Logo

अनशनको १९औं दिन : डा. केसीको शरीर शिथिल बन्दै, अडान यथावत्



जिल्ला अस्पताल डडेलधुराकी कार्यालय सहयोगी कमला ढाटलाई यतिबेला अनशनरत डा। गोविन्द केसीलाई केही पो भइहाल्छ कि भन्ने चिन्ताले मन खिन्न बनाएको छ । गत वर्ष कात्तिकमा डडेलधुरा पुगेका ड.। केसी अस्पतालबाट ५ मिनेटको दूरीमा रहेको कमलाकै घरमा सञ्चालित सगरमाथा होटलको एउटा कोठामा दुई महिनाभन्दा धेरै बसेका थिए ।

त्यसपछि केही दिनका लागि दार्चुला गएर फर्किन्छु भनेर उनी त्यहाँबाट हिँडेका थिए । जाने बेला उनले लौरो र एउटा झोला राखिदिनुहोला भनेर छाडेका थिए ।

सात वर्षदेखि पक्षाघातले थलिएका कमलाका श्रीमान् चन्द्रबहादुरलाई राम्ररी बस्नुस् है भनेर बिदा मागेका थिए । कमलाले टेलिफोनमा सुनाइन्, ‘डाक्टर सापलाई केही हुन्छ कि भनेर डर लाग्छ । सरकारले त्यति राम्रो मान्छेको कुरै सुन्दैन । पीर लाग्छ ।’

डडेलधुरा बसाइमा डा. केसी साधारण जीवनशैली र दिनरात नभनी निःशुल्क काम गर्ने स्वभावका कारण सामान्य जनताका निम्ति प्रिय थिए । कमलाका अनुसार उनी बिहान एक गिलास दूध पिएर ८ नबज्दै अस्पताल पुग्थे । दिनभर काम गर्थे । दिउँसो १ बजेतिर होटल फर्केर कहिले दालमोठ र एक थर्मस मनतातो पानी खान्थे, कहिले जुस र पानी खाएर फर्किन्थे । कमलाले सुनाइन्, ‘राति ८–९ बजेतिर फर्केर चारवटा रोटी र अलिकति तरकारी मात्रै खानुहुन्थ्यो ।’

कमलाले ०७३ सालमा श्रीमानको उपचार गर्न महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल पुगेका बेला डा. केसीलाई पहिलो पटक भेटेकी थिइन् । राजधानीको ठूलो अस्पतालमा काम गर्ने डाक्टरको सादगी देखेर छक्कै लागेको उनले सुनाइन् । ‘आफ्नै पैसाले मात्रै खाने । जे दिए पनि मीठो छ भन्ने । नुन–खुर्सानीसँग मात्रै रोटी दिए पनि खुसी भएर खाने,’ कमलाले भनिन् ।

डडेलधुराबाट डा.केसी दार्चुला लागे । सुदूरपश्चिम र कर्णालीका विभिन्न जिल्ला घुम्दै जुम्लामा अनशन बसे र त्यतैबाट अनशन जारी गर्दै असोज ६ गते काठमाडौं फर्के ।

त्यसपछि उनी सुदूरपश्चिम र कर्णाली प्रदेशका दुर्गम जिल्लामा सर्वसाधारणको उपचारमा खटिए । सहयोगीहरूका अनुसार जहाँ जाँदा पनि उनी सार्वजनिक यातायात चढ्ने गर्छन् ।

डडेलधुरास्थित कमलाको होटलबाट बिदा भएर निस्केपछि डा.केसीले डोटी, बैतडी, अछाम, दार्चुला, बझाङ, बाजुरा, हुम्ला, कालीकोट, मुगु, डोल्पा हुँदै जुम्लामा पुगेर सर्वसाधारणको निःशुल्क स्वास्थ्य उपचार गरेका थिए । सुदूरपश्चिम र कर्णाली प्रदेशका विभिन्न जिल्ला घुम्दा डा। केसीलाई सरकारी आदेशमा अपमान मात्रै गरिएन, उनलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्न ठाउँ–ठाउँमा अवरोध गरिएको थियो । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

प्रकाशित मिति : १७ आश्विन २०७७, शनिबार  ८ : १५ बजे