Logo

विचार / ब्लग

म जातले परियार हुँ, जातको नाममा गरिने राजनीतिको विरोध गर्छु



हिन्दु धर्ममा छुवाछुत छ भन्‍ने कुरामा म भने विश्‍वास गर्दिन । किनकी म आफैँ त्यो समुदायको भए पनि पछिल्लो समयमा जातको ना‍ममा भएको घृणित राजनीतिको खुलेर विरोध गर्दै आएको एक अभियान्ता पनि हुँ । पछिल्लो समायमा एनजीओ/आईएनजीओले नेपालमा विभिन्‍न बहानामा धर्मान्तरण गर्दै समाजमा जातीय सद्‌भाव बिथोल्‍न, धार्मिक द्वन्द्व निम्त्याउन अग्रसर रहेका छन् । 

यसको उपज हो रूपा सुनार-सरस्वती प्रधान प्रकरण । रुपा एक शिक्षित नारी हुन्, समाज बुझेकी पनि छन् । एउटा सञ्‍चारकर्मीले सञ्‍चार जगतबाटै जनतचेता जगाउने, नबुझेका समुदायलाई बुझाउने, हिजो जातको आधारमा गरिएको विभेद गलत थियो भन्‍ने कुराको जनचेतना जगाउने कार्ययक्रम गर्न सक्नुहुन्थ्यो । तर, उनको कार्यशैलीबाट प्रष्ट हुन्छ कि उनी पनि त्यही एनजीओ/आईएनजीओबाट सञ्‍चालित छन् । जसको उद्देश्य समाजमा द्वन्द भडकाउने र अस्थिरता पैदा गर्ने हो ।

मलाइ लाग्दैनकी समाजमा अहिले प्रचार गरिए, जति छुवाछुत छ । हिजोको दिनमा केही पूँजीपति सामन्ती वर्गले आफूलाई माथिल्लो दर्जामा राखेर विभेद गरेका भए पनि आज जात प्रथा र छुवाछुत एउटा राजनीतिक एजेण्डाबाहेक केही होइन । बेलाबखत आफूलाई समाज सुधारको सूत्रधार सम्झिने ब्राम्हण समुदायले नै यसको बिजारोपण गरिरहेका छन् । 

वास्तबमा विभेद कही छ भने नेपालको संविधानमा छ । जहाँ दलितको नाममा अपमानजनक तरिकाले कोटा प्रणाली व्यवस्था गरिएको छ । तसर्थ, म परियार जातीको भए पनि म पहिले नेपाली हो, जातको नाममा राजनीति गर्ने, जातीय सद्‌भाव खलबल्याउँदै समाज बिखण्डित गर्ने काम बन्द गरियोस् । विभेदको अन्त्य गर्ने हो भने दलित आयोग, जनजाती आयोगजस्ता विभेदकारी व्यवस्था खारेज गरियोस् । समस्या जातमा होइन, तपाई हाम्रो सोचमा हो । 

आफूलाई विश्‍वकर्मा, कामी परियार भन्‍न लाज लागेर नेपाली, सपुत, कुमार अथवा ब्राम्हण जातीको थर लेख्‍ने सेलिब्रेटीहरु अगुवा छन् । उनले भनेका छन्,  “दलित समावेशीताको लागि कोटा कम भयो भन्दै जातीयताको नाममा राजनीति गर्ने राजनीतिज्ञहरु छ्यापछ्यापती भेटिन्छन् । एकचोटी प्रश्‍न आफैँलाई गर्न आग्रह छ । आफ्नो जातप्रति पहिले तपाईं आफू गर्व गर्न सिक्नुस्, जातलाई समस्या देख्‍ने सोच बदल्नुस्, अनि बदलिन्छ समाज, बदलिन्छ समाजको दृष्टिकोण अनि कुप्रथासँगै अन्त्य हुन्छ, जातीय विभेद ।

यदि आरक्षण नै दिने हो भने पिछडिएका वर्ग,  उत्पीडित वर्ग, शोषित पीडित वर्गलाई दिने कुरा जायज पनि  हो । तर, जाती लिंग धर्म सम्प्रदायको आधारमा छुट्याइने कोटा प्रणालीले अन्तत विभेद निमत्याउँछ, समाजमा द्वन्द सृजाना गर्छ । परिवर्तन एक्कासी हुने कुरा होइन, धैर्य गर्नुस, जातको नाममा राजनीति गर्ने कार्य बन्द गर्नुस् । म दलित हुँ, तल्लो जाति हुँ भन्‍ने कुण्ठित मानसिकताबाट उठेर आफूले आफैँप्रति गर्व गर्न सिक्नुहोस्, अनि बदलिन्छ समाज समाजको दृष्टिकोण । किनकी समस्या जातमा होइन, तपाइको विभेदकारी पुरातनवादी सोचमा छ ।

प्रकाशित मिति : १० असार २०७८, बिहीबार १५:५६   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।