Logo

जनप्रतिनिधि

चार पटक प्रधानपञ्च भएका हजुरबुवाको नाति मन्जित पालिका अध्यक्ष



मन्जितकुमार यादव रुपन्देही जिल्लाको ओमसतिया गाउँपालिका वडा नम्बर चार बसन्तपुरमा जन्मिएका हुन् । उनि मात्रिकाप्रसाद यादव र रीतादेवि यादवको कोखबाट २०४३ साल भदौ १० गते जन्मिएका हुन् । आर्थिक रुपमा सम्पन्न परिवारमा जन्मिएका मन्जितको बाल्यकाल सुखसयलमै बित्यो ।

राजनीति गर्ने प्रेरणा

मन्जितकुमार यादवको परिवार हजुरबुवादेखि नै राजनीतिमा थिए । हजुरबुवा दशरतप्रसाद यादव चार पटकसम्म प्रधानपञ्च भएको उनले बताए । हजुरबुवाको राजनीति र गाउँका जनतालाई गरेको सेवाबाट प्रभावित भएर आफू पनि राजनीतिमा लागेको मन्जित बताउँछन् । हजुरबुवाले राजनीति गर्ने क्रममा आफ्नो १२ कठ्ठा जग्गा विद्यालयलाई दान गरेको उनले सुनाए । हजुरबुवाले जग्गा दिएर बनेको विद्यालय भएकोले विद्यालयको नाम पनि उनको हजुरबुवाको नामबाट छ, बसन्तपुर दशरत माद्यमिक विद्यालय ।

मन्जितका बुवा मात्रिकाप्रसाद शिक्षक पेशामा थिए । २०५४ सालमा शिक्षक पेशाबाट राजिनामा दिएर उनले उनले राजनीति सुरु गरेका थिए । मात्रिकाले ५४ सालको स्थानीय निर्वाचनमा वडा अध्यक्षमा लडेका थिए । निर्वाचनमा उनी पराजित भएका थिए । त्यसपछि नेकपा एमालेमै सकृय भएका मात्रिकाको केही समय अगाडि स्वर्गवास भयो ।

शैक्षिक योग्यता

गाउँकै बुद्ध ज्योति माद्यामीक विद्यालयमा मन्जितले कक्षा ८ सम्म पढाई गरेका थिए । उनले कक्षा ९ र १० भने भारतबाट पढेर उतैबाट एसएलसी पास गरे । उनले फेरि नेपाल आएर कक्षा ११ मा पढ्न सुरु गरेको तर सोही वर्ष बाबाको देहवसान भएकोले पढाई छोडेको सुनाए ।

राजनीतिक यात्रा

मन्जितले २०६६ सालमा एमालेमा प्रवेश गरेर सदस्यता लिएका थिए । उनले २०७२ सालमा एमाले परित्याग गरेर संघीय समाजवादी फोरममा प्रवेश गरेका थिए । २०७४ मा फोरमबाट उनले आमेसतिया गाउँपालिकाको अध्यक्षमा चुनाव लडेका थिए । सो चुनावमा उनले हार व्यहोरे ।

मन्जित नेकपा एमालेको हालै सम्पन्न जिल्ला अधिवेशनको बेला जनता समाजवादी पार्टी परित्याग गरेर एमाले प्रवेश गरेका थिए । गाउँमा राम्रै जनविश्वास जितेकोले पनि पार्टीले अध्यक्षको टिकट दियो । निर्वाचन लडे र जिते । यादवले ४ हजार ८ सय ३२ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी राप्रपाका तिलक सिंह कोइरालाले ३ हजार १ सय २९ मत प्राप्त गरर पराजित भए । जनताको सेवा गर्नु पारिवारीक पेशा नै भएको मन्जित बताउछन् ।

योजनाहरु

अबको पाँच वर्षमा ओमसतिया गाउँपालिकालाई नमुना गाउँपालिका बनाउने रन्जितको योजना छ ।

शिक्षा, स्वास्थ्य र कृषिलाई पहिलो प्राथामिक्तामा राखेर काम गर्ने मन्जितले बताएका छन् । बाढी र डुबानबाट प्रभावित जनताको उदार गर्न पुर्व तयारी गरिरहेको उनले बताएका छन् । पालिकाको हरेक काममा जनताको सहभागिता गराएर काम गर्ने उनले प्रतिवद्धता जनाएका छन् । ‘मलाई पालिकाको काम गर्न जनताले जिताएका हुन्,’ भन्दै उनले भने, ‘पालिकामा म पनि भ्रष्टचार गर्दिन्, अरुलाई पनि भ्रष्टचार गर्न दिन्न् ।’ भौतिक पुर्वाधारको साथै सामाजिक योजनाहरुलाई पनि महत्व दिने उनको योजना छ ।

प्रकाशित मिति : जेष्ठ ३१, २०७९ मंगलबार  १ : १४ बजे