Logo

अर्थ

अहिलेको प्रमुख समस्या महंगी हो, तर नियन्त्रण गर्ने नीति तथा कार्यक्रम आएन : डिला संग्रौला



काठमाडौँ । नेपाली कांग्रेसकी सांसद डा. डिला संग्रौलाले महंगी नियन्त्रण गर्ने कार्यक्रम नआएको बताएकी छन् । शनिबार संसदमा बोल्दै उनले सरकारले बढ्दो महंगी नियन्त्रण गर्ने कार्यक्रम नआएको बताएकी हुन्।

उनले भनिन्, ‘महंगी अहिलेको प्रमुख आर्थिक समस्या हो तर यसलाई कसरी नियन्त्रण गर्ने र मुद्रास्फितिको कारणले अप्ठ्यारोमा परेका गरिब तथा वञ्चित समुदायलाई कसरी राहत दिने भन्ने बारेमा नीति तथा कार्यक्रममा उपायहरू सुझाइएको छैन । आशा छ बजेटमा यी कुराहरू समेटिने छन् ।’

त्यस्तै उनले देशबाट युवा विदेशिने क्रम रोक्न नसकेको तर सरकारले नेपालमै रोजगारी सिर्जना गर्नेतर्फ ध्यान नदिएको बताइन्। नेपालमै रोजगारी सिर्जना गर्ने तर्फ सरकारको ध्यान जानु आवश्यक रहेको उनको भनाइ छ।

स्वदेशी उत्पादनको उपभोग बढाउने नीति राम्रो भए पनि मुख्य कुरा यो कसरी गर्ने भन्ने रहेको उनले बताइन्। संसदमा उनले महिला हिंसाबारे पनि कुरा उठाइन्। देशमा बलात्कारजस्ता जघन्य अपराध जारी रहेको भन्दै उनले दोषीलाई सजाय दिन र बलात्कारमा हद म्यादको व्यवस्था परिवर्तन गर्न माग गरिन्।

नीति तथा कार्यक्रममा घर जग्गा कारोबारलाई व्यवस्थित गर्न छुट्टै निकायको निर्माण गरिने कुरा स्वागतयोग्य रहे पनि यो निकायका अधिकार र कार्यप्रणालीको बारेमा व्यापक छलफल गरिनु आवश्यक रहेको बताइन्।

प्रकाशित मिति : १४ जेष्ठ २०७९, शनिबार १६:५९   :  बजे

312
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।