कर्मचारीमा कोरोना सङ्क्रमण देखिएसँगै वैदेशिक रोजगार कार्यालय, काठमाडौँबाट बन्द गरिएको श्रम स्वीकृति आजदेखि फेरि सुरू हुने भएको छ ।
प्रवेशाज्ञाको अवधि सकिन लागेका तथा तत्काल गन्तव्य मुलुकमा पुग्न नसकी बेरोजगारी गुम्ने जोखिम भएका सेवाग्राहीको समस्यालाई ध्यानमा राखी सावधानीपूर्वक सीमित सेवा प्रदान गर्न लागिएको वैदेशिक रोजगार विभागले जनाएको छ ।
कार्यालयका एक कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि वैदेशिक रोजगार कार्यालयबाट प्रदान गरिने सम्पूर्ण सेवा गत बुधबारदेखि बन्द गरिएको थियो ।
यसैबीच वैदेशिक रोजगार बोर्ड सचिवालयबाट प्रदान गरिने आर्थिक सहायता अर्को सूचना नभएसम्मका लागि बन्द गरिएको छ ।बोर्ड सचिवालयमा कार्यरत कर्मचारीलाई कोभिड–१९ सङ्क्रमण भएकाले स्वास्थ्य सुरक्षालाई दृष्टिगत गरी अर्को सूचना नभएसम्म सचिवालयबाट प्रदान गरिने आर्थिक सहायतासम्बन्धी सम्पूर्ण सेवा बन्द गरिएको हो ।
सम्बन्धित व्यक्तिले आवश्यक कागजातसहित स्थानीय तहमा निवेदन दिई रूजु भएको कागजात बोर्ड सचिवालयको इमेलमा प्राप्त भएमा सचिवालयले सम्बन्धित व्यक्तिको बैंक खातामा आर्थिक सहायतावापतको रकम पठाउने बोर्डले जनाएको छ ।
प्रतिक्रिया