Logo

मन्त्रिपरिषद् पुनर्गठन अन्योलमा



सत्तासीन नेकपाले डा. गोविन्द केसीलाई अनशन तोड्न आग्रह गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार बसेको सचिवालय बैठकमा डा. केसीसँग भएका विगतका सम्झौता कार्यान्वयनको चरणमा रहेकाले अनशन तोड्नुपर्ने धारणा राखेका थिए ।

वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपालले भने तत्काल वार्ता गरी अनशन तोडाउन प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराएका थिए ।

‘डा. केसीसँग भएका विगतका सम्झौता मूलतः कार्यान्वयन भइसकेका छन्’, प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ‘कतिपय विषय कार्यान्वयनको चरणमा अघि बढेका छन् । कोरोनाले देशलाई अप्ठ्यारोमा पारेका बेला सिंगो देश यसको रोकथाम र नियन्त्रणमा लाग्नुपर्ने बेला छ । यस्तो बेला अनशन अन्त्य गर्न नेकपाले डा. केसीलाई अनुरोध गरेको छ ।’

मन्त्रिपरिषद् पुनर्गठन अन्योलमा

नेकपाका नेता मन्त्रिपरिषद् पुनर्गठन गर्न सहमत भए पनि अझै अन्योलमै छ। नेकपाको मंगलबार बसेको सचिवालय बैठकमा यससम्बन्धी एजेन्डाले प्रवेशै पाएन ।

प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच दुई दिनयताका छलफल मन्त्रिपरिषद् पुनर्गठनबारे सकारात्मक भएको नेताहरूले बताएका थिए । तर, प्रधानमन्त्री ओली र अर्का अध्यक्ष दाहालले सचिवालय बैठकमा मन्त्रिपरिषद् पुनर्गठनबारे विषय नै प्रवेश नगराएको नेताहरूले बताएका छन् ।

नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले मन्त्रिपरिषद् पुनर्गठनबारे सचिवालयमा छलफल नभएको बताए। ‘प्रधानमन्त्रीले त्यसबारे जानकारी गराउनु भएन’, प्रवक्ता श्रेष्ठले भने, ‘दुई अध्यक्षबीच छलफल चलिरहेको छ ।’ ओली र दाहालबीच मन्त्रिपरिषद् पुनर्गठनबारे छलफल भने जारी रहेको प्रवक्ता श्रेष्ठले बताए । यो खबर आजको अन्नपूर्ण पोस्ट दैनिकमा छापिएको छ । 

प्रकाशित मिति : २१ आश्विन २०७७, बुधबार  ८ : ४२ बजे