नाफा वृद्धिमा ‘डबल सेन्चुरी’ नजिकको प्रगति हाँसिल गरेको सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले वार्षिक १० दशमलव ५० प्रतिशत ब्याजदरमा सेञ्चुरी डिबेञ्चर निष्कासन गर्ने भएको छ । यसले लगानीकर्ताहरुमा खुसी छाएको छ ।
बैंकले १० वर्षे अवधि रहेको २ अर्ब २० करोड बराबरको सेञ्चुरी डिबेञ्चर २०८८ निष्काशन गर्न लागेको हो । डिबेन्चरको कुल रकम २ अर्ब २० करोड मध्ये ४० प्रतिशतले हुन आउने ८८ करोड सर्वसाधारण (सामूहिक लगानी कोष समेत) का लागि र ६० प्रतिशतले हुन आउने रु १ अर्ब ३२ करोड (संस्थागत) प्राइभेट प्लेसमेन्टका लागि छुट्याइएको छ । बैंकले आगामी साताभित्र आव्हानपत्र निष्कासन गरी बैशाखको तेस्रो हप्ता आवेदन खुल्ने जनाएको छ ।
आवेदन खुल्ला भए पश्चात छिटोमा ४ दिनभित्र तथा ढिलोमा १५ दिनका लागि मात्र आवेदन गर्न सकिने बैंकको भनाई छ । प्रतिकित्ता डिबेन्चरको अंकितमूल्य रु. १ हजार रहेको छ । लगानीकर्ताले न्यूनतम २५ कित्ता तथा अधिकतम ५ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् । दशवर्ष अवधिमा निरन्तर साढे १० प्रतिशतको उच्च प्रतिफल प्राप्त गर्न सकिने भएकोले यो उच्च प्रतिफलको लागि राम्रो देखिन्छ । साथै यो डिबेञ्चर धितो राखी बैंक तथा वित्तीय संस्थाहरुबाट ऋण सापटी लिन पनि सहज हुनेछ ।
नेपाल धितोपत्र बोर्डबाट बैंकले २०७८ चैत्र २९ गते डिबेञ्चर निष्काशनका लागि स्वीकृति प्राप्त गरेको थियो । सेञ्चुरी डिबेन्चर २०८८ को निष्काशन तथा विक्री प्रबन्धक ग्लोबल आएमई क्यापिटल रहेको छ ।
सेञ्चुरी बैंक हालै नाफामा अर्वपति क्लबमा प्रवेश गरेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म सेञ्चुुरीको खुद नाफा १सय ८३ दशमलव ५९ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको सोही अवधिमा ३५ करोड ८१ लाख ५० हजार रुपैयाँ खुद नाफा गरेको सेञ्चुरी बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म १ अर्ब १ करोड ५६ लाख ८३ हजार रुपैयाँ खुद नाफा गरेको हो ।
त्यस हिसावले पनि सेञ्चुरीको डिबेञ्चर किन्न सर्वसाधारणको आकर्षण बढ्ने देखिन्छ । पछिल्लो समय वाणिज्य बैंकहरूले जारी गरेको डिबेञ्चरमध्ये लगानीकर्ताहरुका लागि पनि यो डिबेञ्चरलाई उत्कृष्ट मान्न सकिन्छ । वाणिज्य बैंकहरूको मुद्दती निक्षेपको ब्याज तलमाथि हुनसक्ने तर सेञ्चुरीको डिबेञ्चरमा लगानी गर्दा प्रतिफल दर १० वर्षसम्म साढे १० प्रतिशत नै रहने हुँदा लगानी सुरक्षित बन्ने देखिएको छ । सेञ्चुरीको यो ऋणपत्र मेरो शेयरमा गएर आइपीओ भरेजस्तै गरी भर्न सकिने छ ।
प्रतिक्रिया