Logo

अर्थ

पर्शुराम अर्याल जम्मा पाँच हजार खर्चमा वडा अध्यक्षको चुनाव लड्दै



भरतपुर । स्वतन्त्रतर्फबाट वडा अध्यक्षमा उमेदवारी दिएका गुञ्जनगरका ३५ वर्षीय पर्शुराम अर्यालले अनिवार्यबाहेकमा चुनाव खर्च नगर्ने बताएका छन् । जनप्रतिनिधि बन्नको लागि शिक्षण पेसा छाडेर आएका अर्यालले वडा अध्यक्ष पदमा आफूलाई जिताउन भन्दै जम्मा पाँच हजार खर्च गर्ने प्रतिवद्धता जनाए ।

‘खर्च गर्नै पर्ने ठाउँ उमेदवारी दर्तामा एक हजार, पर्चा छपाइमा तीन हजार र फ्लेक्समा एक हजार गरी जम्मा पाँच हजार रूपैयाँभन्दा बढी खर्च हुँदैन,’ उनले भने। अन्य उमेदवारहरूले ठूलो धनराशि नै खर्च गरेर मतदाता रिझाउने प्रयास गरिरहँदा भरतपुर–१८ को अध्यक्षका उमेदवार बनेका अर्याल भने आफ्नो योजनाकै आधारमा मतदाताले आफूलाई जिताउने दाबी गर्छन् ।

‘वडामा रहेका १२ वटा टोललाई गाभेर ६ वटा बनाउने र घरेलु तथा साना उद्योग सञ्चालन गर्ने, रासायनिक मलको कारखाना स्थापनाको लागि अध्ययन गर्ने र किसानलाई निःशुल्क तालिम, मल र बीउको व्यवस्था गर्ने, विपन्न विद्यार्थीलाई निःशुल्क इन्टरनेट (वाइफाइ)को व्यवस्था गर्ने मेरा चुनावी एजेण्डा हुन्,’ उनले भने, ‘यिनै एजेण्डाको आधारमा म चुनाव जित्छु भन्ने लागेको छ ।’

आफ्नो वडामा कुनै पनि परिवर्तन नभएपछि बाध्य भएर उमेदवारी दिनुपरेको उनले बताए। ‘स्थानीय सरकार आएको पाँच वर्ष बितिसक्दासम्म पनि हाम्रो वडामा कुनै परिवर्तन देख्न पाएनौँ,’ उनले भने, ‘त्यसैले मैले स्वतन्त्रतर्फबाट वडाअध्यक्ष पदमा उमेदवारी दर्ता गराएको हुँ ।’

कानुनमा एलएलवी (स्नातक) र अंग्रेजीमा स्नातकोत्तर गरेका उनी यसअघि पार्वतीपुरस्थित अन्नपूर्ण कलेज, हिमालय बोर्डिङ, एपेक्स एकेडेमीलगायतमा अध्यापन गर्थे। अब वडामा जनप्रतिनिधि भएर जनताको सेवा गर्ने बाटो परिवर्तन गर्ने योजनासहित उमेदवारी दिएको उनले बताए ।

प्रकाशित मिति : १३ बैशाख २०७९, मंगलवार २०:०२   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।