Logo

अर्थ

नेपालको संघीयता विश्वमै महाकमजोर भयो : मुख्यमन्त्री शाही



सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले नेपालको संघीयता विश्वमै महाकमजोर भएको टिप्पणी गरेका छन् । शनिबार वीरेन्द्रनगरमा आयोजित पुँजी बजारसम्बन्धी कार्यक्रममा उनले भने, ‘संसारमा संघीयता सबैभन्दा कमजोर भएको भारत हो, त्यसभन्दा महाकमजोर नेपालको संघीयता भयो । केन्द्रीय सरकार र स्थानीय हिजो पनि थियो । संघीयता भनिएको छ, जग्गाको बारेमा अधिकार छैन । मोदी काश्मिरमा जाँदा त्यहाँको मुख्यमन्त्रीले मेरो ठाउँमा ल्याण्ड गर्न दिन्न भनेको त सुन्नु भएकै होला नि !

शाहीले यी सबै कुरा पुँजीसँग जोडिने बताए । उनले आफू ‘मुख्यमन्त्री’ हो कि ‘मुख मन्त्री’ हो भन्ने आफूलाई नै थाहा नभएको बताएका छन् । उनले भने, ‘म त हिजो जिल्ला विकास समितिको सभापति भएको मान्छे हो । त्यतिबेला त्यहाँ धेरै पावर थियो त ! अहिले नामको मात्र मन्त्री, मुख्यमन्त्री रे ! मैले अस्ति प्रधानमन्त्रीज्यूलाई पनि भनेको छु, संघीयता मन परेको छैन भने ‘क्यान्सिल इट’ ।

साथै उनले सेयर बजारमा भएको अस्वस्थ प्रतिस्पर्धाले ब्याजमा सापटी लिएर पुँजी बजारमा लगानी गर्ने प्रचलनको अन्त्य गरेर जे छ त्यसैलाई लगानी गर्ने व्यवहारको विकास गर्नुपर्ने तर्क पनि राखे । उत्पादनको निर्यात र आयातको सन्तुलन नमिल्दा पनि पुँजी बजारको विकास नभएको उनको ठम्याइ थियो ।

प्रकाशित मिति : असार ४, २०७९ शनिबार  ५ : १७ बजे