । स्थानीय तहको भौतिक संरचना बाहेक हामीले, खेलकुदमा हरेक वर्ष वडाहरुलाई जिम्मा दिएर प्रतियोगिहरु आयोजना गर्ने गरेका छौ । यस्तै विभिन्न सिपमुलक तालिम पनि सञ्चालन गर्दै आएका छौ । यो बाहेक हामीले सोनेव पार्क नमुना पार्क पनि निर्माण गरेका छौ । यो बाहेक शिक्षा,स्वास्थ्य महिलाका क्षेत्रमा पनि त्यतिकै काम गरेका छौ ।
उपाध्यक्षहरूले पद मात्र पायौ तर जिम्मेवारी पाएनौ भन्छन्, यहाँले के अनुभव गर्नुभयो ?
कुनै कूनै पालिकाहरुमा यो प्रकारको व्यवहार भएको पनि सुन्नियो जो एक्दमै नराम्रो हो । जनप्रतिनिधि भएर पनि फरक पार्टीको भएकै कारण जिम्मेवारी नदिइएको सुनिएको छ । तर सबै ठाउँमा यस्तै भएको छ भन्ने पनि छैन । हाम्रो पालिकाको सन्दर्भमा हामी सबैले मिलेर काम गरेको छौँ ।
आगामी निर्वाचनमा तपाईँको तयारी के छ ?
म अझै पनि जनप्रतिनिधि भएरै काम गर्न चाहान्छु । तर अब मेरो उम्मेदवारी गाउँपालिका अध्यक्षका लागि हुने छ ।
तपाईँले आगामी निर्वाचनमा मानेभञ्जयाङको अध्यक्षमा उठ्दा मुख्य एजेण्डा केके हुन्छ ?
यो स्थानि तहको पहिलो अभ्यास भएका कारण चाहे जति काम गर्न अलि गाह्रो भयो । तर अब यो अभ्यस पछि, काम गर्न धेरै सहज हुने छ । अब म मानेभञ्जयाङमा कृषि, शिक्षा, स्वास्थ्य र रोजगारमा विशेष ध्यान दिने छु ।
(हामी स्थानीय चुनावलाई केन्द्रमा राखेर दैनिक रूपमा नेपालभर रहेका पालिकाका व्यक्तिसँग उनीहरूले गरेको कामको सूचना, उनीहरूको असन्तुष्टि, उनीहरूको मागलाई तपाईँहरूसामु सम्पे्रषण गर्नेछौँ)



















प्रतिक्रिया