Logo

जनप्रतिनिधि

स्वतन्त्रबाट जितेका साहको जनकपुरलाई समृद्ध बनाउने संकल्प सुरु



मनोज साहको जन्म २०२८ सालमा जनकपुर उपमहानगरपालिका वडा नम्बर १५ मा भएको हो । आर्थिक रुपमा सम्पन्न परिवारमा जन्मिएका साहको बाल्यकाल सुखशयलमै बितेको हो । उनका बुवा मोहन साह पनि राजनीतिमा अभिरुचि राख्थे ।

शैक्षिक योग्यता
जनकपुरधाम उपमहानगर वडा २५ मा रहेको कन्टिर झा नमूना माध्यमिक विद्यालयबाट एसएलसी उतीर्ण गरे । साहले जनकपुरकै रामसागर रामस्वरुप (रारा) बहुमुखी क्याम्पसबाट आईए उत्तीर्ण गरेका छन् ।

राजनीतिक यात्रा
एसएलसी उतीर्ण गरेपछि मनोजको भेट कांग्रेस नेता गणेश झासँग भयो । गणेशले नै मनोजलाई २०४५ सालमा नेता विमलेन्द्र निधिसँग भेट गराएका थिए । सो भेटपछि मात्रै मनोज राजनीतिमा रुची राख्न थालेका थिए । र, कांग्रेसको सदस्यता लिएका थिए ।

१७ वर्षको उमेरमा मनोजले प्रजातन्त्र पुनर्वहालीका लागि भएको आन्दोलनमा सक्रिय सहभागिता जनाएका थिए । उनले २०४६ सालको जनआन्दोलनलगत्तै नेपाली कांग्रेसको वडा सभापति बनेका थिए ।

२०५३ सालको प्रतिनिधि सभामा निर्वाचनमा विमलेन्द्र निधिका लागि पनि पोलिङ एजेन्टको रुपमा काम गरेका थिए उनले । त्यसपछि उनी जनकपुर नगर कमिटीको सदस्य, सचिव हुँदै सभापतिसम्म भए । मनोजले कुवा रामपुरमा रहेको विद्यालयको व्यवस्थापन समितिको सभापति भएर २०५६ सालदेखि २०६४ सालसम्म अध्यक्षको रुपमा समेत काम गरेका छन् ।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट मनोजले जनकपुरधाम उपमहानगरको प्रमुख पदका लागि निर्वाचन लड्ने अवसर पाए । तर उनी तत्कालिन राजपाका उम्मेदवार लालकिशोर साहबाट पराजित भए । त्यस निर्वाचनमा लालकिशोरले कांग्रेसका उम्मेदवार मनोज साहलाई झण्डै दोब्बर मतको अन्तरले पराजित गर्न सफल भएका थिए ।

यसपटक भने नेपाली कांग्रेसबाट फेरि टिकट पाउने उनलाई पूर्ण विश्वास थियो । तर ५ दलीय सत्तारुढ दलहरुको गठबन्धनले गरेको सहमतिका आधारमा जनकपुरधामको प्रमुख पद कांग्रेसको कोटामा परेन । त्यसलगत्तै उनी कांग्रेसबाट अलग्गिएर स्वतन्त्र रुपमा निर्वाचन लड्ने मनस्थितिमा पुगेका थिए । र त्यो निर्णय उनका लागि फलदायी रह्यो । पार्टीको १३ औं र १४ औं अधिवेशनबाट दुई पटक जनकपुरधाम उपमहानगरपालिका सभापति बने ।

मधेश प्रदेशको राजधानी समेत रहेको जनकपुरधाम उपमहानगरपालिमा स्वतन्त्र उम्मेदवार मनोज साह विजयी भएका छन् । सत्तारुढ गठबन्धनले जनता समाजवादी पार्टी (जसपा) का लालकिशोर साहलाई जनकपुरधाम उपमहानगरपालिकाको मेयरको टिकट दिएपछि मनोज साहले नेपाली कांग्रेस त्यागेर स्वतन्त्र उम्मेदवारी दिएका थिए ।

स्वतन्त्र उम्मेदवार मनोजले १३ हजार ४ सय ६५ मत ल्याउँदै जनकपुरधाम उपमहागरपालिकाको प्रमुखमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका शिवशंकर साह हिराले ९ हजार ५ सय ३२ मत ल्याए । मनोज ३ हजार ९ सय ३३ मतको मतान्तरले विजयी भएका हुन् ।

राजनीतिमा मात्रै नभएर समाजसेवामा पनि सकृय साहले सब आफूलाई जनकपुरवासीले उम्मेदवार बनाएको बताएका थिए । टिकट नपाएपछि नेपाली कांग्रेसका विद्रोही मनोज साहले जनकपुरका जनताले गठबन्धनलाई स्वीकार नगरेकोले निर्वाचन अगाडिबाट नै आफ्नो जीत सुनिश्चित भएको बताउने गरेका थिए । उनले कुनै प्रकारको प्रलोभन र दबावमा नपरी काम गर्ने जनकपुरवासी सामु प्रतिवद्धता जाहेर गरेका छन् ।

साहका योजनाहरु
जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज कुमार साहले जनकपुरधामलाई सुन्दर, आकर्षक र समृद्ध बनाउने दृढता र संकल्पका गरी प्रतिबद्धता जाहेर गरेका थिए ।

उनले निर्वाचन अगाडि सार्वजनीक गरिएको २१ बुँदे घोषणापत्रमा जनकपुरधामको फोहर मैला व्यवस्थापन, ल्याण्डफिल्ड साइट निर्माण, प्रत्येक वडामा फोहर संकलन केन्द्रको स्थापना, सडक पेटी व्यवस्थापन, ऐतिहासिक धार्मिक, पुरातात्विक तथा साँस्कृतिक सम्पदाको मर्मत सम्भार गर्ने, लोभ भईरहेको धरोहरहरुको खोजीनीति गर्ने, त्यस्ता धरोहरको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रचार प्रसार गर्ने, पर्यटन व्यवसायलाई प्रबद्र्धन गर्ने, रंगभूमि मैदानलाई स्वच्छ, सफा र हराभरा गर्ने, पोखरीहरुको सरसफाई गरी डिलको सौन्दर्यीकरण गर्ने प्रतिबद्धता जनाएका छन् ।

साहले जनकपुरधाममा नगर क्षेत्रभित्र सुरक्षा व्यवस्थाको लागि २४ औं घण्टा काम गर्ने गरी सिसिटीभी कैमरा जडान गर्ने, प्रत्येक वडामा फ्रि इन्टरनेट सेवा सञ्चालन गर्ने, विमान स्थलको स्तरउन्नति गर्न सम्बन्धित निकायलाई पहल गर्ने गराउने, उपमहानगरपालिकालाई महानगरपालिकामा स्तरउन्नति गर्न आवश्यक पूर्वाधार तयारी गर्ने, उपमहानगरपालिकाको कामकाज पारदर्शी बनाउने, भ्रष्टाचारलाई शुन्यमा झार्ने, रिंगरोडको निर्माण गर्ने, प्रशासनयन्त्रलाई चुस्तदुरुस्त बनाएर सर्वसुलभ सेवा प्रदान गर्ने योजना रहेको बताएका छन् ।

दलित जनजाति, उत्पीडित तथा सीमान्तकृत समुदायको पहिचान गरी उनीहरुको आर्थिक, सामाजिक, शैक्षिक, राजनीतिक क्षेत्र बढाई आत्मनिर्भर बनाउने योजना ल्याउने, उपमहानगरपालिका ग्रामीण क्षेत्रका वडाहरुमा कृषि उपज बढाउनका लागि आवश्यक मलखाद्य, बीउ विजन, सिचाइँ सेवा, कृषि उपकरण र कृषि उपजको बजार व्यवस्थापन गर्ने, फलफूल मण्डी निर्माण गर्ने जस्ता प्रतिबद्धता पत्रमा उल्लेख गरिएको छ ।

यसैगरी मेयरका उम्मेदवार साहले जारी गरेका घोषणापत्रमा आकांक्षी योजनाहरु समेत समेटिएको छ ।

प्रकाशित मिति : जेष्ठ २५, २०७९ बुधबार  ११ : १७ बजे

60
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।