बैतेश्वर गाउँपालिकाको उपाध्यक्षमा बागी उम्मेदवारी दिएका नेपाली कांग्रेस दोलखा जिल्लाका पूर्वउपसभापति छबी लामा नेकपा एमालेमा प्रवेश गरेका छन् । कांग्रेसबाट गाउँपालिका अध्यक्षको टिकटका दाबेदार लामाले अन्तिममा टिकट नपाएपछि उपाध्यक्षमा उम्मेदवारी दिएका थिए ।
एमालेले उनको स्वतन्त्र उम्मेदवारीलाई समर्थन जनाउँदै पार्टीबाट उम्मेदवारी दिएकी नविना लामालाई फिर्ता बोलाएको छ । एमाले दोलखा जिल्ला उपाध्यक्ष राजेन्द्र मानन्धरले कांग्रेस नेता लामा एमाले प्रवेश गरेपछि उनलाई एमालेले उपाध्यक्षमा सहयोग गर्ने र एमाले उम्मेदवारले मनोनयन फिर्ता लिने सहमति भएको बताए ।
लामालाई एमाले पोलिटब्यूरो सदस्य पार्वत गुरुङ, जिल्ला अध्यक्ष नरबहादुर श्रेष्ठलगायतले पार्टीमा स्वागत गर्दै एमालेको आधिकारिक उपाध्यक्ष उम्मेदवार घोषणा गरेका हुन् ।
उता तुलसीपुर उपमहानगरपालिका–८ नम्बर वडाको अध्यक्ष पदमा नेपाली कांग्रेसबाट बागी उम्मेदवार हालेका जित बहादुर खड्काले एमालेका धर्मराज वलीलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएका छन् ।
वडामा एमालेको तर्फबाट धर्मराज वलीले वडा अध्यक्षमा उम्मेदवारी दिएका थिए । निर्वाचन कार्यतालिका अनुसार उम्मेदवारको नाम फिर्ता लिने समय शुक्रबार सम्म तोकिएको थियो ।
सोही कार्य तालिका अनुसार कांग्रेसबाट बागी उम्मेदवार खड्काले वलीलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएको बताए । स्थानीय तहको निर्वाचनमा भाग लिने उम्मेदवारहरुले बैशाख ११ र १२ गते मनोनय दर्ता गराएका थिए ।





















प्रतिक्रिया