नेपालको राजनीति पछिल्लो समय अति नै विकृत बनिरहेको छ । यतिसम्म विकृत हो कि आफूलाई लोकतन्त्र र गणतन्त्रका मतियार ठान्ने पार्टी प्रमुखहरु आफ्नो पद जोगाउनका लागि राष्ट्रियतामाथि नै गद्दारी गर्न पनि पछि परेका छैनन् । यसको ज्वलन्त उदाहरण केपी शर्मा ओलीको सिफारिसमा विद्यादेवी भण्डारीले जारी गरेको नागरिकतासम्बन्धी अध्यादेश हो ।
पार्टीका नेताहरुलाई परिचालन गर्न भारतीयहरुको नाङ्गो हस्तक्षेप छ भन्ने आम बुझाइलाई प्रमाणित गर्दै विदेशीहररुलाई नेपाली नागरिकता दिलाएर नेपाललाई ‘फिजिकरण’ र ‘सिक्किमिकरण’ गराउने भारतीय शासकका गोटी बनेको स्पष्ट देखिएको छ । यिनीहरुले नै आन्दोलनको बलबाट ल्याएको भनिएको प्रतिनिधिसभा ‘विघटन र पुनर्स्थापना’को मनोदसाको सिकार बनेको छ । यस खेलमा समेत भारतको हात रहेको घाम जस्तै छर्लङ छ ।
मध्यरातमा प्रतिनिधिसभा भंग हुनु र ओलीसँग सौदाबाजीमा गरिरहेको समूह जसपाका नेता उज्यालो नहुँदै भारतीय दूतावास पुग्नु, त्यसको केही बेरमा उक्त समूह पनि सत्ता सहकार्य गर्न तयार हुनु र उनीहरुले बार्गेनिङको विषय बनाइ रहेको नागरिकता विधेयक अध्यादेशमार्फत अउनुलाई संयोग मात्र मान्न सकिँदैन । त्यसै पनि यिनीहरुले ल्याएको व्यवस्थामा नागरिकता ऐन २०६३ बमोजिम भन्दै नागरिकता बाँडिदा ४० लाख भारतीयले नेपाली नागरिकता लिएको चर्चा अझै सेलाएको छैन । यो कुरालाई अस्वीकार गरे पनि अहिले सत्तासिनहरुका गतिविधिले थप स्पष्ट पारिरहेको छ ।
कुनै समय सार्वजनिक कार्यक्रममा नै नागरिकतासम्बन्धी हाल जारी गरिएको अध्यादेश (विधेयक) कुनै पनि हालतमा पास हुन नदिने डंका पिट्ने प्रधानमन्त्री केपी शर्मा ओलीले हाल सत्ता जोगाउनका लागि संसद्को हत्या गरेर अध्यादेश जारी गर्न लगाए । भारतीय मतदाता बढाएर तराईको जनमत भारततिर देखाउने भारतीय शासकको चाहना पूरा गर्न ओलीले विदेशी नागरिकलाई सजिलै नेपाली नागरिकता दिलाउने विधेयक ल्याएका छन् । अर्को पक्षलाई नांगो गोरु देखेर मलाई लाज लाग्दैन भन्ने ओलीको यस कदमलाई उनलाई नै नांगो बनाएको छ ।
देशमा जनता रोग र भोकले मरिरहेका बेला भइरहेका राष्ट्रहित विपरीतका कार्यहरुविरुद्ध जनता एकमत भएर आलोचना गरिरहेका छन् । राजतन्त्र हुँदा मुलुकमा विदेशीहरुको अह्राएको मान्न नसक्ने स्थितिपछि राजाले सत्ता नछोड्दासम्म अशान्ति मच्चाए । देशमा नियम कानुन बनाउने बहानामा विदेशी भारी नेपालीलाई बोकाए । विदेशीको इशारामा नेपाली जनताको मत विपरित ल्याइएको स्वार्थका कानुन पनि आफ्नै स्वार्थमा छलिरहेका छन् ।
आज के प्रतिज्ञा गर्छन् अनि भोलि के कदम चाल्छन् भन्ने स्वयं ‘ओलीहरु’ नै अनविज्ञ छन् । आफ्ना लागि आफैंले बनाएको नियम आफैंले छलेर अध्यादेशमार्फत राष्ट्रघात गर्न तयार ओली मुलुकलाई आगमी दिनमा कुन अध्याँरो सुरुङमा लगेर छोड्ने हुन्, सहजै अनुमान लगाउन सकिन्छ ।
नेपाली जनताले यतिबेला थप भारतीयलाई नागरिकता दिने होइन भएका पनि खोस्नुपर्ने आवाज उठाइरहेका छन् । तर नेपाली जनताको भावना र मर्मविपरित सत्तासिनहरु अझै नागरिकता बेचेर आफ्नो देशका नागरिकको मर्ममाथि प्रहार गर्न खोजिरहेका छन् । अहिले सामाजिक सञ्जालमा अभिव्यक्त भावना मात्र हेर्ने हो भने ओलीतन्त्रका असंवैधानिक र राष्ट्रहित विपरीतका कदमहरुलाई उनहरुका झोले कार्यकर्ताबाहेक कसैले पनि साथ दिएका छैनन् ।
आफ्नो राष्ट्र र राष्ट्रियतामाथि धावा बोल्ने यिनीहरुका यस्ता हर्कत नरोक्ने हो भने अहिले सामाजिक सञ्जाल पोखिएका आक्रोशहरु आवाजहरु यिनीहरुका विरुद्ध भौतिक रुपमा उत्रिन बेर लाग्ने छैन । हुन त यिनीहरु भौतिक शरीर मात्र हुन् । यिनीहरुका अंग-अंगको परिचालन सीमा पारिबाट हुन्छ । यिनीहरुका चाहनाले त न प्रजातन्त्र, लोकतन्त्र र न गणतन्त्र नै आएको हो । नेपालको इतिहासले यिनीहरुलाई धिक्कार्नेछ । कलंकित पात्रको रुपमा यिनीहरुको नाम लेखिनेछ ।















प्रतिक्रिया