Logo

अन्तर्राष्ट्रिय

युक्रेनमा भएको संकट चीनको लागि चुनौती हो ?



चीन र रुसबीचको कूटनीतिक सम्बन्ध अहिले इतिहासकै सबैभन्दा निकट बिन्दुमा रहेको छ । हालै सम्पन्न बेइजिङ विन्टर ओलम्पिक्समा पनि यो स्पष्ट देखिएको थियो जहाँ उपस्थिति जनाउने पुटिन विश्वकै एक मात्र राष्ट्रप्रमुख थिए । 

र अर्को कुरा उल्लेखनीय रुपमा पुटिनले ओलम्पिक्स नसकिँदासम्म युद्धका लागि पर्खिरहेको जस्तो देखिन्छ । खेल सम्पन्न भएपछि मात्र उनले युक्रेनमा आक्रमण सुरु गरेका हुन् । सार्वजानिक रुपमा चीन सरकारले सबै पक्षलाई युक्रेनको तनाव कम गर्न आग्रह गर्दै आएपनि अहिले हमला सुरु भइसकेपछि भने चीन कुन पक्षमा छ भन्न सकिने अवस्था छैन । 

चीन सरकार प्रत्यक्ष रुपमा युरोपमा युद्धको समर्थन गरिरहेको देखा पर्न चाहँदैन तर अर्कोतर्फ मस्कोसँग मिलेर सैन्य शक्ति र रणनीतिक सम्बन्ध कायम राख्न चाहन्छ । 

युक्रेनको नम्बर एक व्यापारिक पार्टनर चीन भएकाले पनि युक्रेनसँग राम्रो सम्बन्ध बनाइराख्नु बेइजिङका लागि महत्वपूर्ण छ ।

तर, यो नीति अपनाउन अहिले चीनलाई अत्यन्तै कठिन रहेको देखिन्छ किनकी चीन सरकार स्पष्ट रुपमा रुससँग नजिक छ जसले युक्रेनी भूभागमा ठूलो स्तरको युद्ध सुरु गरिसकेको छ । 

त्यसैगरी, अर्कोतर्फ चीनले रुसी आक्रामकताको पक्ष लिएको आभास भएमा पश्चिम युरोपले पनि चीनसँगको व्यापारिक सम्बन्ध अन्त्य गर्न सक्ने खतरा बढ्छ । 

पहिलोपटक चीनको विदेश नीतिमा परिवर्तन आउन सक्ने ?

सबै किसिमका अन्तर्राष्ट्रिय घटनाहरुमा चीन सरकारले अर्काको आन्तरिक मामिला भन्दै आफूले दखल नदिने र अरुलाई पनि हस्तक्षेप नगर्न पहल गर्दै आएको छ । वरिष्ठ कूटनीतिज्ञ लिउ श्याओमिङले यसअघि ट्वीट गर्दै लेखेका थिए, “चीन कहिल्यै पनि अरु देशमाथि कब्जा जमाउन या युद्ध भड्किने गतिविधिमा संलग्न भएको छैन । चीन सदैव शान्तिको पथमै समर्पित छ ।”

तर यसको विपरित गत हप्ता मात्र आश्चर्यजनक कदममा चीनले युक्रेनमाथि हमला सम्बन्धी संयुक्त राष्ट्र संघको सुरक्षा परिषदमा रुस विरुद्ध मत नहाल्ने र चुपचाप रहने निर्णय गर्यो । 

विश्वविद्हरुले बेइजिङ पनि रुससँग मिलेर युक्रेन कब्जा विरोधी पहलको विपक्षमा रहने अपेक्षा गरेका थिए तर सो कदम पश्चिमा मुलुकका नजरमा घातक हुन सक्थ्यो । त्यसैले पनि बेइजिङले फेरि एकपटक आफू यो मामिलाबाट बाहिरै बस्ने संकेत दिएको छ । 

यसअघि चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले युक्रेनमा भइरहेको गतिविधिलाई ‘आक्रमण’ भन्न अस्वीकार गरेका छन् । त्यसैले पनि रुसी हमलाको विरोध गर्नबाट चीन अझै धेरै टाढा छ ।  

यसबारेमा अपुष्ट रिपोर्टहरु पनि बाहिरिएको छ जसमा बेइजिङलाई यो सबका बारेमा पहिले नै थाहा भएर पनि जानीजानी नजरअन्दाज गर्ने निर्णय गरेको बताइएको छ । 

न्युयोर्क टाइम्सको रिर्पोट अनुसार अमेरिकी अधिकारीहरुले पछिल्ला केही महिनादेखि नै बेइजिङलाई यस मामिलामा हस्तक्षेप गर्न र रुसलाई युक्रेन कब्जा नगर्न भन्न बारम्बार आग्रह गरिरहेको थियो । 

तर पछि गएर बेइजिङले उल्टै यो खबर मस्कोलाई सुनाएको र अमेरिकाले रुसको योजनामा बाधा पुर्याउन खोजिरहेको भन्ने आरोप लगाएको रिपोर्टमा उल्लेख छ । 

ताइवानसँग जोडिने चिन्ता 

त्यसैले पनि अहिले चिनियाँ कम्युनिस्ट पार्टीका लागि एउटै मात्र चिन्ता भनेको युक्रेनसँगको यो घटनाले यसका आफ्नै जनता र तिनको वैश्विक धारणामा केकस्तो प्रभाव पार्ला भन्ने रहेको छ । 

जसकारण चीनले युक्रेनको स्थितिबारे सामाजिक संजाल र प्रेसमा हुने कुराकानी र जानकारीहरुमा कडा निगरानी गरिरहेको छ । किनकी यसमा ताइवानलाई मिसाउन धेरै समय लाग्दैन भन्ने उनीहरुले बुझिसकेका थिए । कम्युनिस्ट सरकारले ताइवानलाई आफ्नै एक प्रान्त मान्ने गरेको छ र जसरी पनि यसलाई केन्द्रिय सरकारसँग एकिकृत गराउन जरुरी रहेको ठान्दछ । 

अहिले चिनियाँ संजाल वेइबोमा राष्ट्रियवादीहरुले युक्रेनमा रुसको कब्जालाई हेर्दै चीनले पनि त्यही बाटो अपनाइ ताइवानलाई फिर्ता लिन भनिरहेको कुरा मात्र जताततै देख्न सकिन्छ । एक प्रयोगकर्ताले लेखेका छन्, “ताइवानलाई फिर्ता लिने यही सबैभन्दा उत्तम मौका हो । ”

तर यसअघि चीन सरकारले विश्वका अन्य सबै मुलुक जसरी रुसमाथि प्रतिबन्ध जारी गर्न अस्वीकार गर्दैगर्दा ताइवानलाई जोड जबरजस्ती कब्जा गर्न खोजेमा आफ्नो पनि त्यही हालत हुनेछ भन्ने आभास गरिसकेको छ । यो भनेको चीनका लागि अत्यन्तै महङ्गो पर्नेछ । 

विदेश मन्त्रालयका प्रवक्ता ह्वा छुनयिङले बेइजिङको प्रेस सम्मेलनमा बोल्दै प्रतिबन्ध लगाउनु समस्या समाधानको सबैभन्दा उचित तरिका हो भन्नेमा चीनले कहिल्यै विश्वास नगर्ने बताएका छन् । 

यसैगरी चीनका लागि यो भन्दा अर्को अत्यन्तै महत्वपूर्ण मुद्दा भनेको केही गरि यदि तिब्बती या उइगरहरुले स्वतन्त्रता खोजे भने के गर्ने भन्ने रहेको छ । शि जिनपिङको प्रशासन कुनैपनि हालतमा यस्तो हुन दिन चाहँदैन चाहे यसका लागि आफू रुसको विपक्षमा किन खडा हुनु नपरोस् । 

यसकारण पनि पूर्वी युक्रेनमा पुटिनको कदमबारे जनताको धारणा केकस्तो हुनुपर्छ भन्नेमा चीनले एकदमै ध्यान दिइरहेको छ । त्यहाँको राष्ट्रिय प्रेसले वेइबोमा आफ्नै अकाउन्ट खोलेर रुस र युक्रेन सम्बन्धी पोस्टहरुमा सर्वसाधारणको प्रतिक्रिया नियन्त्रण गरिरहेको छ । 

यसैकारण त्यहाँ यस्ता कमेन्ट मात्र देखा पर्दछन्, ‘पुटिन महान् छन् ’ , ‘म रुसको समर्थनमा छु र अमेरिकाको विरुद्धमा मलाई त्यति मात्र भन्न मन छ ’ , ‘अमेरिका सधैँ विश्वमा समस्या मात्र ल्याउन चाहन्छ’ । 

तर अनलाइनमा सबै यसरी युक्रेनका आलोचक मात्र पनि छैनन् । जस्तै यसअघि पाँच चिनियाँ ‘एकेडेमिक्स’ हरुले रुसका कदमको निन्दा गर्दै खुला पत्र लेखेका थिए । त्यसमा लेखिएको थियो, “यो आक्रमण नै हो । चिनियाँ भनाइ अनुसार मृगलाई घोडा भन्दैमा त्यो घोडा हुँदैन ।” तर यो पत्र पोस्ट भएको केही समयमै चिनियाँ इन्टरनेट सेन्सरले हटाइदियो । यसकारण पनि युक्रेन संकट चीनका लागि वास्तवमै अधिक चुनौतिमय बनेको छ । 

यतिबेला चीनका कति मान्छे शान्ति चाहन्छन् र त्यस्ता रुस विरोधी कतिवटा पोस्ट हटाइएका होलान् भन्न कठिन छ । तर स्पष्ट रुपमा अमेरिकाको आलोचना गरिएका पोस्टहरुको चाहिँ व्यापक प्रचार भइरहेको छ । 

यति हुँदाहुँदै पनि कतिपय प्रयोगकर्ताले सेन्सर छल्दै आफ्नो आवाज राख्न सफल भइरहेको पनि देखिएको छ । जस्तै एकजनाले लेखेका छन्, “किन यति धेरै मानिसहरु रुस र पुटिनको पक्षमा छन् भन्ने मैले बुझ्नै सकिरहेको छैन । अर्को देशमा हमला गर्नु कसरी न्यायिक हुन सक्छ । युद्ध जस्तो किसिमको भएपनि हामी सधैँ यसको विरुद्धमै रहनुपर्छ । ”

त्यस्तै अर्का एकजनाले लेखेका छन्, “पुटिनले युक्रेनका स्वतन्त्र क्षेत्रलाई पहिचान गरेका थिए जसको अर्थ उनले अवस्य पनि अर्को देशको आन्तरिक मामिलामा दखल दिइरहेका छन् । ” 

वास्तवमा यो दोस्रो किसमको प्रतिक्रियासँग चीन सबैभन्दा बढी चिन्तित छ । किनकी अहिलेसम्म पनि चीन सरकारले अरु देशको आन्तरिक कुरामा हस्तक्षेप नगर्ने भन्ने नीतिमा चल्दै आएको छ । तर अचानक यसबाट पछि हट्यो भने चिनियाँ जनताले पक्कै पनि प्रश्न उठाउन सक्छन् । 

यसरी जिनपिङले आगामी दिनहरुमा । चिनियाँ जनताले यो घटनालाई कस्तो रुपमा लिनेछन् भन्ने निर्धारण गर्न धेरै ठूला छनोट गर्नुपर्ने हुन्छ । 

प्रकाशित मिति : १७ फाल्गुन २०७८, मंगलवार १०:३५   :  बजे

42
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।