Logo

दर्जनभन्दा बढी कम्पनीको आइपीओ आउँदै 



अब दर्जनभन्दा बढी कम्पनीको साधारण शेयर आउन लागेको छ । दर्जन बढी कम्पनीको ४ अर्बभन्दा बढीको आईपीओ आउन लागेको हो । 

नेपाल धितोपत्र बोर्डमा १४ कम्पनीले आइपीओ निष्काशनको लागि आवेदन दिएका छन् । केहीले अनुमति पाएर साधारण शेयर निष्कासनको तयारी गरिरहेका छन् भने अब बाँकी अब छिट्टै आउने तयारीमा रहेका छन् । साधारण शेयर निष्कासन गर्न अनुमति मागेका अधिकांश कम्पनी जलविद्युत् क्षेत्रका छन्। चन्द्रागिरी हिल्स लिमिटेड, डिस मिडिया नेटवर्क, इमर्जिङ नेपाल लिमिटेड जस्ता कम्पनीले पनि साधारण शेयर जारी गर्ने तयारी गरेका छन् । 

गत जेठमा आईपीओ निष्काशन गर्नका लागि निवेदन दिएको चन्द्रागिरी हिल्सलाई रु. १८ करोड ४० लाख मूल्य बराबरको १८ लाख ४० हजार कित्ता शेयर निष्कासनको अनुमति दिने धितोपत्र बोर्डले तयारी गरेको छ। 

त्यसैगरी, डिस होम टेलिभिजन सञ्चालन गरिरहेको डिस मिडिया नेटवर्कले पनि साधारण शेयर जारी गर्ने तयारी गरेको छ। रु. २ अर्ब चुक्ता पूँजी भएको यो कम्पनीले गएको असारमा रु. २३ करोड ८५ लाख मूल्यका २३ लाख ८५ हजार कित्ता शेयर जारी गर्न बोर्डमा आवेदन दिएको थियो । डिस होम टेलिभिजन र इन्टरनेट सेवा प्रदायक कम्पनी हो।

त्यसैगरी, सिन्धुपाल्चोकमा निर्माणाधीन मध्य भोटेकोशी जलविद्युत् आयोजनाले स्थानीयवासी र सर्वसाधारणका लागि रु। १ अर्ब ५० करोड बराबरको १ करोड ५० लाख कित्ता शेयर जारी गर्दैछ। कम्पनीले ६० लाख कित्ता शेयर स्थानीयवासी र ९० लाख कित्ता शेयर सर्वसाधारणका लागि जारी गर्न लागेको हो। यो कम्पनीले गत वर्षको माघमै आईपीओ निष्कासनका लागि बोर्डमा आवेदन दिएको थियो।

सिंगटी हाइड्रो, ग्रिनलाइफा हाइड्रो, मैलुङ खोला जलविद्युत्, सीआईबीएल क्यापिटल, तेह्रथुम पावर, शुभम पावर, इमर्जिङ नेपाल, सीईबीडी हाइड्रोपावर, हिमालयन जलविद्युत्, विन्ध्यबासिनी जलविद्युतसहितका कम्पनीले पनि साधारण शेयर निष्कासनका लागि आवेदन माग गर्दै स्वीकृति पर्खिरहेका छन्।

नेपालको पूर्वाधार विकासमा काम गर्ने कम्पनी इमर्जिङ नेपालले रु। ५ करोड मूल्यको ५ लाख कित्ता शेयर निष्कासन गर्न लागेको छ। 

धितोपत्र बोर्डले पछिल्लो समयमा जनरल इन्स्योरेन्स र सानिमा जनरल इन्स्योरेन्स कम्पनीलाई साधारण शेयर निष्कासनको अनुमति दिएको थियो। जनरल इन्स्योरेन्सले शेयर निष्कासन गरेर बाँडफाँडको तयारी गरेको हो। यो कम्पनीले आवेदन मागेभन्दा कैयौं गुणा बढी शेयर खरीद गर्न चाहनेले आवेदन बुझाएका थिए।

सानिमा जनरल इन्स्योरेन्सले रु। ३० करोड बराबरको ३० लाख कित्ता शेयर बुधबारदेखि जारी गर्ने तयारी गरेको छ।

प्रकाशित मिति : आश्विन १९, २०७७ सोमबार  ४ : ४७ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।