Logo

जनप्रतिनिधि

सुनिता चौधरी : पहिले वडा अध्यक्षमा हारिन्, अहिले उपाध्यक्ष जितिन्



सुनिता चौधरी रुपन्देहीको सैनामैना नगरपालिका वडा नम्बर पाँचको बक्सन गाउँमा जन्मिएकी हुन् । बाबा विक्रम थारु र आमा चिन्की थारुको कोखबाट २०४० साल भदौ १७ गते जन्मिएकी सुनिताको राजनीतिमा बाल्यकालदेखि नै चासो थियो । हजुरबुवा र बाबा पनि नेपाली कांग्रेसमा रहेर राजनीति गरेकोले पनि उनलाई सानैबाट राजनीति गर्ने रुची रहेको उनले सुनाइन् ।

आफू हुर्किएको समाजमा छोरीलाई पढाउन हुँदैन, भन्ने मान्यताको समाज भए पनि आफ्नो अभिभावकले आफूलाई पढाएको उनले बताइन् । उनले भनिन्, ‘हाम्रो समाजमा छोरीलाई पढ्न गाह्रो थियो तर पनि मेरो बाबा—आमाले मलाई पढाउनुभयो ।’

वैवाहिक जीवन

सुनिता थारु २०५८ साल माघ ९ गते प्रेमबहादुर थारुसँग विवाह बन्धनमा बाँधिइन् । प्रेमसँग विवाह भएर हाल उनि ओम सतिया गाउँपालिका वडा नम्बर १ कटैयामा बस्छिन् । उनको दुई वटा छोरीहरु छन् । बाबाले नै आफूलाई राजनीतिमा लाग्न प्रेरणा दिएको उनले सुनाइन् । ‘अहिले पनि मेरा सासु ससुराको मलाई राजनीति गरेर समाज परिवर्तन गर्न राम्रो छ ।’ उनले भनिन्, ‘श्रीमानको त झन मेरो प्रत्यक पाइलामा साथ छ ।’ पहिला राजनीतिक कार्यक्रमहरुमा जाँदा कुर्ता सुरुवाल लगाउन नदिने जहाँ कार्यक्रम हुँदा पनि साडी लगाएरै जान पर्ने बाध्यता अब हटिसकेको सुनिताले खुसी व्यक्त गरिन् ।

शैक्षिक योगयता

सुनिताको पढाइ घर बाहिर बसेर भयाे । उनले रुपन्देहीको कर्माहवा माविबाट एसएलसीसम्मको पढाई गरिन् । त्यसपछि भैरहवा बहुमुखी क्याम्पसमा १२ सम्मको पढाइ गरिन् ।

राजनीतिक यात्रा

सुनिता राजनीतिक पृष्ठभूमिबाटै हुर्किएकी हुन् । सदस्यता नलिए पनि १५ वर्षको उमेरमा नेपाली कांग्रेसको झण्डा बोकेको उनले अनूभव सुनाइन् ।

२०७३ मा नेपाल लोकतान्त्रिक फोरमको सदस्यता लिएर पार्टीको राजनीतिक गतिविधिमा सकृय भइन् । २०७४ सालको स्थानीय तह निर्वाचनमा नेपाल लोकतान्त्रिक फोरमबाट ओम सतिया गाउँपालिका वडा नम्बर १ मा वडा अध्यक्षमा उम्मेदवारी दिएकी सुनिताले हार व्यहोरेकी थिइन् । निर्वाचनपछि नेपाल लोकतान्त्रिक फोरम नेपाली कांगे्रसमा विलय भएपछि उनी कांग्रेसमा रहेर राजनीतिमा सकृय थिइन् ।

उनले २०७७ सालमा नेपाली कांग्रेसको सदस्यता लिइन् । पहिले विवाह नहुँदासम्म कांग्रेसको कार्यक्रमहरुमा सहभागी जनाए पनि सदस्यता भने लिएकी थिइनन् ।

पार्टीले हालै सम्मपन्न निर्वाचनमा उनलाई गाउँपालिकाको उपाध्यक्षको उम्मेदवार बनायो । उनी विजयी पनि भइन् । चौधरी ६ सय ८४ मतान्तरले विजयी भएकी हुन् । चौधरी ४ हजार १ सय ३९ मतसहित विजेता बन्दा निकट्तम प्रतिस्पर्धी राप्रपाकी चित्ररेखा थारुले ३ हजार ४ सय ५५ मत पाइन् ।

सुनिताको योजनाहरु

ओमसतिया गाउँपालिकामा रहेका सामाजिक कुप्रथाहरुलाई विस्थापित गर्ने सुनिताको पहिलो योजना हो । महिलाहरुलाई घुम्टोबाट मुक्त बनाउने र दाइजो प्रथालाई जरैबाट विस्थापित गर्ने उनको लक्ष्य छ ।

निरन्तर चलिरहने भौतिक विकास निर्माणको काममा पनि जोड दिने उनले प्रतिवद्धता जनाएकी छन् । गाउँपालिकामा भ्रष्टचार हुन नदिन पनि विशेष भूमिका खेल्ने उनले बताएकी छन् । महिलाहरुलाई चुलोचौकाबाट निति निर्माण गर्न सक्के बनाउने भन्दै उनले महिलाहरुलाई आयआर्जनमा समेत सकृय बनाउन बजेट विनियोजन गरेर विभिन्न तालिमहरु प्रदान गर्ने बताएकी छन् । कुनै पनि ठाउँको विकास भौतिक रुपमा मात्रै नभएर सामाजिक रुपमा पनि हुन पर्ने उनको धारणा छ ।

प्रकाशित मिति : जेष्ठ २८, २०७९ शनिबार  १ : ०९ बजे