Logo

असार १ देखि के खुल्छन् ? के खुल्दैनन् ?



सरकारले असार १ गतेदेखि निषेधाज्ञा खुकुलो बनाउने तयारी थालेको छ । गृह मन्त्रालयले निषेधाज्ञा खुकुलो बनाउने ढाँचा तयार गर्न लागेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तथा कोभिड संकट व्यवस्थापन केन्द्र र जिल्ला प्रशासन कार्यालय प्रमुखहरुको संयुक्त छलफलपछि निषेधनज्ञा खुकुलो बनाउन सरकार तयार हुन लागेको बुझिएको छ ।

अबको निषेधाज्ञा मोडालिटिमा शैक्षिक संस्था, सार्वजनिक यातायात, सभा-गोष्ठी-सम्मेलन, सिनेमा हल, मठमन्दिर, पार्टी प्यालेसलगायत भीडभाडजन्य क्षेत्रमा कडाई गर्ने र किराना, फलफूल, तरकारी लगायत डिपार्टमेन्ट स्टोरहरु खुल्ला गर्ने तयारीमा सरकार रहेको छ ।
  
सबै किसिमका आर्थिक क्षेत्र डेढ महिनादेखि बन्द रहेको राजधानीमा हाल खाद्यवस्तु किनमेलमा समेत बिहान ९ बजेको समयसीमा छ । निषेधाज्ञाको निरन्तरताले मानिसहरु भोकै मर्ने त्रासका कारण सहजताका लागि नागरिकस्तरबाट सरकारमाथि चर्को दबाब छ । त्यसकारण पनि गृह मन्त्रालयले देशभरका प्रशासनमा निषेधाज्ञाको विकल्प र आर्थिक गतिविधि विस्तारै सञ्चालन गर्नेसम्बन्धी कार्ययोजना बनाएर पेस गर्न यसअघि नै परिपत्र गरिसकेको छ ।

खाद्यवस्तु किनबेचमा लगाइएको बिहान ९ बजेसम्मको समयसीमा बढाउने, खेतीपातीजन्य आवागमनलाई सहजीकरण गर्ने, सार्वजनिक निर्माणका साधनलाई सञ्चालन गर्न दिइने गरी नयाँ मोडालिटी बन्न लागेको जिल्ला प्रशासन कार्यालय श्रोतले बताएको छ । बैंकमा यसअघि तोकिएको कोटा र समयसीमा बढाउन दिने, अन्य वित्तीय संस्था र सहकारीलाई पनि समयसीमा र मापदण्ड तोकेर सञ्चालन गर्न दिने तयारी सरकारको छ ।

सीसीएमसी बैठकमा अर्थ मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र स्वास्थ्य मन्त्रालयबाट पनि निषेधाज्ञाबारे सुझाव पेस भएको र त्यसबाट सामूहिक ठोस निष्कर्ष निकालेर कार्यान्वयनमा लैजाने तयारी समेत रहेको बुझिएको छ । 

प्रकाशित मिति : ३० जेष्ठ २०७८, आईतवार ११:४६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।