Logo

टिप्पणी

जगन्नाथ पौडेलका कारण रेणुलाई की एमालेलाई धेरै क्षति



भरतपुर महानगरपालिकामा पहिलो पाँच वडाको मतपरिणाम आउँदा एउटा चित्र प्रस्ट देखिएको छ ।

यी पाँचै वडामा एमालेका मेयर उम्मेदवार विजय सुवेदीले २०७४ सालमा पार्टीकै उम्मेदवार देवी ज्ञवालीले भन्दा कम मत ल्याएका छन् । पाँच वडाको कुल मत जोड्दा सुवेदीले ज्ञवालीभन्दा २०१४ मत कम ल्याएका छन् ।

माथिको ग्राफमा निलो धर्का पाँच वर्षअघि ज्ञवालीले ल्याएको मत हो भने रातो यसपाली सुवेदीले ल्याएको मत हो । मत गनिसकिएका प्रत्येक वडामा सुवेदीको मत ज्ञवालीको भन्दा तल छ । अर्कोतिर माओवादीकी रेणु दाहालले यी पाँच वडामध्ये तीन वडामा गएको चुनावमा भन्दा आफ्नो मत बढाइन् । अरू दुइटा वडामा उनको पनि मत घट्यो ।

समग्रमा पाँच वडाको कुल मत जोड्दा रेणुले २०७४ सालको भन्दा २८ मत बढाइन् । यसले गर्दा सुवेदीले भरतपुरको मेयर जित्न कठिन देखिन थालेको छ भने रेणुका लागि केही सहज देखिन थालेको छ ।

पाँच वर्षअघिको भन्दा भरतपुर महानगरको जनसंख्या धेरै बढेको छ । त्यो बेला एक लाख १२ हजारभन्दा बढी मत खसेको थियो भने यसपालि एक लाख २७ हजार मत खसेको छ । यसपालि खसेको मतको प्रतिशत भने कम छ । पाँच वर्षअघि ७५ प्रतिशत मत खसेको थियो । यसपालि ६९ प्रतिशत मात्रै खसेको छ।

मतदाता थपिँदा पनि किन विजय सुवेदीले मत बढाउन सकेनन् ?

सुवेदीले मत बढाउन नसक्नुका दुईवटा कारण छन् । पहिलो र मुख्य कारण हुन् सत्ता गठबन्धनविरूद्ध बिद्रोह गरेर उम्मेदवार बनेका जगन्नाथ पौडेल ।

जगन्नाथले उम्मेदवारी दिएपछि गठबन्धनसँग असन्तुष्ट भएर रेणुलाई मत दिन नचाहेका कतिपय कांग्रेसी मतदाता भोट खसाल्न गएनन् । कतिपयले जगन्नाथलाई मत दिए ।

पाँच वर्षअघि रेणुलाई समर्थन गरेर आफ्ना उम्मेदवार दिनेश कोइरालालाई अन्तिम समयमा फिर्ता लिन लगाएपछि रूस्ट बनेका कांग्रेसीले एमाले उम्मेदवार देवी ज्ञवालीलाई मत दिएका थिए । यसपालि कांग्रेसीले रेणुविरूद्ध रिस पोख्ने ठाउँ भुइँकटहरमा पाए। त्यसैले सूर्यमा मत खसालेनन् । जसका कारण १ देखि ५ सम्मका वडामा विजय सुवेदीले देवी ज्ञवालीको जति मत पाउन सकेनन् ।

दोस्रो कारण, सुवेदीले आफ्नै प्रभावमा मत बढाउन सकेको देखिएन ।

जबकि रेणुले मत बढाएको देखिन्छ । जगन्नाथले यी पाँचै वडाबाट ठूलो संख्यामा कांग्रेसको मत लगेका छन् । उनले यी वडामा जम्मा २७८८ मत ल्याएका छन् । तर पनि रेणुले यी पाँच वडाको जम्मा मत जोड्दा यसपालि २०७४ सालको भन्दा २८ मत थपेकी छन् ।

प्रकाशित मिति : जेष्ठ ४, २०७९ बुधबार  ३ : १५ बजे

1.035k
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।