Logo

काेराेनका कारण सङ्कटमा मिर्गौला रोगी



कोरोना भाइरस (कोभिड–१९) ले मिर्गाैला रोगका बिरामी सबैभन्दा बढी प्रभावित भएका छन् । कोरोनाका कारण सरकारले लामो समयसम्म गरेको बन्दाबन्दी तथा निषेधाज्ञामा मिर्गाैला रोग लागेका बिरामी र उनीहरूका परिवार प्रभावित बन्न पुगेका छन् । बन्दाबन्दी तथा निषेधाज्ञा खुुले पनि मिर्गौला रोगीलाई अस्पतालसम्म पुुग्न अहिले निकै कठिन भएको छ ।

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. प्रेमराज ज्ञवालीले मिर्गाैला ‘फेल’ भई डाइलासिस गराइरहेका व्यक्ति आर्थिक लगायत अन्य समस्यामा त थिए नै कोरानाका कारण झन् समस्या रहेको जानकारी दिनुभयो । उहाँले धर्मभक्त प्रत्यारोपण केन्द्र देशकै एक मात्र प्रत्यारोपण केन्द्र भएकाले चार सिफ्टमा डाइलासिस गरिरहेको जानकारी दिनुभयो । उहाँले बन्दाबन्दीको बीचमा ९० देखि सय जनाको मिर्गौला डाइलासिस भइरहेको बताउनुभयो ।

श्रीमान् मिर्गाैला रोगी भए श्रीमती र श्रीमती रोगी भए श्रीमान्ले कमाएर उसको उपचार र अन्य खर्च जोहो गर्न नसक्दा धेरै बिरामीलाई समस्या भएको छ ।

बन्दाबन्दीले धेरैको रोजगार गुम्दा मिर्गाैला डाइलासिस गराइरहने बिरामी र प्रत्यारोपणको पर्खाइमा रहेका बिरामी तथा प्रत्यारोपण गराइसकेका व्यक्ति त्यसको शिकार बन्न पुगेका छन् । भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय मिर्गौला प्रत्यारोपण केन्द्रमा मिर्गौला डाइलासिस गर्दै आउनुभएका सिन्धुपाल्चोकका मिलन श्रेष्ठको अवस्था अहिले धेरै नाजुक छ । छ वर्षअघि मिर्गौला फेल भएपछि उहाँको नियमित डाइलासिस गराउन थालिएको थियो । उहाँकी श्रीमती मुना राईले कनिकुथी गरेर डाइलासिस गर्दा लाग्ने खर्च तथा घरमा खानेकुराको व्यवस्था गर्नुहुन्थ्यो ।

तर कोरोनाको कारण उहाँले अहिले रोजगारी गुमाउनुपरेको छ । उहाँ भक्तपुरको एक कारखानामा गलैँचा बुन्ने काम गर्नुहुन्थ्यो । नियमित काम गर्दा १५ हजार रुपियाँ आउने गर्दथ्यो । त्यहीले गुजारा र श्रीमान्को डाइलासिसमा लाग्ने खर्च धान्दै आउनुभएकी राईलाई अहिले त्यो खर्च धान्न धेरै मुस्किल परिरहेको छ । याे खबर गाेरखापत्र दैनिकमा छ ।

प्रकाशित मिति : आश्विन १८, २०७७ आईतबार  ८ : २० बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।