Logo

‘राजनीति जति अस्थिर भए पनि शेयर बजार प्रभावित हुँदैन’



मुलुकमा राजनीतिक अस्थिरता बढेको र कोरोना महामारीको विषम अवस्थामा पनि शेयर बजार निरन्तर बढिरहेको छ । कोरोना महामारीले आर्थिक गतिविधिहरु ठप्प भएको र बढ्दो राजनीतिक अस्थिरताले लगानी पनि सुनिश्‍चित नहुने अवस्थामा पनि लगानीकर्ताहरुले शेयर बजारमा लगानी गरिरहेका छन् । यस अवस्थामा पनि शेयर बजारमा लगानी गर्नुलाई शेयर बजारका पोख्त लगानीकर्तासमेत रहेका अधिवक्ता अधिवक्ता कञ्‍चनकृष्ण न्यौपाने भने सकारात्मक रुपमा लिन्छन् । 

उनले अहिले देशमा लगानीको क्षेत्र नरहेको, पैसा लगानी गर्ने कुनै पनि ठाँउ नरहेको कारण शेयर बजारलाई सकारात्मक प्रोत्साहन भइरहेको बताए । अनलाइनपानासँगको कुराकानीमा उनले भने, “राजनीतिक अस्थिरताले पनि बजारलाई टेवा पुर्‍याइरहेको छ । अन्य क्षेत्रको लगानीको सुनिश्चितता नभएको कारण बजार सकारात्मक छ ।”

नेपालमा पछिल्लो समय ठूला राजनीती घट्नाक्रमहरु घटिरहेको भए पनि यसले बजारलाई खासै असर नगर्ने उनको तर्क छ । उनले थपे, “विश्व बजारको अर्थतन्त्र धराशायी हुँदै गर्दा धरासायी अर्थव्यवस्थामा रहेको शेयर बजार पनि बढिरहेको छ । नेपालको शेयर बजारमा त झनै ६० प्रतिशत हिस्सा बैंक तथा वित्तिय संस्थाको छ । जसको न कुनै व्यापार घटेको छ, न त कुनै व्यवसायमा संकुचन आएको छ ।”
 
कुनै समूहले लामो समयसम्म शेयर होल्ड गरेर बजार भाउ तल माथि गर्ने प्रवृति अझै पनि रहेको उल्लेख गर्दै उनले वित्त समूहसमेत बढ्दा बैंक जहाँको त्यहीँ रहेको उनको बुझाइ छ ।  अब बैंक बढ्नुको विकल्प नरहेको पनि उनको धारणा छ । 

“बजार ३ हजार अंकको नजिक आइसक्यो, अब बैंक बढ्नुको विकल्प छैन्,” उनले भने, “बैंकिङ सेक्टरको बुलले बजारलाई ३५ सयको बिन्दुसम्म सजिलै पुर्‍याउने छ ।” 

बजार धेरै बढिसकेको कारण अब लगानी गर्दा विषेश ध्यान पुर्‍याएर मात्र सस्तो राम्रो कम्पनीको छनोट गरि लगानी गर्न उनले सुझाव दिएका छन् । अहिले पनि १५-२० प्रतिशत प्रतिफल दिनसक्ने कम्पनी पनि ३००-४०० रुपैयाँको हाराहारीमा रहेको उनको धारणा छ ।

प्रकाशित मिति : २५ जेष्ठ २०७८, मंगलवार १८:२०   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।