Logo

अन्तर्राष्ट्रिय मैत्रिपूर्ण खेलमा पोर्चुगल र स्पेनले बराबरी खेले



अन्तर्राष्ट्रिय मैत्रिपूर्ण खेलमा पोर्चुगल र स्पेनले गोलरहित बराबरी खेलेका छन् । पोर्चुगलस्थित स्टाडियो जोसे अल्भालाडेमा बुधबार राति पोर्चुगल र स्पेनले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेलेका हुन् ।

२०१८ को विश्वकपपछि पहिलोपटक आमने–सामने भएका यी दुई टोलीले केही अवसर सिर्जना गरेपनि गोलमा परिणत गर्न भने सकेनन् । दुवै टाेलीले गाेल गर्ने अवसर पाए पनि गाेल भने गर्न सकेनन् ।

खेलको दोस्रो मिनेटमा नै ड्यानियल ओल्मोले गोलको सुन्दर अवसर खेर फाल्दा स्पेन अग्रता लिबाट चुकेको थियो । ११ औं मिनेटमा रोड्रिगोले गरेकाे प्रहारलाई गोलरक्षक प्याट्रिसियोले सहजै नियन्त्रणमा लिए । २५औं मिनेट र ४३औं मिनेटमा पोर्चुगलले अग्रता लिने सुवर्ण अवसर खेर फाल्यो ।

दाेस्राे हाफकाे ६७औं मिनेटमा फेरी पोर्चुगल गाेल गर्नबाट चुक्याे । ७५औं मिनेटमा जोआओ फेलिक्सको पासमा ट्रिन्काओको प्रहारलाई स्पेनका गोलरक्षक किपा एरिजाबालागाले बचाए ।

इन्ज्युरी समयमा पनि दुवै टोलीबाट केही सुवर्ण अवसर सिर्जना भएपनि सदुपयोग गर्न सकेनन् । यि दुई टोली २०१८ पछि पहिलोपटक प्रतिस्पर्धा गरेको हो । पछिल्लो पटक यी दुबै टोलीले रुस विश्वकप २०१८ को समूह चरणमा भेट हुँदा ३–३ को बराबरी खेलेका थिए ।

अब नेसन्स लिगको समूह डीमा रहेको स्पेनले शनिबार राति घरेलु मैदानमा स्वीटजरल्यान्डसँग खेल्ने छ । सुरुवाती दुई खेलमा एक खेल जित्दा एक खेल बारबरी खेलेको स्पेनले ४ अंक जोडेर समूहको शीर्ष स्थानमा छ । त्यस्तै चौथो खेल मंगलबार राति युक्रेनको घरेलु मैदानमा खेल्नेछ ।

यता, पोर्चुगलले अब नेसन्स लिगमा आइतबार राति विश्वकप विजेता फ्रान्सको सामना गर्नेछ । त्यस्तै अर्को खेलमा स्वीडेनसँग बुधबार राति खेल्ने छ । नेसन्स लिगको समूह सिमा रहेको पोर्चुगलले सुरुवाती दुई खेलमा जित निकाल्दै ६ अंक जोडेर समूहको शीर्ष स्थानमा छ । पोर्चुगलले सुरुवाती दुई खेलमा क्रोएसिया र स्विडेनलाई पराजित गरेको थियो ।

 

प्रकाशित मिति : २२ आश्विन २०७७, बिहिबार  ८ : २४ बजे