Logo

अर्थ

चिनीमा कृत्रिम अभाव, मूल्य प्रतिकेजी १०५ रुपैयाँसम्म पुर्‍याइयो



काठमाडौं । भारतले निर्यातमा रोक लगाएपछि नेपालमा चिनीको मूल्य बढेको छ । भारतले केही समय अघि मात्रै चिनी निर्यातमा रोक लगाएको थियो । तर अहिले त्यसको प्रभावभन्दा बढी कृत्रिम अभाव सृजना गराइएको बताइएको छ ।

खुद्रा व्यापार संघका सचिव अमुलकाजी तुलाधरले बजारमा चिनीको मूल्य मनलाग्दी भएको बताए । चिनी मात्रै नभएर अन्य खाद्य बस्तुको पनि मूल्य वृद्धि भएको तुलाधरले जानकारी दिए ।

‘पहिले नेपालका चिनी उत्पादकहरूले नै नेपालको चिनी विक्री भएन भनेर विदेशी चिनी आयातमा रोक लगाउन माग गरिरहेका थिए’, उनले भने, ‘अहिले भारतले नै चिनी निर्यात रोकेपछि नेपाली बजारमा चिनीको ठूला व्यापारीहरूले मनलाग्दी मूल्य निर्धारण गरिरहेका छन् ।’

केही दिन अघिसम्म ९३ रुपैयाँमा विक्री भइरहेको चिनी अहिले १ सय, १०२ देखि १०५ रुपैयाँमा विक्री भइरहेको छ । तुलाधरका अनुसार व्यापारीले पनि आफूखुसी मूल्य राखेर चिनीको विक्री गरिरहेका छन् ।

बजार मूल्यलाई नियमन गर्ने सरकारी संस्था खाद्य व्यवस्था तथा व्यापार कम्पनीसँग चिनी नभएको मौका पारेर ठूला व्यापारीले आफूखुसी मूल्य वृद्धि गरेर १०५ रुपैयाँ पुर्‍याएका साना व्यापारीहरूको भनाइ छ ।

प्रकाशित मिति : २९ जेष्ठ २०७९, आईतवार १९:१४   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।