Logo

प्रमुख समाचार

घरघरमा  धारा



घरघरमा धारा पुगेपछि चितवनको इच्छाकामना गाउँपालिका– ६, ढङ्ग्रेका बासिन्दा खुसी भएका छन् । पुस्तौँदेखि खानेपानी जोहो गर्न घण्टौँ टाढा पुग्नुपर्ने सो गाउँका बासिन्दा घरघरमा धारा पुगेपछि खुसी भएका हुन् । 

ढङ्ग्रेगाउँ र आसपासका गाउँका बासिन्दाले पुस्तौँदेखि खानीपानीको समस्या झेल्दै आएका थिए । श्री माध्यमिक विद्यालय ढुङ्ग्रेका प्रधानाध्यापकसमेत रहेका स्थानीय विश्वनाथ गुरुङले पुस्तौँदेखि खानेपानीको समस्या हल भएकोमा स्थानीय सरकारलाई धन्यावाद दिए । 

पुस्तौँदेखी घण्टौं लगाएर कुवाबाट पानी भरेर उपभोग गरिरहेको यहाँको बासिन्दाले स्थानीय सरकार आएसगैँ घरघरमा धारा आउँदा आफूहरू खुसी भएको बताएका छन्  । उनका अनुसार यसअघि यहाँ प्रत्येक घरका एक जनाको काम नै दिनभर पानी जोहो  गर्नमा  लाग्नुपर्ने  अवस्था रहेका  थिए ।  

उनले भने, ‘एक गाग्री पानी लिन घण्टौँ लगाएर धाउनुपर्ने बाध्यता हटेको छ, एक जनाको काम नै बिहान ४ बजेदेखि दिनभर पानीको जोह गर्नुपर्ने हुन्थ्यो । पानीको धारा घर–घरमा आँगनमै आएपछि गाउँलेले सुखको अनुभूति गरेको गरेको छ ।’ वर्षौंदेखिको आफूहरूले पहल गरिरहे पनि स्थानीय सरकार आएसँगै पूरा भएको उनको  भनाइ छ ।  

गाउँमा खानेपानीको अभाव हटेपछि समयको बचत हुँदा मेलापात घरधन्दा गर्नसमेत सजिलो हुन थालेको स्थानीयवासीको भनाइ छ । आयोजना उपभोक्ता समितिका अध्यक्ष डिलकुमार गुरुङका अनुसार ढुङ्ग्रे तुन्तेष खानेपानी तथा सरसफाइ आयोजनाअन्तर्गत ८० घरधुरी रहेका छन् । सो आयोजनाबाट ५१६ जना जनसङ्ख्या लाभान्वित भएका छन् ।

सो आयोजना ८९ लाख ८२ हजार २९६ लागतमा सम्पन्न भएको उनले  बताए । गाउँपालिकाको ७८ लाख ६४ हजार स्थानीय उपभोक्ताबाट ११ लाख १८ हजार २९६ बराबरको श्रमदानमा सम्पन्न भएको हो ।

उक्त आयोजनामा वाइनटुवाटर नेपालको प्राविधिक सहयोग  रहेको छ । गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङले स्थानीय सरकारले एकघर एक धारा अभियानलाई तीव्र  पारिएको  बताइन् । गतवर्ष मात्र मोटरबाटो  पुगेको सो गाउँमा घरघरमा पानीको धारा पुगेपछि व्यवसायी तरकारी खेती गर्न समेत स्थानीयवासीलाई सहज भएको अध्यक्ष गुरुङको भनाइ छ ।

गाउँगाउँमा मोटरबाटो र पानी धारा पुगेसगैँ  व्यवसायी खेतीतर्फ स्थानीयवासीालाई आकर्षित गर्न कृषि तालिमका साथै अनुदानका कार्यक्रमसमेत सञ्चालनसमेत गरिरहेको उनको भनाइ छ । जिल्लाको एक मात्र गाउँपालिका  इच्छाकामना विशेष गरी तरकारी तथा  फलफुलखेतीका लागि उर्वर भूमि मानिन्छ ।   

प्रकाशित मिति : १९ फाल्गुन २०७८, बिहीबार १६:२२   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।