लौरो चिन्ह लिएर काठमाडौँ महानगरपालिकाको मेयरमा भारी मतका साथ विजयी भएका बालेन शाह दिनरात नभनी काममा खटिरहेका छन् । बालेनले देखेको सपना र गरेको अठोटको रिजल्ट एक हप्तामै देखिन थालेको छ ।
बालेनले मेयरमा निर्वाचित भएपछि पहिलो पटकको कार्यपालिका बैठकनै लाइभ गरेर निकै चर्चा कमाएका थिए । निकै चर्चित बनेको काठमाडौँ महानगरपालिकाको पहिलो कार्यपालिका बैठकमा मेयर शाहको प्रस्तावमा पारित भएका निर्णयहरु धमाधम लागु हुन थालेका छन् ।
पहिलो बैठकमा भएको निर्णय मध्येको एक प्रमुख निर्णय गुनासो सुन्नका लागि कल सेन्टर स्थापना गर्ने भन्ने थियो जुन कार्यान्वयन भएको छ । अब जनताले काठमाडौँ महानगरपालिकालाई कुनै सुझाव या गुनासो सिधै गर्न सकिने भएको छ । जुन कुरा सिँधै मेयर बालेन शाह सम्म पनि पुग्ने छ ।
महानगरको १६ जेठमा बसेको पहिलो कार्यपालिका बैठकले ७ दिनभित्र कल सेन्टर सञ्चालन गर्ने निर्णय गरेको थियो । सोही निर्णय अनुसार सोमबारदेखि राष्ट्रिय सभागृहमा केन्द्रमा कल सेन्टर सञ्चालनमा ल्याइएको महानगरले जनाएको छ ।
काठमाडौंबासीको गुनासो सुन्नका लागि कलसेन्टर सञ्चालनमा ल्याएको भन्दै महानगरका मेयर बालेनले जनताले प्रश्न सोध्न पाउनुपर्ने तर्क गरे । उनले महानगरमा भएका समस्या, गुनासो सुन्नका लागि कलसेन्टर ल्याएको बताए ।
महानगरले निःशुल्क टेलिफोन नम्बर १६६००१०५५११ मा सम्पर्क गर्न सकिनेछ । महानगरका सूचना प्रविधि विभागका प्रमुख नमराज ढकालका अनुसार कल सेन्टरको क्षमता एकैपटक १५ वटा टेलिफोन रिसिभ गर्न सकिने छ । कल सेन्टरमा कसैले टेलिफोन गरेपछि त्यो सीडीआर (कल डिटेल रेकर्ड) महानगरको सर्भरमा रेकर्ड हुने व्यवस्था गरिएका उनले बताए ।
काठमाडौं महानगरका अनुसार गुनासो वा सोधपुछकर्तासँग कुरा गर्दागर्दै अपरेटरले उनीहरुको फोन नं, फोन गरेको समय, गुनासो वा सोधपुछको विवरण, भौगोलिक नक्साजस्ता आधारभूत विवरण सफ्टवेयरमा भर्छन् । त्यसमा गुनासो वा सोधपुछसँग सम्बन्धित अधिकारीको विवरण पनि भरिन्छ । यो विवरण भरिसकेपछि प्रणालीले स्वचालित रुपमा गुनासो सुनुवाइ गर्ने अधिकारी, प्रमुख, उपप्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतलाई एसएमयस र इमेल पठाउँछ ।
इमेलमा गुनासोकर्ताको आवाज, समस्यासँग सम्बन्धित तस्वीर, भौगोलिक नक्सा तथा विवरण समावेश हुने, परामर्शदाता नवराज गुरुङले बताए ।सूचना प्रविधि विभागका प्रमुख ढकालका अनुसार अहिले यो प्रणाली कार्यालय समयमा सञ्चालन हुनेछ । तर गुनासो वा सोधपुछकर्ताले फोन गरेर ५ अंङ्क थिचेपछि रेकर्ड हुने व्यवस्था गरिएको छ । यो रेकर्ड भोलिपल्ट केन्द्रका कर्मचारीले सुनेर सम्बोधन गर्नेछन् ।




















प्रतिक्रिया